• ११ असोज २०८१, शुक्रबार

भाटाले बारिएको कोठामा पठनपाठन

blog

खोटाङ समाचारदाता

खोटाङ, भदौ १३ गते । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारी डाँडामा सञ्चालित जनता माध्यमिक विद्यालयमा बाँसको भाटाले बारिएको कक्षाकोठामा पठनपाठन चलिरहेको छ। भवन निर्माण नगरी विद्यालय स्थानान्तरण गर्दा जस्तापाताको छानो लगाएर वरिपरि बाँसको भाटाले बारेर पठनपाठन गर्दा समस्या भएको शिक्षक, विद्यार्थी र अभिभावकले बताउनुभएको छ।  

घाम लागेको समयमा गर्मी र पानी परेको समयमा जस्तापातामा आवाज आउँदा पठनपाठनमा समस्या हुने गरेको प्रधानाध्यापक पवन राईले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर राईका अनुसार भण्डारी डाँडास्थित एक गाउँका विद्यार्थीलाई मात्र पायक पर्ने ठाउँमा सञ्चालित विद्यालयलाई सबैको पायक पर्ने ठाउँमा सारिएको हो। गाउँपालिकाले उपलब्ध गराएको छ लाख रुपियाँ बजेटबाट सो बाँसको टहरो निर्माण गरेर विद्यालयको पठनपाठन भइरहेको उहाँले जानकारी दिनुभयो। विद्यालयलाई आवश्यक १८ रोपनी जग्गा खरिद गरिएको र आगामी तीन वर्षभित्रमा आवश्यक पर्ने सबै संरचना निर्माण गरिसक्ने उहाँको भनाइ छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएको ७० लाख ४० हजार रुपियाँ बजेटमा निर्माण गरिएको चार कोठाको सो भवनमा विद्यालयको प्रशासन तथा कम्प्युटर ल्याब सञ्चालन गरिएको छ। एउटा कोठामा कम्प्युटर ल्याबसहितको विद्युतीय पुस्तकालय, एउटा कोठामा विज्ञान प्रयोगशाला, एउटा कोठामा पुस्तकालय र एउटा कोठामा कार्यालय सञ्चालन गरिएको प्रधानाध्यापक राईले जानकारी दिनुभयो। पूर्वप्राथमिक तहदेखि कक्षा–१० सम्म बाँसको भाटाले बारिएको कक्षाकोठामा पठनपाठन सञ्चालन भइरहेको विद्यालयमा अहिले ४८३ जना विद्यार्थी अध्ययनरत छन्। कक्षा ११ र १२ भने तत्कालीन गाउँ विकास समिति (गाविस)को रु. पाँच लाख लगानीमा ढुङ्गा माटोले बनेको पुरानो भवनमा सञ्चालन गरिएको छ। 

भण्डारी डाँडामा २०१७ सालमा बाल विकास केन्द्रको रूपमा स्थापना भएर अहिले कक्षा १२ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय गत वैशाख–४ गते ६२ वर्षपछि मुसुरी डाँडामा स्थानान्तरण गरिएको हो। विद्यालयका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त ३६ लाख रुपियाँले निर्माण सुरु गरिएको चार कोठाको सो विद्यालय भवन निर्माणाधीन अवस्थामा रहेको र आवश्यक पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायसमक्ष माग गरिएको गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर राईले बताउनुभयो।