• ७ मंसिर २०८१, शुक्रबार

चथाः पर्व मनाउने परम्परा

blog

भक्तपुर, भदौ १५ गते । पत्यकामा ‘जीवनमा कहिल्यै चोरीको दोष नलागोस्’ भन्ने कामनासहित बिहान गणेश र राति चन्द्रमाको पूजा गरी चथाः पर्व मनाउने परम्परा छ। 

भाद्र शुक्ल चतुर्थीको अवसरमा बुधबार बिहानै घर चोख्याएर दुबो, लड्डु र मूलासहित भगवान् गणेशजीको पूजा गरिन्छ। 

साँझ चन्द्रमाको पूजा गर्दा कमलको पात वा अदुवाको पातमा नैवेद्य, काँक्रो, नासपाती, अनार, अम्बा तथा केराउ, चना, बकुल्ला, मकै, भटमास, गहुँलगायत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ।  संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले चन्द्रमालाई चढाएको फलफूल तथा गेडागुडी प्रसादका रूपमा खाने चलन रहेको जानकारी दिनुभयो। उहाँले यो चौथीमा चन्द्रमाको पूजा गर्ने विषयमा दुई मान्यता रहेको जानकारी दिँदै भन्नुभयो, “एकथरी चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोका लगाउँछन् र लुकेर पूजा गर्छन्। अर्काथरी घरको आँगनमा सदस्य जम्मा भएर बस्छन्। चन्द्रमा देखा परेपछि पूजा गरी प्रसाद खाएर मात्र भित्र पस्छन्।” 

डा. श्रेष्ठका अनुसार चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ अस्थायी र गौण हुने तथा उसको राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देशसमेत दिने हो। उहाँले गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने गरेको जानकारी दिनुभयो। 

नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको छ। आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गर्ने प्रचलनसमेत रहेको छ। पौराणिक कथनअनुसार चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भन्दै जिस्क्याए पछि गणेशले  रिसाएर चन्द्रमालाई ‘तिम्रो मुख हेर्ने चोरीको दोष लागोस्’ भन्ने श्राप दिए। त्यो दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोरीको दोष लाग्न थाल्यो। त्यसपछि सबैले चन्द्रमाको मुख हेर्न छोडे। गणेशले राति विधिपूर्वक चन्द्रमाको पूजा गरे सो दिनमा चन्द्रमा दर्शन गरे पनि चोरीको दोष नलाग्ने वरदान दिएकाले यो दिन साँझमा चन्द्रमाको पूजा गर्ने परम्परा बसेको विश्वास गरिन्छ। यस दिन कहीँ कतै गएर केही चोरे पनि आरोप नलाग्नेसमेत तर्क गरिन्छ।