रामकृष्ण बोहरा
बागलुङ, जेठ ३१ गते । जिल्लाको दक्षिण भेगको व्यापारिक केन्द्र तथा जैमिनी नगरपालिकाको प्रशासनिक केन्द्र रहेको कुश्मीसेरा बजारलाई जैमिनीधामसँग जोड्ने सडक कालोपत्र गरिएको छ । जैमिनी १ जैमिनीधामदेखि कुश्मीसेरा जोड्ने १ किमी ६ सय ६० मिटर दूरीको सडकमध्ये कोप्चेसम्मको सात सय ६० मिटर कालीगण्डकी काेरिडोर आयोजना कार्यालय पाल्पा र बाँकी नौ सय मिटर सडक पूर्वाधार विकास कार्यालय बागलुङले कालोपत्रे गरेको हो ।
सडक विस्तार, नाली तथा टेवा पर्खाल निर्माण, घुम्ती र ग्रेड सुधार गरेर सडक कालोपत्र गरिएको हो । जैमिनीधामदेखि कुश्मीसेरा बजार जोड्ने मुल सडकको कोप्चे सम्मको सात सय ६० मीटर सडकमा कालीगण्डकी काेरिडोर आयोजना कार्यालय पाल्पाले कालोपत्र गरेको हो । सडक विभागदेखि कालीगण्डकी काेरिडोर आयोजना कार्यालयलाई पटक पटकको आग्रहपछि जैमिनीधामदेखि कोप्चेसम्मको सडकखण्ड कालोपत्र गर्ने काम भएको जैमिनीका उपप्रमुख हरिहर शर्माले बताउनुभयो ।
यो सडक काेरिडोर आयोजनाको बागलुङको बलेवादेखि गुल्मीको हर्मिचौरसम्मको ४५ किलोमिटर सडक खण्डमा काम सम्पन्न गरेको कालिका कन्स्ट्रक्सन कम्पनीले कालोपत्र गरेको हो । दुई लेनको सात मिटर चौडा सडकमा डिबिएसटी प्रविधिको कालोपत्र गरिएको जैमिनीका इन्जिनियर विवेक सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, जैमिनीधाम–कुश्मीसेरा सडकको बाँकी ९ सय मिटर खण्डमा पूर्वाधार विकास कार्यालय बागलुङले कालोपत्रे गरेको हो । जैमिनी नगरपालिकाको रिङरोडमा पर्ने यो सडकको लागि पाँच करोड रुपियाँ बजेट भए पनि २०८१ जेठ १७ गते ३ करोड २० लाख ४७ हजार एक सय १९ रुपियाँमा ठेक्का सम्झौता गरी केबिसी–एसी–जेभीले कालोपत्र गर्ने काम सम्पन्न गरेको पुर्वाधार विकास कार्यालयले जनाएको छ ।
यो बजेटबाट जैमिनी नगरपालिका वडा नं. ३ दमेक र वडा नं. ९ पैयुथन्थापमा पर्ने रिङरोडको ठुल्डाँडा–बाघखोर–नामदुक सडकखण्डमा सडकको भित्ता तास्ने र ग्याबिन जाली भर्ने काम भएको पूर्वाधार विकास कार्यालयका सब–इन्जिनियर प्रकाश श्रीसले बताउनुभयो । सडक स्तरोन्नतिसँगै कालोपत्र गर्ने समय अवधि १५ महिना भए पनि काम धमाधम भइरहेकाले जेठ अन्तिम साता काम सम्पन्न भएको हो । नौ सय मिटर सडक खण्डमध्ये तीन सय मिटरमा ढलान गरिएको छ ।
जैमिनीधाम यहाँको महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य हो । प्राचीनकालदेखि नै जैमिनीधाममा प्रत्येक वर्षको माघ सङ्क्रन्तिमा परम्परागत मेला लाग्दै आएको छ । वेदव्यास पुत्र जैमिनी ऋषिले योग साधना र तपस्या गरेको जैमिनीधामको धार्मिक पर्यटकीय महत्वलाई उजागर गर्ने विषय नगरपालिकाले प्राथमिकतामा राखेको छ । सडक बनेपछि यहाँ पर्यटकको आगमन बढ्नुका साथै स्थानीयलाई आवातजावतमा समेत सहज हुने नगर उप्रमुख शर्माले विश्वास व्यक्त गर्नुभयो ।