सिराज खान
नेपालगन्ज, साउन ५ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका– ७ फत्तेपुरस्थित खल्लाझगडियामा निर्माण गरिएको आकस्मिक तटबन्ध र नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गरिएको छ ।
जनताको तटबन्ध आयोजना कार्यालय लमहीका उच्च अधिकारी, प्राविधिकसहित सरोकारवालाले तटबन्ध र नदी कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन् ।
जनताको तटबन्ध आयोजना कार्यालय लमहीका प्रमुख डा. नारायणप्रसाद सुवेदी, नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषणराज केसी, प्रगन्ना कुलो सिँचाइ प्रणाली मुल समन्वय समितिका सदस्य तिलक न्यौपाने, प्राविधिक टोलीलगायतले निर्माण गरिएको आकस्मिक तटबन्ध नदी कटानको स्थलगत निरीक्षण गरेको जनताको तटबन्ध आयोजना कार्यालयले जनाएको छ ।
निरीक्षणका क्रममा आयोजनाका प्रमुख डा. सुवेवदीले तत्कालका लागि आपतकालीन रुपमा बाढीको कटान रोक्न बाँस र बोराको सहायताले अस्थायी तटबन्ध निर्माणको काम गरिएको र वर्षापछि पक्की तटबन्ध बनाउने कार्य सुरु गरिने जानकारी गराउनुभएको थियो ।
उहाँले प्लाष्टिकको बोरामा माटो भरेर नदी किनारमा राख्ने काम गरिएको जनाउँदै नयाँ प्रविधिका साथ बलियो तटबन्ध बनाइएको र यसबाट कटान धेरै हदसम्म रोकिने बताउनुभयो ।
स्थलगत निरीक्षणपछि नेपाली कांग्रेस बाँकेका क्षेत्रीय सभापति पोषण केसीले फत्तेपुरको खल्लाझगडियामा राप्ती नदीले तीव्र रुपमा कटान गरेकाले तत्काल क्षति रोक्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
‘‘तत्काल क्षति रोकिएन भने थप क्षति हुने अवस्था देखिन्छ, जनताको तटबन्ध आयोजनाले आपतकालीन रुपमा कटान रोक्ने प्रयास गरेकाले सर्वसाधारणलाई केही राहात महसुस भएको छ,’’ क्षेत्रीय सभापति केसीले भन्नुभयो ।
दुई वर्षअघिको बाढीले खल्लाझगडियाको पक्की तटबन्धलाई बगाएको थियो । त्यस यता राप्ती साेनारी र नरैनापुरका स्थानीय बासिन्दाले उक्त क्षेत्रमा बलियो तटबन्ध बनाउन माग गर्दै आउनुभएको छ ।
हरेक वर्षको बाढीले खल्लाझगडिया क्षेत्रमा कटान र डुबान गर्दै आएको छ । यस वर्ष पनि मनसुन सुरु भइसकेर राप्ती नदीको बहाव बढ्दै गएकाले सो वरिपरिका आधा दर्जन गाउँका बासिन्दा त्रास र डरका साथ बस्न बाध्य छन् ।
तर बाढी आउनुभन्दा अगावै बलियो अस्थायी तटबन्ध निर्माण गरिएकोले कटान र डुबानबाट धेरै हदसम्म जोगिने जनताको तटबन्ध आयोजना कार्यालय लमहीले जनाएको छ ।