• १३ साउन २०८१, आइतबार

ढल्यो सेन निवास : जग्गाजमिन पनि बेवारिसे

blog

दिवाकर पोखरेल

देउखुरी, भदौ १४ गते । पत्रकार र साहित्यकारले बारम्बार लिइरहने नाम हो, कृष्ण सेन ‘इच्छुक’ । जनयुद्धका क्रममा मारिनुभएका पत्रकार इच्छुकलाई राज्यले शहीद घोषणा गरेको छ। उहाँको योगदानको चर्चा–परिचर्चा खुबै चल्ने गर्छ तर संरक्षणको पर्खाइमा उहाँ जन्मेको घर भने ढलेको छ। जग्गाजमिन पनि बेवारिसे बनेको छ। 

अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिका–७, सातमारामा रहेको उहाँको घर ढलेको छ भने करिब एक बिघा क्षेत्रफल रहेको जग्गा अलपत्र अवस्थामा छ। सडक छेउमै रहेकाले जग्गा पनि मासिँदै जान थालेको छ। 

कृष्ण सेनको घरजग्गा संरक्षण नहुँदा स्थानीयवासी र इच्छुकका अनुयायी चिन्तित छन्। नागरिक समाज दाङका उपसंयोजक नीमबहादुर थापाले इच्छुकको घरजग्गा संरक्षण गरेर उक्त स्थानमा शहीद कृष्ण सेन इच्छुकको गतिविधि झल्कने गरी पार्क बनाउनुपर्नेमा जोड दिनुभयो। 

उहाँ भन्नुहुन्छ, “पत्रकार इच्छुकको योगदानलाई एउटा पार्टीविशेषले मात्रै अपनत्व ल्याउन खोज्ने होइन, पत्रकार र साहित्यकार सबैले साझा व्यक्तिका रूपमा सम्मान दिनुपर्ने हुन्छ।” 

शहीद इच्छुकको उक्त जग्गा उहाँका बुवा यज्ञबहादुर सेनको नाममा छ। बुवाको पनि मृत्यु भइसकेको छ। 

इच्छुककी धर्मपत्नी तक्मा केसी जग्गा बुवाकै नाममा रहेकाले सङ्घसंस्थालाई हस्तान्तरण गर्न नसकेको बताउनुहुन्छ। 

शहीद इच्छुक पार्क निर्माण समितिका अध्यक्ष भीमार्जुन सुवेदीले इच्छुकको घरजग्गा पूर्वपश्चिम राजमार्गको बीचमा पर्ने भएकाले राजमार्ग विस्तार गर्दा जग्गासमेत नरहने समस्याका कारण संरक्षण तथा संरचना बनाउन नसकेको बताउनुभयो। 

कृष्ण सेन इच्छुक सांस्कृतिक प्रतिष्ठानले सांस्कृतिक गतिविधि गर्ने गरेको भए पनि इच्छुकको घर, सम्पत्ति संरक्षणतर्फ ध्यान दिइएको पाइँदैन। प्रतिष्ठानका अध्यक्ष हीरामणि दुःखी प्रतिष्ठानलाई जग्गा संरक्षण गर्ने कामसँग नजोड्न आग्रह गर्नुहुन्छ। 

स्थानीय पहलमा केन्द्र सरकारबाट दुई लाख ५० हजार रुपियाँमा पहिले घरको जीर्णोद्धारको काम गरिएको थियो। सोही स्थानमा १६ लाख रुपियाँको लागतमा इच्छुक प्रवेशद्वार बनाइएको छ। २०१३ सालमा जन्मिनुभएका इच्छुकको मृत्यु जनयुद्धको समयमा २०५९ जेठ १३ गते भएको बताइन्छ।