साहारा लिम्बू
फुङलिङ, साउन १० गते । हिमाली क्षेत्रका कृषकहरूको मुख्य आम्दानीको स्रोतको रूपमा छुर्पीलाई लिन सकिन्छ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका याम्फुदिनका चौँरीपालक विष्णु शेर्पा छुर्पी बेचेर आफ्नो गुजारा चलाउनु हुन्छ ।
उहाँले करिब ५० वटा चौँरी पाल्नुभएको छ । उहाँले उक्त चौँरी पालनबाट वार्षिक करिब १० लाख रुपियाँ जति छुर्पीमार्फत आम्दानी गर्नुहुन्छ । चौँरीपालन क्षेत्रमा दुधको दैनिक कारोबार नहुने भएको र धेरै दिनसम्म दुध स्वच्छ रहन नसक्ने भएकाले लामो समयसम्म टिक्ने दुग्ध पदार्थको रूपमा छुर्पीको विकास भएको मानिन्छ ।
छुर्पी उत्पादन गर्नका लागि घरेलु दुग्ध उद्योगहरू अग्रस्थानमा रहेको देखिन्छ । गुणस्तरीय छुर्पी उत्पादनका लागि ताप्लेजुङलाई एक प्रमुख जिल्लाको रूपमा लिन सकिन्छ । यस्तै इलाम, पाँचथर, तेह्रथुम, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा आदि जिल्लामा पनि गुणस्तरीय छुर्पी उत्पादन हुने गर्छ ।
ताप्लेजुङमा विषेशगरी सिरिजङ्घा गाउँपालिका, फक्ताङलुङ गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मैवाखोला गाउँपालिका र मिक्वाखोला गाउँपालिकालाई चौँरी पालनको मुख्य क्षेत्र मानिन्छ । यी पालिकाहरूले केही समयअघि कृषकहरूलाई चौँरी पालनका लागि अनुदानको कार्यक्रम अघि सारेका थिए ।