• १२ साउन २०८१, शनिबार

जनताको कुरा सुन्‍न ७७ जिल्लामा कांग्रेस नेता

blog

फाइल तस्बिर

काठमाडौं, भदौ १२ गते। सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्यको नेतृत्वमा ७७ वटै जिल्लामा जनताको साथमा कांग्रेस अभियान सुरु भएको छ। पहिलो चरणको यो अभियान भदौ १० गतेदेखि भदौ २४ गते बीपी जयन्तीसम्म चल्ने छ। कांग्रेसका नेताका अनुसार यस अभियानमा कांग्रेसले जनताको कुरा सुन्ने मुख्य काम हुनेछ। 

अभियानअन्तर्गत मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा जित सुनिश्चित गर्न सबै निर्वाचन क्षेत्र, स्थानीय निकाय, वडा र टोलसम्म यस कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइएको जानकारी कांग्रेसले दिएको छ। 

सांसद एवम् कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला जनताको साथमा कांग्रेस अभियानकै क्रममा झापा जिल्लामा हुनुहुन्छ। देशका सबै जिल्लामा अभियान जारी रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, “म पनि झापा जिल्लामा छु। अभियानमा प्रमुख रुपमा जनतासँग अन्तरसंवाद,  मतदातालाई निर्वाचनमा भाग लिन अपिल गर्ने कार्य भइरहेको छ।”

उहाँले यस क्रममा जनताको गुनासो सुन्ने र कांग्रेसले अहिलेसम्म गरेका उपलब्धि सुनाउने काम भइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कांग्रेसले अहिलेसम्म गरेका उपलब्धि सुनाउने, तालमेल र गठबन्धन किन ग¥यौं, कांग्रेसको जित सुनिश्चितता गर्ने हो।”

 कांग्रेसले अरु शक्तिसँग पनि सहकार्य गरेर जानुपरेको अवस्था र स्थितिबारे मतदातालाई बुझाउने र प्रतिक्रिया लिने मुख्य काम अभियान भइरहेको उहाँको भनाइ छ। 

कांग्रेससँग जनताको अपेक्षा

डा. संग्रौलाले स्थानीय तहको निर्वाचन सम्पन्न भएर संघ र प्रदेशको निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाताहरु उत्साहित रहेको पाइएको धारणा राख्नुभयो। “मतदाता उत्साहित छन्, मतदान गर्नलाई, जनताका केही समस्या छन्, संवाद र प्रश्न पनि गरेका छन्”, उहाँले भन्नुभयो।

खासगरी, कांग्रेससँग जनताले पुरानै समस्या जस्तै बाटोघाटो, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारको अपेक्षा राखेको जानकारी उहाँले दिनुभयो। 

नेत्री डा. संग्रौलाले भन्नुभयो, “सिंहदरबारको अधिकार गाउँ–गाउँ पुर्‍याउने भनेका छौं, सरकार पनि बनेको छ तर पनि आगामी सरकार कसको नेतृत्वमा भन्ने कुरा छ, यसले अर्थ राख्छ। हाम्रो मूल नीति र मूल अभियान समुन्नत राष्ट्र र समृद्ध जनता हो। जनतालाई कसरी समुन्नत राष्ट्रको अनुभूति दिने भन्ने हो।”

जनताको साथमा कांग्रेस अभियान यही नीति अनुरुप अघि बढेको उहाँले बताउनुभयो। यही विषयलाई जनतासँग जोड्ने नीतिका साथ घरदैलो कार्यक्रम अघि बढेको उहाँको भनाइ छ।

टोलटोलसम्म पुगेर गुनासो सुन्छौं

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानमा जनताको गुनासो के–के छन् भनेर बुझ्ने क्रम जारी रहेको बताउनुभयो। पौडेलले भन्नुभयो, ‘‘हामीले ७७ जिल्लामा यो कार्यक्रम सुरुवात गर्‍यौं। तत्पश्चात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र, स्थानीय निकाय अनि पछि वडा र टोल समितिसम्म आम नागरिकले नेपाली कांग्रेसलाई उहाँहरुको गुनासो के छ, के गर्दिए हुन्थ्यो भन्ने भनाइ र त्यो कुराहरु सुन्छौं।” 

यसका लागि देशका ७७ वटै जिल्लामा केन्द्रीय सदस्य एवम् नेताहरु अभियानमा लाग्नु भएको र कार्यक्रम अत्यन्तै प्रभावकारी ढंगले भइरहेको उहाँले जानकारी दिनुभयो। 

कांग्रेसको यो अभियान भदौ २४ गतेसम्म चल्नेछ। अभियानको अन्तिम दिन बीपी कोइरालाको जन्म जयन्तीका अवसरमा सबै जिल्लामा आमसभा हुने उहाँले उल्लेख गर्नुभयो। उहाँले हाल जारी रहेको जनताको साथमा कांग्रेस अभियानप्रति आम नागरिकको आकर्षण अत्यन्त बढ्दो रुपमा रहेको बताउनुभयो।

कांग्रेसले भदौ ४ गते पत्रकार सम्मेलनमार्फत बीपी जन्मजयन्तीको अवसरमा १४ दिने अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो। कांग्रेसले अर्को चरणमा समानुपातिक उम्मेदवार दर्तापछि दोस्रो चरणको अभियान र प्रत्यक्ष तहको उम्मेदवार तय भएपछि तेस्रो चरणको अभियान अगाडि बढने छ। 

उम्मेदवार तय भएपछि उम्मेदवारकै नेतृत्वमा प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्र र ३३० प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन अभियान कार्यक्रम सञ्चालन गर्नेछ। 

पार्टी र जनतालाई जोड्ने कार्य हुँदैछ 

कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी यो अभियान पार्टीको निर्णय प्रभावकारी परिचालन गर्न कार्यकर्ता, जनता र पार्टी संगठनबीचमा तादम्यता सिर्जना गर्न पनि महत्त्वपूर्ण रहेको बताउनुहुन्छ। 

केसी भन्नुहुन्छ, “कांग्रेसको नेतृत्व तह अथवा नीति, निर्णयको तह र जनतासँग साक्षात्कार गर्न महत्त्वपूर्ण छ। स्थानीय निर्वाचनमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्‍यौं। प्रत्यक्षरुपमा पार्टी र जनतालाई जोड्ने काम गर्छ।”

उहाँले पार्टी र जनतालाई नयाँ ऊर्जा थप्ने र एकता निर्माण गर्नका निम्ति यो अभियान  महत्त्वपूर्ण प्रारम्भ भएको बताउनुभयो। उहाँ भन्नुहुन्छ, “नेपाली कांग्रेसले अहिलेसम्म लोकतान्त्रिक पद्दति, संस्कार निर्माण गर्ने मात्रै होइन, विभिन्न चरणमा गौरवशाली इतिहास छ, कांग्रेस नै देशको एउटा यस्तो संस्था हो, यसले हरेक पटक लोकतन्त्रलाई संस्थागत गर्न र निर्वाचन गर्न नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपरेको छ।”

२०१५ सालको पहिलो आम निर्वाचन सुवर्ण शमशेर नेतृत्वको सरकारले गरेको स्मरण गर्दै उहाँले त्यसपछि निरन्तर कांग्रेसको नेतृत्वमा चुनाव हुँदै आएको छ। २०७० मा दोस्रो संविधान सभापछि खिलराज रेग्मी नेतृत्वको सरकारले चुनाव गराएको थियो।

 कांग्रेसका तत्कालीन सभापति प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वले तीन पटक निर्वाचन भएका थिए। वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा २०७४ को स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भएको उहाँले स्मरण गर्नुभयो। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।