• ८ मंसिर २०८१, शनिबार

डा. कोइरालाको पुस्तक ‘हृदय’

blog

काठमाडौँ, भदौ १५ गते । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले ‘हृदय’ नामक पुस्तक प्रकाशन गर्न लाग्नुभएको छ । डा. कोइरालाको अगुवाइमा बूढानीलकण्ठमा निर्माण हुन लागेको बाल अस्पतालका लागि सहयोग जुटाउने उद्देश्यले ‘हृदय’ नामक पुस्तक प्रकाशन हुन लागेको हो । 

डा. कोइरालाले जीवनमा भोगेका सङ्घर्षका अनुभव, उहाँले देख्नुभएको स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक रूपमा पुस्तकमा समेटिएको छ । डा. कोइरालाको अगुवाइमा बूढानीलकण्ठमा ‘काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ’ (किओच)का रूपमा निर्माणाधीन विशिष्टीकृत अस्पताल निर्माणको अभियानमा सहयोग गर्ने उद्देश्यले फाइनप्रिन्टले डा. कोइरालाको पुस्तक ‘हृदय’को विशेष संस्करण ल्याउन लागेको जानकारी दिएको छ । 

उक्त विशेष संस्करणअन्तर्गत सुरुमा २५ सयप्रति पुस्तक प्रकाशन गरिने र उक्त पुस्तकको मूल्य २५ हजार पर्नेछ । डा. कोइरालाले अस्पताल निर्माण कार्यलाई सहयोग पुग्ने उद्देश्यले उक्त पुस्तक प्रकाशन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले पुस्तकको मूल्यभन्दा पनि सहयोग स्वरूप उक्त मूल्य निर्धारण गरिएको जानकारी दिनुभयो । मानिसले लाखौँ सहयोग गर्न नसक्ने स्थिति हुन्छ, सहयोग गर्न चाहनेले २५ हजार रुपियाँ सहयोग गर्न सक्छ भन्ने हेतुले मूल्य निर्धारण गरिएको डा.कोइरालाको भनाइ छ । 

उहाँले विशेष संस्करण प्रकाशित भएको असोजको पहिलो सातापछि पुस्तकको नियमित संस्करण पनि निकालिने भन्दै उक्त पुस्तक ५७५ रुपियाँमा पाठकमाझ पु¥याइने बताउनुभयो । विशेष संस्करणलाई डा. कोइराला आफैँले प्रत्येक पुस्तकमा क्रम सङ्ख्या अङ्कित हस्ताक्षर गरी प्रमाणित गर्नुहुनेछ । उक्त किताब, गोल्डेन अक्षरमा लेखिएको छ । हाल काठमाडौँ र झापाको दमकमा बाल अस्पताल निर्माण अन्तिम चरणमा पुगेको र यी दुई स्थानमा अस्पताल बनिसकेपछि सातै प्रदेशमा अस्पताल विस्तार गर्ने लक्ष्य राखिएको डा. कोइरालाले जानकारी दिनुभयो ।