टोपलाल अर्याल
गुल्मी, साउन ५ गते । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकाबाट आर्थिक वर्ष २०८१/०८२ मा करिब ४९ करोड बजेट खर्च हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय गुल्मीका अनुसार सङ्घ सरकारको ४५ करोड ५५ लाख २३ हजार १६९ रुपियाँ र लुम्बिनी प्रदेश सरकारको तिन करोड ४३ लाख २० हजार ९०७ रुपियाँ बजेट फिर्ता भएको छ ।
गुल्मीका स्थानीय तहलाई सङ्घले सामनिकरण तर्फ वित्तीय हस्तान्तरण गरेको कुल बजेट चार अर्ब ७२ करोड ५५ लाख ८४ हजार रुपियाँमा चार अर्ब २७ करोड ६० हजार ८३१ रुपियाँ खर्च भएको कार्यालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशबाट कुल ३२ करोड १६ लाख छ हजार ९० रुपियाँ मध्ये २८ करोड ५८ लाख ४५ हजार १८२ रुपियाँ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिनुभयो । समग्रमा स्थानीय तहको बजेट हेर्दा सङ्घको ९०.३६ र प्रदेशको ८९.२८ प्रतिशत बजेट खर्च भएको छ ।
त्यस्तै सङ्घीय कार्यालयहरूले कुल बजेटको पुँजीगत तर्फ ८९.३४ र चालु तर्फ ९२.४५ प्रतिशत गरेर कुल ९१.८६ प्रतिशत बजेट खर्च गरेका छन् । जिल्लाका सङ्घीय कार्यालयहरूका लागि नौ अर्ब १५ करोड ३० लाख ६४ हजार ९३६ रुपियाँ बजेट विनियोजन भएको थियो । जसमा आठ अर्ब ४० करोड ७७ लाख ३५ हजार ६३७ रुपियाँ बजेट खर्च भएको सूचना अधिकारी अर्यालले बताउनुभयो । त्यस्तै प्रदेश कार्यालयहरूले ८१.७३ चालु र ८९.३४ प्रतिशत पुँजी गरेर कुल ७९.२१ प्रतिशत बजेट खर्च गरेको कार्यालयले जनाएको छ ।
प्रदेश कार्यालयहरूको कुल बजेट एक अर्ब ९० लाख ६८ लाख ८८ हजार ९० रुपियाँ मध्ये एक अर्ब ५१ करोड ५१ हजार ९७६ रुपियाँ खर्च भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी अर्यालका अनुसार राजश्व सङ्कलनमा कमी आएको छ । सङ्घका कार्यालयहरूले आर्थिक वर्ष २०८१÷०८२ मा ५१ करोड ६० लाख ९० हजार ९८३ रुपियाँ राजश्व सङ्कलन गरेका छन् ।
गत आर्थिक वर्ष ७७ करोड ७५ लाख ९० हजार ७३१ रुपियाँ राजश्व सङ्कलन भएको थियो । भने प्रदेश तर्फ दुई करोड ५८ लाख १८ हजार ८८ रुपियाँ राजश्व सङ्कलन गरेका छन् । गत वर्ष पाँच करोड २१ लाख तिन हजार ४६९ रुपियाँ राजश्व सङ्कलन भएको थियो ।