• २९ असार २०८१, शनिबार

सपना जस्तो लाग्ने फोनका कुरा जब विपनामा पूरा भए...

blog

गोरखापत्र अनलाइन

दाङ, भदौ १५ गते । शुक्रबारको मध्यान्ह । घाम चर्किँदै थियो । लमही–१ स्थित श्री सूर्यविनायक मावि, नर्तिका विद्यार्थी शुक्रबारे आधा छुट्टीका कारण घरघर लागिसकेका थिए । त्यहीँ विद्यालयमा अवस्थित लावाजुनी छात्रावासका मुक्त कमलहरी भने उत्साहित थिए । मन्त्री आउने खबरसँगै तिनीहरुले आफ्ना उज्यालो भविष्यको सपना देखेका थिए । 

लावाजुनी छात्रावासमा बसिरहेका मुक्त कमलहरी किशोरीले जीवनमै पहिलो पटक मन्त्रीसँग भेटघाट गर्दै थिए । भेटघाटको सामान्य उपक्रम मात्र थिएन, २ वर्षदेखि उनीहरुको छात्रावासको ऋण झण्डै तीन लाख रुपियाँ पुग्दै थियो । बस्ने, खाने र पढ्ने यी जम्मै कुराको वातावरण बिग्रिएर उत्कर्षमा पुगेको थियो । र, तीनै मुक्त कमलहरी किशोरीका समस्या समाधान गर्न पुग्नुभएको थियो, सहरी विकास मन्त्री मेटमणि चौधरी । 


सामान्य स्वागत लगत्तै मञ्जिला चौधरीले कार्यक्रम सुरु गर्नुभयाे । कार्यक्रम संयोजन गरिरहेका र झण्डै १८ वर्षदेखि कमलहरी मुक्त अभियानमा सक्रियतापूर्वक जोडिँदै आएका फकला चौधरी बोल्न सुरु गर्नुभयोे, ‘त्यस्तै रातिको पौने ११ बजेको थियो । म भर्खर निद्रामा डुब्न लागेको थिएँ । मोबाइलमा घण्टी बज्यो । यसो हेरेको मन्त्रीज्युको कल रहेछ । यति राति मन्त्रीज्युको फोन, अचम्म परेँ । तपाईँको स्ट्याटस पढेँ । अहिलेसम्म बैनीहरुको तिर्नुपर्ने ऋण कति छ, खाद्यान्नको कति । जम्मै बुझ्नुस् । म जिम्मा लिन्छु । भोलि नै विद्यालयमा गएर घोषणा गर्दिनुस् । म पर्सि त्यहीँ आउँछु ।’

फकला थारु भावुक देखिए । सम्हालिँदै उहाँ फेरि बोल्न सुरु गर्नुभयो, ‘नानीहरुको २ वर्षदेखिको खानपिन, पढाइ  अनि उपचार खर्चको ऋण ३ लाख रुपियाँ पुग्न लागेको थियो । कमलहरी बहिनीहरुको समस्या समाधान गर्न प्रदेश मन्त्री, मुख्य मन्त्रीदेखि सङ्घीय मन्त्रीका कोठासम्म पुगेँ । ज्ञापनपत्र बुझाएँ । हारगुहार गरेँ तर आजसम्म सबैले आश्वासन मात्र दिनुभयो । भन्न बाँकी थियो त सहरी मन्त्रीज्युलाई मात्र । एक्कासि उहाँले म छु । म समाधान गर्छु भनेपछि हेर्नुस् मन यति हलुका भयो कि म कसरी व्यक्त गरुँ ? अनि म ढुक्कले सुतेँ । माननीय मन्त्रीज्यूप्रति विशेष आभार व्यक्त गर्छु ।’ 

