• ११ असोज २०८१, शुक्रबार

अध्यक्षको मृत्युपछि सहकारी बन्द, बचतकर्ता निराश

blog

राजकुमार भट्टराई 

खोटाङ, भदौ ९ गते । खोटाङ सदरमुकाम दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था डेढ वर्षदेखि बन्द रहेको छ । सहकारी सञ्चालक समितिका अध्यक्ष अनिलकुमार जोसीको निधनपछि २०७८ बैशाखबाट सहकारी बन्द भएको हो । 

२०७२ मङ्सिरमा दर्ता भएर सञ्चालनमा आएको सहकारी बन्द भएपछि बचतकर्ताहरु मारमा परेका छन् । ब्याजको आसमा लाखौं रकम सहकारीमा जम्मा गरेका बचतकर्ताहरु हरेक दिन सहकारीको कार्यालयमा आउनेगरेका छन् । तर सहकारीको कार्यालय प्रायः बन्द हुनेगरेको छ ।           

लालुपातेले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणसहितको प्रतिवेदन प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा नबुझाएको भन्दै प्रदेश सहकारीले गत वर्ष असोज ४ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । त्यसपछि सञ्चालक समितिलाई बोलाएर छलफल पश्चात १ नम्बर प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले संस्थाका सञ्चालकको सम्पत्ति रोक्का राख्ने निर्णय गरेको जनाएको थियो । 

सदस्यहरुले निक्षेप फिर्ता नपाएको गुनासो गरेपछि प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले सञ्चालकको सम्पत्ति रोक्का गरेको भनिएको थियो । संस्थाको रकम हिनामिनासँग सम्बन्धित व्यक्तिको अचल सम्पत्ति रोक्का गर्ने, हालसम्मको सम्पत्ति र दायित्वको लेखापरीक्षण गराउने, साधारणसभा बोलाइ ऋण लगानीसहित पाउनुपर्ने रकम असुलीको कार्य सुरु गरिएको प्रदेश कार्यालयले यसअघि बताएको थियो । तर अहिलेसम्म एक जना बचतकर्ताले आफ्नो रकम फिर्ता नपाएको गुनासो गरेका छन् ।  

गत वर्षको बैशाखमा सहकारीका अध्यक्ष जोसीको कोभिड –१९ का कारण पोखरामा मृत्यु भएको परिवारको भनाइ छ । तर जोसीको स्थायी घर भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेल वडा कार्यालयमा अहिलेसम्म मृत्यु दर्ता गराइएको छैन् । जसका कारण जोसीको मृत्यु भएको हो हैन भन्ने विषय शंकास्पद रहेको स्थानीयबासीको भनाइ छ । 

७८ बैशाखबाट बन्द भएको सहकारी पुनः ७९ जेठ ९ गते सञ्चालनमा ल्याउने भन्दै कार्यालय खोलेर दुई दिन बचत उठाउँदै हिडेको पाइएको छ । दुई दिन पश्चात पुनः कार्यालय बन्द भएको छ । अहिले सातामा एक दिनजस्तो कार्यालयको कर्मचारी सुमना राई आएर एक दुई घण्टा खोल्नेगरेको स्थानीयको भनाइ छ । अन्य समय कर्मचारी राईको मोबाइल अफ हुनेगरेको छ । रकम माग गर्दा केही समय पर्खनुस् सहकारी सञ्चालनमा आउँछ भन्दै बहाना बनाएर उम्किनेगरेको बचतकर्ताको भनाइ छ । १० जना बचतकर्ता भेला भएर जिल्ला प्रशासन कार्यालयमा गएर ध्यानाकर्षण गराएको तर समस्याको समाधान नभएको बचतकर्ता कल्पना बस्नेतले बताउनुभयो । 

सहकारीले आइएमइ पनि सञ्चालन गरेको थियो । कल्पना बस्नेतको श्रीमानले आजभन्दा  २ वर्ष अगाडि बिदेशबाट पठाएको चार लाख रुपियाँ झिक्न उक्त सहकारीको आइएमइमा जाँदा यही सहकारीमा पैसा जम्मा गर्नुस राम्रो ब्याज दिन्छौं भनेपछि रकम जम्मा गरेको बताउनुभयो । ६ महिनापछि रकम आवश्यक परेर झिक्न खोज्दा सहकारीले नदिएको उहाँको भनाइ छ । 

‘श्रीमानले बिदेशबाट पठाएको पैसा झिक्न जाँदा १५ प्रतिशत ब्याज दिने भन्दै सहकारीमै पैसा जम्मा गराएँ । पछि आफुलाई चाहिएर झिक्न खोजेको अहिले डेढवर्ष भयो पैसा दिनैनन् । प्रशासनमा पनि गएर हामीले दुखेसा पोख्यौं तर कहीँबाट अहिलेसम्म केही भएको छैन्’ बस्नेतले भन्नुयो ।  

उहाँकोजस्तै सो सहकारीमा धेरै मानिसको पैसा डुबेको गुनासो छ । जालपाकी सबिना राईको ७ लाख बचत भएको तर अहिले सहकारी नै बन्द हुँदा केही सोँच्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो । टेम्माका लक्ष्मी राईले दुःख गरेर कृषि पेसाबाट कमाएको २ लाख जम्मा गरेको ७ वर्ष भयो, तर अहिलेसम्म एक रुपियाँ पनि नपाएको बताउनुभयो । दिक्तेलकी पदमकुमारी सैजुले राम्रो ब्याज दिने भनेपछि फाइदा हुने आसले २ वर्ष अगाडि ११ लाख जम्मा गरेको बताउनुभयो । 

अहिले सहकारी नै बन्द भएपछि पैसा माग्न कहाँ जाने अन्यौलमा परेको बताउनुभयो । खाल्लेकी धनकुमारी कट्वालले ७ लाख ११ हजार सहकारीमा जम्मा गरेको बताउनुभयो । अहिले रकम लिन जाँदा उल्टै कर्मचारीले थर्काउने गरेको उहाँको गुनासो छ । 

यस विषमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले आफुसँग पनि बचतकर्ताको गुनासो आएको बताउनुभयो । मौखिक गुनासो आएपश्चात् सहकारीका सञ्चालकलाई सम्पर्क गर्दा चाँडै रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएको उहाँको भनाइ छ । बिशेषगरी सहकारीको अनुगमन गर्ने काम स्थानीय सरकारको भए पनि प्रशासनले सकेसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहकार्य गर्ने उहाँले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले पनि यस विषयमा आफ्नो कदम अगाडि बढाउने जनाएको छ । 

सहकारीका सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाइँले आफुलाई सहकारीको कुनै हिसाब थाहा नभएको बताउनुभयो । “मलाई उपाध्यक्ष राखिएको रहेछ, पछि मात्र थाहाँ पाएँ । सहकारीको हिसाब किताब केही थाहाँ छैन” उहाँले भन्नुभयो । उपाध्यक्ष चौलागाइँको प्रतिक्रिया यस्तो आएपछि सञ्चालक समितिका सचिव मनोज राईलाई सम्पर्क गर्दा आफुलाई पनि हिसाब थाहा नभएको बताउनुभयो । 

यसैबीच, प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले बचतकर्ताहरुको उजुरी माग गरेको छ । बचतकर्ताहरुले लिखित उजुरी दिएमा आफुहरु कानुनी प्रक्रियामा अघि बढ्ने सो कार्यालयमा कार्यरत सहकारी अधिकृत मनोज कार्कीले बताउनुभयो ।