• ११ असोज २०८१, शुक्रबार

आवश्यकताका आधारमा योजना छनोट गरिने

blog

 गाईघाट समाचारदाता

गाईघाट, भदौ १० गते । प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले अब पहुँचको आधारमा नभएर आवश्यकताका आधारमा स्थानीय तहसँग समन्वय गरेर मात्रै विकास निर्माणका योजना छनोट गरिने बताउनुभएको छ। 

सङ्घ, प्रदेश र स्थानीय तहबीचमा आपसी सहकार्य र समन्वय नहुँदा एउटै कामका लागि तीनतिर बजेट विनियोजन हुन सक्ने र त्यसो हुँदा अन्य कतिपय महŒवपूर्ण काममा रकम अभाव हुने समस्या उत्पन्न हुने गरेकाले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर योजनालाई अगाडि बढाउने नीति अगाडि सारेको मन्त्री कार्कीले बताउनुभएको छ। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित देउरी खोलाको मोटरेबल पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री कार्कीले आफूहरू धेरै बोल्नेभन्दा पनि काम गरेर देखाउने बताउनुभयो। 

उहाँले त्रियुगा नगरपालिकाभित्र धेरै काम गर्न बाँकी रहेकाले आफ्नो मन्त्रालयमार्फत हुने सबैखाले योजनामा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रदेश सरकारको चार करोड रुपियाँको लगानीमा सो क्षेत्रमा सञ्चालित देउरी–दमौटी–बुर्जाकान्ला–पात्ले–घनचक्रे बहुवर्षीय सडक निर्माणमा व्यापक ढिलासुस्ती भएकाले ती निर्माण व्यवसायीलाई आवश्यक  कारबाही गर्न मन्त्रालयले तयारी गरेको जानकारी दिनुभयो। उहाँले विकास निर्माणका काममा दलीय राजनीति किचलो हुनु नहुने भन्दै विकासको प्रतिफल उपभोग गर्ने आमजनता नै हुने भएकाले योजना एकले, यसले वा उसले ल्याएको भन्ने भन्दा पनि विकास निर्माणमा सबै पक्षको सकारात्मक सहयोगको खाँचो रहेको बताउनुभएको छ। 

अन्तरवडा जोड्ने सडकअन्तर्गत त्रियुगा नगरपालिका–५ को देउरी–श्रीपुर हुँदै दमौटी–बुर्जाकान्ला–घनचक्रे जोड्ने सडकमा पर्ने देउरी खोलामा प्रदेश सरकारको सडक पूर्वधार तथा सहरी विकास मन्त्रालयमार्फत चार करोड पाँच लाख ६५ हजार रुपियाँको लागतमा सो मोटरेबल पक्की पुल निर्माण सम्पन्न गरिएको हो। ७१ मिटर लम्बाइ र १० मिटर चौडाइसहित पुलमा तीनवटा स्पान छन् । छ करोड ११ लाख ५१ हजार रुपियाँको लागत स्टिमेटमा तयार गरिएको भए पवित्रा निर्माण सेवा त्रियुगा नगरपालिका–२ ले मूल्य समायोजनसहित चार करोड पाँच लाख ६५ हजार रुपियाँको लागतमा पुल निर्माण सम्पन्न गरेको हो। २०७७ जेठ २ गते निर्माण सम्झौता भएको उक्त पुलको २०७८ चैत ३० गते काम सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले समायावधिभन्दा केही ढिलो काम सम्पन्न गरेको हो। 

प्रदेश १ सरकारका सडक पूर्वाधार तथा सहरी विकास सचिव मोहनराज चापागाईंको अध्यक्षतामा भएको सो कार्यक्रममा सोही वडाका वडाध्यक्ष उद्धव कार्की, त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई, प्रदेश सांसद सञ्जा दनुवारलगायतले विकास निर्माणमा समन्वयको खाँचो रहेको बताउनुभयो।