• २० असोज २०८१, आइतबार

राज्यले कला र संस्कृतिलाई महत्व दिन सकेन : नेत्री कोइराला

blog

कार्यक्रममा सम्बोधन गर्नुहुँदै नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला । तस्बिर : केशब गुरुङ

काठमाडौं, भदौ ८ गते । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राज्यले कला र संस्कृतिलाई महत्व दिन नसकेको गुनासो गर्नुभएको छ। 

गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागले बुधबार नेपाल कला परिषद् बबरमहलमा आयोजना गरेको ‘कला प्रदर्शनी’को उद्घाटन गर्दै उहाँले कला र संस्कृतिको विकासका लागि सरकारले काम गर्न नसकेको गुनासो गर्नुभयो। 

“कला, संस्कृतिको विकास भएमात्र देशको विकास हुन्छ”, उहाँले भन्नुभयो। नेत्री कोइरालाले जीपी कोइराला फाउन्डेशनले विगत चार वर्षदेखि छुट्टै विभाग स्थापना गरी कला र संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्दै आइरहेको उल्लेख गर्नुभयो। कलाकारभित्र लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि कला प्रदर्शनीले सहयोग पुग्ने उहाँको भनाइ थियो।

फाउन्डेशनकी अध्यक्ष कोइरालाले जीपी कोइराला फाउन्डेशनले विगत १२ वर्षदेखि खोज, अनुसन्धान र सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको स्पष्ट पार्नुभयो। उहाँले पछिल्लो समय मुलुकमा प्रविधिको प्रयोग बढे पनि इतिहासलाई संरक्षण र सम्बद्र्धन गर्नका लागि यस्ता प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल सांस्कृतिक सङ्घका अध्यक्ष तीर्थ थापाले राज्य कला र संस्कृतिको सम्मान राज्यले गर्नुपर्ने बताउनुभयो। “जुन देशमा कला र संस्कृतिमा सम्मान र लगानी हुन्छ, त्यो देश सम्पन्न भएको ठहरिन्छ”, उहाँले भन्नुभयो। संस्कृति भएन भने देशको पहिचान गुम्ने उहाँको भनाइ थियो। अध्यक्ष थापाले आफ्नो माउ पार्टी कांग्रेस र संसद्मा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने बताउनुभयो।

ध्याने बुद्ध फाउन्डेशनका अध्यक्ष राजु शाक्य, वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले कला देशको पहिचान गराउने माध्याम भएकाले कलाको विकासमा सबै लाग्नुपर्ने बताउनुभयो। उहाँहरूले नेपाली कलाकारले कोरेका कला बिक्रीवितरण नहुँदा कलाकारहरू समस्यामा परेको उल्लेख गर्नुभयो।

जीपी कोइराला फाउन्डेशन कला तथा संस्कृति विभाग प्रमुख एवं मिथिला येँ आर्ट ग्यालरीका संस्थापक श्यामसुन्दर यादवले प्रकृति र संस्कृतिको धनी नेपाललाई कलामार्फत विश्वमाझ फैलाउनुपर्ने बताउनुभयो। उहाँले जीपी फाउन्डेशन कला तथा संस्कृति विभागले विभिन्न समयमा कला प्रदर्शनी गर्दै आएको उल्लेख गर्नुभयो।

प्रदर्शनीमा नेपालका वरिष्ठ कलाकार अमात्य, किरण मानन्धर, विभूषण ताम्राकार, नरेश सैँजु, जीवनराज उपाध्याय, गौतमरत्न तुलाधर बज्राचार्य, लय मैनाली, महेश आचार्य, जया शर्मा, रेनु यादवलगायतका २८ कलाकारको कला प्रदर्शनमा राखिएको छ। उक्त प्रदर्शन यही भदौ ११ गते शनिबारसम्म चल्नेछ।