• १३ साउन २०८१, आइतबार

काठमाडौं महानगर प्रमुख शाहद्वारा दमकल हस्तान्तरण

blog

काठमाडौं, साउन १६ गते । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले राष्ट्रिय सभा गृहमा विपद् व्यवस्थापन विभागलाई नयाँ दमकल हस्तान्तरण गर्नुभएको छ। बिहीबार दमकल हस्तान्तरण गर्दै प्रमुख शाहले आगलागीजन्य विपद्लाई तत्काल सम्बोधन गर्न दमकल सेवालाई विस्तार गरिने बताउनुभयो।

महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यप्रति आभार व्यक्त गर्दै उहाँले नयाँ दमकल थपिएपछि आगलागीबाट भौतिक तथा मानवीय क्षति कम गराउन मद्दत पुग्ने बताउनुभयो। यसैगरी महानगर उपप्रमुख सुनिता डंगोलले दमकलको प्रभावकारी सञ्चालनबाट छिमेकी पालिकामा समेत लाभ पुग्ने भनाइ राख्नुभयो। 

विपद् व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले काठमाडौं महानगरमा घनाबस्ती भएकोले आगलागी जस्ताविपद्को कोणबाट जोखिममा रहेको बताउनुभयो। श्रेष्ठले भन्नुभयो, “विभागले सचेतनाका कार्यक्रममार्फत घटना हुनै नदिनेतर्फ ध्यान दिएको छ।”

जुद्धवारुण यन्त्र कार्यालय काठमाडौंका प्रमुख चन्दन श्रेष्ठका अनुसार नयाँ सडक वारुण यन्त्र कार्यालयमा एउटा पूर्ण क्षमताको र दुई वटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन्। त्यस्तै रामहिटीमा एउटा पूर्ण क्षमताको र एउटा सहयोगका लागि प्रयोग गर्न सकिने दमकल छन्।

नयाँवाहेक महानगरसँग अहिले पूर्ण क्षमतामा काम गर्न सक्ने दुई वटा र सहयोगका लागि प्रयोगमा ल्याउन सकिने तीन वटा गरी पाँच वटा दमकल सञ्चालनमा छन्। त्यस्तै ३० मिटरको लामो एउटा र २५ मिटर लामो एउटा गरी दुई वटा भर्याङ छन्। रेस्क्युका लागि एउटा ट्रक र एउटा जीप छन्। जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जीप छन्। यसैगरी पाँच वटा फायर मोटरसाइकल सञ्चालनमा छन्। दकमलमा पानी थप्न एउटा पानी ट्याङकर छ। यस्तै पानी तानेर फाल्नका लागि पाँच वटा पम्प छन्। 


दमकल खरिदका लागि २०७७ फागुन महिनामा बोलपत्र आह्वान गरिएको थियो। त्यसमा इन्डोनेसियामा काम गरिरहेको जर्मन कम्पनी जिग्लर इन्डोनेसिया छनौट भएको थियो। कम्पनीले करबाहेक सात करोड २१ लाख रुपैयाँ मूल्यमा इन्डोनेसियाबाटै सामान पठाएको हो। नयाँ दमकलको इन्जिन क्षमता २७० एचपी हो। दमकलमा प्रतिमिनेट तीन हजार लिटर पानी तान्न र फाल्न सक्ने क्षमता छ। यस्तै ६० मिटर टाढासम्म पानीको फोहोरा हान्न सक्छन्। एकैपटक चार वटा डिस्चार्ज लाइनबाट प्रेसरका साथ पानी फाल्न र दुई वटा सक्सन लाइनबाट पानी तान्न सक्छन्। 

आठ मिटर लम्बाइ र २.५ मिटर चौडाइ भएका दमकलले घरमा लागेको, पेट्रोलियम पदार्थ लागेको र ग्यासमा लागेको आगो निभाउन सक्छन्।