• १२ साउन २०८१, शनिबार

गठबन्धनका शीर्ष नेताहरूको बैठक : सिट बाँडफाँट गर्न निष्कर्ष नजिक

blog

पत्रकारहरुसँग कुरा गर्नु हुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की । फाइल तस्बिर

काठमाडौं, भदौ १६ गते । सत्ता गठबन्धनको शीर्ष नेताबीच सिट बाँडफाँटको छलफल निष्कर्ष नजिक पुगेको छ । बिहीबार बिहान ११ देखि बसेको बालुवाटार बैठक राती १० बजेतिर सकिएको छ । 

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा न्यायोचित एवम् सम्मानजनक रुपले सिट बाँडफाँट सम्बन्धमा आज लामो समय छलफल भएको जानकारी दिनुभयो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘स्प्रिडका साथ सिट बाँडफाँटको काम, सम्पूर्ण हिसाबले गृहकार्य गरेर अघि बढेको छ, अब जुन दिन बस्छौं, अन्तिम निर्णय गर्छौं ।’’

गठबन्धनमा सबै निर्वाचन क्षेत्रबारे सिट बाँडफाँट र जित्ने कुरा मात्रै नभएर आगामी दिनमा राजनीतिक स्थिरता र समृद्धिको विषयमा पनि छलफल केन्द्रित भएको उहाँको भनाइ छ ।

मन्त्री कार्कीले भन्नुभयो, बारम्बार भन्ने गरेको छु, गठबन्धनमा सिट जित्ने मात्रै होइन, राजनीतिक स्थिरता र समृद्धिलाई ध्यानमा राखिएको छ । न्यायोचित ढंगले यसको टुंगो लाएर सबैलाई जानकारी गराइनेछ । 

बैठक निष्कर्ष नजिक पुगेको उल्लेख गर्नुहुँदै उहाँले अब कम्तीमा दुई दिनभित्र यस विषयमा अन्तिम टुंगो लाग्ने बताउनुभयो ।

धेरै छलफल गरेर, एकले अर्काको संवेदनशीलतालाई राम्ररी बुझेर निष्कर्ष नजिक पुगेका छौं । ढिला गर्ने समय छैन ।  उहाँले  उम्मेदवारको सूची बनाउने, नामांकन दर्ता गर्नुपर्ने विषय पनि जोड्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सहभागिता रहेको थियो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।