• १३ साउन २०८१, आइतबार

मोतीपुर औद्योगिक क्षेत्र निर्माण समस्या समाधान उन्मुख

भोगचलन नभएको जग्गामा औद्योगिक क्षेत्र निर्माण हुनसक्ने

blog

मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि गृहमन्त्री बालकृष्ण खाणकाे सक्रियता

श्यामशंकर पाण्डे

लुम्बिनी, भदौ १५ गते । रुपन्देहीको बुटवल उपमहानगरपालिका १७ स्थित निर्माण हुन लागेको मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधानका लागि गृहमन्त्री बालकृष्ण खाणले सक्रियता देखाउनुभएको छ ।

पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको थियो । तर उक्त क्षेत्रमा बसोबास गर्दै आएका र जग्गाधनीले खाली नगरेपछि उक्त औद्योगिक क्षेत्र निर्माण अलपत्र छ । निर्माण अगाडि बढाउन खोज्दा विवाद उत्कर्षमा पुग्ने गरेको छ । 

विवादमा रहेको बस्ती 

पछिल्लो समय गृहमन्त्रीको पहलमा स्थानीयलाई विस्थापित नगर्ने बरु औद्योगिक क्षेत्रको क्षेत्रफल घटाउने गरी काम अगाडि बढाउन स्थानीयस्तरमा कार्यदल गठन गरिएको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाइँको संयोजकत्वमा गठित कार्यदलमा औद्योगिक क्षेत्र कार्यालय प्रमुख, सम्बन्धित वडाका वडाध्यक्ष, बुटवलस्थित मालपोत कार्यालय प्रमुख, वन कार्यालय प्रमुख, जिल्ला प्रशासनका अधिकृत प्रतिनिधि, प्रदेश उद्योग मन्त्रालयका अधिकृत प्रतिनिधि, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष सदस्य र सदस्य–सचिवमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहनुभएको छ । 


गृहमन्त्रीको उपस्थितिमा बसेकाे बैठक

गृहमन्त्रीको उपस्थितिमा गठित उक्त कार्यदलले स्थानीयलाई विस्थापित नगरेरै ‘स्मार्ट औद्योगिक क्षेत्र’ निर्माण गर्नेबारे अध्ययन अगाडि बढाएको छ ।

औद्योगिक क्षेत्रको डीपीआर तयार भए पनि सो क्षेत्रमा कुन ठाउँदेखि कुन ठाउँसम्म कति जग्गा औद्योगिक क्षेत्रको नाममा रहेको हो भन्ने यकिन नभएकाले ड्रोनबाट नापजाँच गर्ने र त्यसैअनुसार प्रतिवेदन तयार गर्ने निर्णय गरेको कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो ।

औद्योगिक क्षेत्रका ८१३ बिघा जग्गालाई दुईपटक नापजाँच गरी आवश्यक रकम निकासाका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सिफारिस गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

–कसैको दाबी नरहेको र भोगचलन पनि नभएको जग्गा

‘औद्योगिक क्षेत्र निर्माण गर्दा वर्षौँदेखि जोतभोग गर्दै आएका र लालपुर्जा भएकाहरू विस्थापित हुन नपरोस् बरु औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर स्मार्ट औद्योगिक क्षेत्र निर्माण गरौँ भन्ने मन्त्रीज्युको चाहना हो, गृहमन्त्री खाणका स्वकीय सचिव बृजेश न्यौपानेले भन्नुभयो– ''कसैको दाबी नरहेको र भोगचलन पनि नभएको जग्गा पनि त्यहाँ थुप्रै रहेछ । त्यसै भित्र औद्योगिक क्षेत्र बनोस् भन्ने उहाँको चाहाना छ ।''

क्षेत्रफल घटाएर औद्योगिक क्षेत्र निर्माण गर्दा स्थानीय विस्थापित हुन पनि नपर्ने र औद्योगिक क्षेत्र पनि छिटो निर्माण भई यहाँको आर्थिक गतिविधि चलायमान हुने हुँदा सोही अनुसार कार्यदलले समेत काम अगाडि बढाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताउनुभयो ।

औद्योगिक क्षेत्रको वास्तविक जग्गाको अवस्था र आवश्यक जग्गाको खोजी गरी स्थानीयका समस्यालाई समेत समेटेर स्थानीयकै चाहनाअनुसार अघि बढ्ने उहाँले बताउनुभयो ।