• १० साउन २०८२, शनिबार

सुक्खा र खडेरीको चपेटामा मधेश प्रदेश

blog

बारीमा काम गर्दै किसान । तस्बिर : सुजन गुरुङ

जनकपुरधाम, साउन १० गते । देशको अन्न भण्डारका रूपमा रहेको मधेश प्रदेशले यस वर्ष सुक्खा र खडेरीको सामना गर्नु परेको छ ।

मधेश प्रदेशमा यस वर्ष मनसुन अनुकुल नहुँदा धान रोपाइँमा गम्भीर प्रभावित परेको छ ।

मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म मधेश प्रदेशमा जम्मा ४७ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।


अहिले मधेश प्रदेशमा धान रोपाइँका लागि मात्र नभएर पिउनको पानीको समेत अभाव रहेको छ ।

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका, मनराशिसवा नगरपालिका लगायतका क्षेत्रमा पिउने पानीको अभाव समाधान गर्ने दीर्घकालीन योजना नभए पनि अहिले ट्याङकरको साहेताले टोल टोलमा पानी वितरण गरिरहेको छ ।

महोत्तरीमा कुल ७१ हजार ५७० हेक्टर खेतीयोग्य जमिन रहेकोमा ६४ हजार ९७७ हेक्टर जग्गामा खेती हुँदै आएको छ ।

सो क्षेत्रमा पानी नपर्दा किसानको धानका ब्याड सुक्न थालेको छ भने फाटफुट रूपमा किसानले रोपेको खेतमा धाँजा फाट्न थालेको छ ।


मधेश प्रदेश सरकारको सिफारिसमा सङ्घीय मन्त्रिपरिषद्ले उक्त प्रदेशलाई तीन महिनाका विपद् सङ्टग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

सरकारले तीन महिना अवधिका लागि मधेश प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

महोत्तरी जिल्लाका मटिहानी नगरपालिकाका ७ र ८ नम्बर वडा क्षेत्रका खेतहरू अधिकांश सुक्खा छन् भने पम्पसेटको सहायताले रोपाइँ गरिएका खेतहरूमा धाँजा फाटेका छन् ।


स्थानीय गुफर लेहेरीले यस वर्ष मनसुन सुरु भए पनि यो क्षेत्रमा पानी नै नपरेको सुनाउनुभयो । धान रोप्नका लागि आकाशको भर पर्नु पर्ने हामीले पम्पसेट पनि नपाएको र स्थानीय सरकारले वास्ता नगरेको उहाँको गुनासो छ ।

त्यस्तै अर्का स्थानीय सन्तोष यादवको खेत पनि यस वर्ष खडेरी र सुक्खा कारण बाँझै छन् । पैसा हुनेहरूले पम्पसेटको प्रयोगले धान रोपाइँ गरे पनि हामीहरू आकाशको पानीमै भर पर्नुपरेको उहाँले सुनाउनुभयो ।