अब बोल्ने पालो होस्टेल वार्डेन बृजा चौधरीको थियो । नानीहरुको रेखदेख र स्याहारमा खटिएका बृजाले आफ्ना कुरा यसरी राख्नुभयो, ‘विद्यार्थी ३२ जना छन् । सरकारले जम्मा १४ जनाको जनही चार हजार रुपियाँ दिन्छ । १० महिनाको दिन्छ, हामीले १२ महिना पु¥याउनुपर्छ । तैपनि समयमा आउँदैन । बेलाबेलामा बिरामी पर्छन् । दुई जना सिकल सेलका बिरामी थिए । एउटी त्यही रोगले बितिन् । महँगी बढेको बढ्यै छ । केले खाने ? केले पु¥याउने ? केले उपचार गर्ने ? निकै गाह्रो अवस्था छ । तनावले गर्दा राम्ररी पढ्न पनि सकेका छैनन् । घर पठाउँ भने यिनीहरुको घर पनि छैन । आज मन्त्रीज्यु आउनुभा'छ । धेरै खुसी लागेको छ । अब आशा पनि जागेको छ ।’  

मुक्त कमलहरीका तर्फबाट आशा चौधरीले पीडा पोख्नुभयो, ‘खानेकुरा छैन । कापी किन्न गाह्रो छ । औषधी उपचार समयमा पाउन सकेका छैनौँ । बाहिर जाँदा साहुले खाद्यान्नको पैसा माग्छ । निकै गाह्रो छ, सर हाम्लाई । सहयोग गर्छु भनेर मन्त्रीज्यु आउनुभयो । हाम्रो दुःख हेर्ने कोही रहेछ जस्तो लागेको छ ।’


सबैका कुरा गम्भीरतापूर्वक सुनिसकेपछि सहरी विकास मन्त्री मेटमणि चौधरीकाे बोल्ने समय आयो ।

‘तपाईँहरु भाग्यमानी हुनुहुन्छ किनकि यस्तै दुःख पाएका वर्गबाट आएका मानिसहरुले नै दुनियाँ बदलेका छन् । शक्तिशाली भएका छन् । अब्राहम लिङ्कनलाई हेर्नुस्, उहाँका आमाले बच्चा पाउने ठाउँसम्म नपाएर मालिकको तबेलामा बच्चा जन्माउनुभयो  । दाउरा बेचेर बच्चा हुर्काउनुभयो । लिङ्कनले अमेरिका बदल्नुभयो । झमककुमारीलाई हेर्नुस् । सबैले उहाँलाई हेला गरे तर उहाँले हिम्मत हार्नुभएन । ठूलो कुरा आँट हो, हिम्मत हो । पैसा मात्र सबथोक होइन । तपाईँहरु पनि प्रधानमन्त्री, राष्ट्रपति बन्ने सोच राख्नुस् । मेरो घरमा पनि खरको छानो नभएको भए, पानी चुहिने नभएको भए सायद मैले सबैका घरमा टिन लगाउने सङ्कल्प गर्ने थिइनँ । आज तपाईंहरुलाई समस्या छ तर भोलि तपाईँहरुको निकै राम्रो हुनेछ । राम्रोसँग पढ्नुस् । अरु चिन्ता नलिनुस् । तपाईँहरुका समस्या म समाधान गर्छु । ढुक्क भएर पढ्नुस् । म नियमित सहयोग गर्नेछु । सरकारका तर्फबाट पनि सहयोग हुने वातावरण मिलाउनेछु ।’ 

मुक्त कमलहरी विकास मञ्चको कानुनी सल्लाहकारसमेत रहेका फकला थारु निकै उत्साहित देखिनुभयो । उहाँले ती नानीहरुका लागि गरेको प्रयास बल्ल सार्थक हुँदै थियो । मन्त्रीको त्यो फोन, निरन्तर सहयोग गर्ने वाचा, उहाँलाई एक मिठो सपना जस्तो लागिरहेछ । 

उहाँ सुनाउनुहुन्छ, ‘मन्त्रीज्युले २ लाख नगद र ४० हजार बराबरको खाद्यान्न उपलब्ध गराउनुभएको छ । ठूलो राहत मिलेको छ । केही महिनालाई खाद्यान्नको समस्या पनि हल भएको छ । मन्त्रीज्युले निरन्तर सहयोगको व्यवस्था मिलाउँछु, भन्नुभएको छ । मुक्त कमलहरी बैनीहरु पनि पढ्न कस्सिएका छन् । निकै खुसी छन् ।’

–(सूर्य बिसी, सहरी विकास मन्त्रीका प्रेस संयोजकबाट प्राप्त )