• १४ जेठ २०८१, सोमबार

धरान–इटहरी सडक निर्माण सुस्त हुँदा दुर्घटना बढ्दो

blog

धरान, भदौ ६ गते । व्यस्त मध्येको एक मानिने कोशी राजमार्ग अन्तर्गतको धरान–इटहरी सडक निर्माणमा लापरवाही र ढिला सुस्ती हुदाँ दुर्घटना बढ्न थालेकोे छ  । 

तरहरादेखि धरानको तीनकुने १० किमी छ लेनको बाटो निर्माण रोकिएपछि आवतजावत गर्न  समस्यासँगै पछिल्लो समय दुर्घटना बढ्दै गएको छ । ट्राफिक प्रहरीको अनुसार पछिल्लो एक बर्षमा यो सडकखण्डमा ४१ वटा दुर्घटना भएको छ  ।  दुर्घटनामा ६ जनाको ज्यान गएको भने ६ जनाको अवस्था गम्भीर र अन्य ६३ जना सामान्य घाइते भएको तथ्याङक रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार बस्नेतले जीर्ण सडकमा सवारी चालकले तीव्र गति सवारी साधन चलाउँदा दुर्घटना बढेको बताउनुभयो । मूल्यवृद्धि बढेसँगै निर्माण सामग्रीको अभाव भएपछि निर्माण व्यवसायी महासङ्घले मुलुकैभरि आव्हान गरेको ‘निर्माण होलिडे’का कारण देखाउँदै ठेकेदार कम्पनीले निर्माण काम नै ठप्प बनाएपछि बाटोमा सवार सवारी साधनमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । 

तरहरादेखि धरान तीनकुनेसम्मको सडक निर्माण आगामी आषाढ मसान्तसम्ममा सम्पन्न गर्ने गरी दुई प्याकेजमा ठेक्का सम्झौता भएको हो । तरहरादेखि सेउती पुलसम्म प्यासिफिक विल्डर्स जेभी र सेउतीदेखि तीनकुनेसम्म रौता कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ । 

उक्त  सडकको काम रोकिएपछि सडक निर्माणका लागि जथाभावी राखिएका निर्माण सामग्री तथा सडकमा परेका खाल्डा खुल्डीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । 

यो सडक खण्डबाट धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा सयौंको सङ्ख्यामा विरामी लिएर एम्बुलेन्स गुड्ने गरेको छ । बिरामी लिएर हिँड्दा अत्यन्तै समस्या भएको एम्बुलेन्स चालक बताउँछन् । विशेष गरी शल्यक्रिया गरेर ल्याएका बिरामीहरुलाई सडकको खाल्डाखुल्डीका कारण बिरामीले धेरै सास्ती भोग्नुपरेका एम्बुलेन्स चालक लीलाराज चेम्जोङ बताउनुहुन्छ ।

निर्माणका ठेक्का लिइएको रानी–किमाथाङ्का छ लेन सडक अन्तर्गतको धरान–तरहरा सडक खण्ड अन्तर्गतको सेउती–तीनकुने क्षेत्रका कन्ट्याक्टर मेनेजर रञ्जन चौधरीले बर्षाद्का कारणले रोकिएको निर्माण कार्यलाई बर्षाद् रोकिएसँगै  सञ्चालनल गर्ने बताउनुभयो । तरहरा–तीनकुनेसम्मको दुई प्योजमा ठेक्का स्वीकृत भएको सडकको कुल लागत ७५ करोड छ ।

Author
निसा राई

उहाँ सुनसरी धरानबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।