प्रेमराज सिम्खडा
कालीकोट, भदौ १४ गते । नेपालका प्रमुख चार धाममध्ये एक हो बडिमालीका माईको पुजा । श्रावण शुक्ल द्वादशीका दिनबाट लाग्ने पुजा साउन २६ गते शुक्ल चतुर्दशीका दिन विशर्जन हुन्छ ।
समुद्री सतहबाट चार हजार २०० मिटर माथिको रहेको यो अग्लो हिमालमा अवस्थित बडिमालिका माईको दर्शनका लागि भक्तजनहरू सापट मैदान भएको त्रिवेणी पाटनलाई छिचोल्दै जाने गर्दछन् ।
त्रिवेणी पाटनमा ढकमक्क फुलेका विभिन्न प्रजातिका फुल, मैदानमा लस्करै लागेका भेडाका बथान, घोडाहरूलाई निहाल्दै, तस्बिर खिच्दै, फुलेको चुनसँग सामीप्यता गदै भक्तजनहरू एक रात त्रिवेणीमा वास बस्ने गर्दछन् । श्रावण शुक्ल त्रयोदशीका दिन विहान स्नान गरेर धूप बाल्ने र त्रिवेणीमा रहेका मन्दिरमा पुजा गरेर बडिमालिका माईको जयजयकार गदै अलि उकालोको यात्रा गर्ने गर्दछन् ।
बडिमालिका माईको थाक थलोमा जान कालिकोट र बाजुरा जिल्लाको सीमा स्तम्भ भएको लैडिबिनायकसम्म मानव लस्करले सुन्दर पाटन झन् सुन्दर देखिने गर्दछ । बाजुरा जिल्लाका भक्तजनहरू पनि त्रिवेणीमा आएर स्नान गर्नुपर्ने अनिवार्य जस्तै छ । शुद्ध हुन त्रिवेणीमा आउने स्नान गर्ने, पुजारीले त्रिवेणीमा सबै धातुले बनेको गजुरलाई नुहाउने चलन छ ।
कालिकोट, बाजुरा, डोटी, जुम्ला, अछाम, बैतडी, बझाङ, दार्चुला, दैलेखका भक्तजनहरूले त्यो गजुर नुहाउँदै गर्दा आ–आफ्नो क्षेत्र तिर खोस्ने चलन छ । गजुर जतातिर खोस्न सकियो त्यहाँ बडिमालीका माईको नजर पर्ने र त्यहाँ वर्ष भर शुभ हुने किंवदन्ती छ ।
तर विशेष गरी पूर्व र पश्चिममा लैजाने चलन छ । आजसम्म पूर्वतिर अर्थात् कालिकोट पक्षकाले गजुरलाई पश्चिमतर्फ लिन सकेको छैन । यसपालि पनि कालिकोट तर्फको समूहले गजुर खोसेर जय बोलाउँदै त्रिवेणी पाटनको परिक्रमात्मक गरेका थिए । त्यो एक किसिमको धार्मिक प्रतियोगिता जस्तै मान्ने गरिएको छ ।
त्यसपछि शान्त हुँदै भक्तजनहरूको यात्रा बडिमालिकातर्फ बढ्छ । लैरीविनायकसम्म सापट मैदानको यात्रा गदै भक्तजनहरू भिरालो चुचुरो परेका अग्ला पहाड, थुम्का, थुम्की, अनन्त फाँटको कार्पेट बिछ्याए झैँ भुईँमा ढकमक्क हरियो चुन, फूल हेर्दै अगाडि बढ्छन् ।
त्रिवेणीदेखि बडिमालीका पुग्न यहाँको भूगोलमा टेकेर जब मान्छे आसपासका दृश्य नियाल्छ, तब मन नै हराभरा हुन्छ । कञ्चन निलो आकाश, आँखाले भ्याएसम्म देखिने पहाड, पर्वत, बेलाबेला लुकामारी खेल्ने भुईंकुहिरो, अनि अनायासै स्पर्श गर्ने चिसो सिरेटो, पृष्ठभूमिमा यदाकदा गुञ्जने धार्मिक देउडा भाका ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका भएर यहाँ पुग्ने जो कोहीको मनोरम दृश्य, कलात्मक प्राकृतिक रूपमा बनेका फाँट, अझै भन्दा समतल मैदानमा धान रोपेका जस्तै दुरुस्त देखिने खेतहरूले उकालो चढ्दा महसुस भएको थकान समेत हराउँछ ।
सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सज्यालले प्रकृतिको काखमा रमाउन उत्सुकहरूका लागि गन्तव्य भएको बताउनुभयो । बडिमालिकामा जनै पूर्णिमाको दिन ठुलो मेला लाग्छ । मेला भर्न देशभरबाट सयौँ तीर्थालु पुग्ने गर्छन् । भारतबाट पनि थुप्रै तीर्थालु बडिमालिकाको दर्शन गर्न पुग्छन् । जुम्ला, कालिकोट, दैलेख, बाजुरा, डोटीबाट सरकारी पल्टनसहित तीर्थयात्रीहरूको आवागमन भएको थियो ।
कोभिडका कारणले गएका दुई वर्ष तीर्थ मेलाको रौनक घटेको थियो । यसपालि भने बडिमालिकामा मेला भर्नेहरूको घुइँचो थामी नसक्नु भयो । यहाँ वर्षमा दुई पटक मेला लाग्छ, गङ्गा दशहरा र जनपूर्णिमाको दिन । तर सबै भन्दा ठुलो तिर्थमेला लाग्ने भनेको जनैपुर्णिमाको दिनमा हो ।
बडिमालीकाको यात्रामा भेटिनु भएका भानु आचार्यले आफूले सुने भन्दा धेरै स्वर्ग भएको महसुस गरेको सुनाउनुभयो । स्वर्ग भनेको सायद यही होला । जता हेर्यो, उतै मन रमाउने ।
यही महिनौँ बस्न पाए त्रिवेणी बडिमालिका क्षेत्रमा यो समयमा ७० हजार देखि एक लाख भन्दा बढी भेडा चरिचरन गर्ने गरेको स्थानीय बताउछन् । कालिकोट बाजुरा, हुम्ला, मुगु अछामलगायतका जिल्लाबाट भेडाहरु ल्याएर बैशाखदेखि असोज महिनासम्म चराउने गरिन्छ ।
यस क्षेत्रका फाँटहरूले मौसम अनुसार रूप परिवर्तन गर्छन् । हिउँदमा यो सेताम्मे हुन्छ, वर्षायाममा रंगीचंगी । हरिया फाँटहरू ढकमक्क फुल्ने फूलहरूले सुन्दर मैदानमा परिणत हुन्छ । वास्तवमै प्रकृतिको अनुपम उपहार हो, त्रिवेणी बडिमालिका क्षेत्र । (बडिमालिका पुगेर फर्केपछि)