• १६ भदौ २०८१, आइतबार

राजधानीमा सुरेशकुमारको कला प्रदर्शनी

blog

काठमाडौँ, भदौ ८ गते । कलाकार सुरेशकुमार द्यःलाको बुझाइमा शास्त्रमा भगवान् शिवबारे लेखिएका महिमा हरेक व्यक्ति–व्यक्तिको जीवनसँग जोडिएको दैनिक क्रियाकलाप नै हुन्।  शास्त्रमा शिव, पार्वती र उहाँको वरिपरि बुनिएका हरेक घटना, कथाका पात्रमा मानव समाजले अपनाउनुपर्ने व्यावहारिक पक्ष देख्नुहुन्छ–उहाँ। कलाकार द्यःलाले अध्ययन, ध्यान, मनन गरी उहाँले करिब २० वर्षको समयमा तयार गर्नुभएको चित्रकलाको राजधानीमा प्रदर्शनी भइरहेको छ। 

कलाकार द्यःलालाई बाल्यकालदेखि नै शिवप्रति विशेष लगाव थियो। त्यसो त उहाँ आफ्ना हजुरबुबा मोतीभाइ द्यःलाले अभ्यास गर्नुहुने तन्त्रविद्या र आफ्ना पिता कलकार बाबुराजा द्यःलाले बनाउने चित्रकलाबाट निक्कै प्रभावित हुनुहुन्थ्यो। खेल्ने, कुद्ने समयमै उहाँले एक दिन म चित्र बनाउने कलाकार भएँ भने शिवको महिमासँग सम्बन्धित शृङ्खलाबद्ध चित्र बनाउँछु भनेर सोचेको सम्झना गर्दै कलाकार द्यःलाले जानी नजानी गरेको प्रतीज्ञा पूरा गर्न सकेकोमा अत्यन्त खुसी लागेको बताउनुभयो। 

नेपाल कला परिषद् बबरमहलमा चलिरहेको उहाँको चित्रकला प्रदर्शनीमा पुग्दा हामीले स्वस्थानीलगायत विविध शात्रमा बयान गरिएका शिव, पार्वती, गणेश, कुमार, नन्दीलगायत अन्य विविध पात्रबारे चित्रमै छर्लङ्ग बुझ्ने अवसर मिल्छ। कलाकार सुरेश द्यःला भन्नुहुन्छ, ‘हामीले कथाका रूपमा सुनेका कुरा वास्तवमा हाम्रै जीवनको पाटो हुन्, अहिले कथा सुन्ने, सुनाउने वातावरण पनि छैन र शास्त्रमा लेखिएको छ भन्ने पूजा, प्रार्थना मात्र गर्ने होइन कि वास्तविक सन्देश बुझेर शिवको क्रियाकलापलाई जीवन सार्थक बनाउने अस्त्रको रूपमा अनुसरण गर्नु बुद्धिमानी हुन्छ, मैले बुझेको त्यही हो, मेरा चित्रहरू मैले शिवबारे मनन गरेको अनुभवको ऐना नै हो।’

‘सत्यम शिवम् सुन्दरम’ शीर्षकमा नेपाल व्यावसायिक कलाकार सङ्घको सहयोगमा आयोजित चित्रकला प्रदर्शनीमा शिवका अर्धनारेश्वर अवतार, रावणले कैलाश पर्वत उचालेको, अन्धकको अन्त्य, गणेशको पृथ्वी परिक्रमा, त्रिपुरा दहन, शिव पार्वतीको देव परिवारलाई ठूला–ठूला क्यानभासमा चित्रण गरिएका छन्।