• ६ जेठ २०८१, आइतबार

सर्दु जलाधारको सिमाना नतोकिदा पीडा खेप्दै स्थानीयबासी

blog

धरान, भदौ ३ गते । धरानको खानेपानीको मुहान रहेको सर्दु जलाधार क्षेत्रको सिमाना नतोकिदा स्थानीयबासी पीडा खेप्न बाध्य भएका छन् । 

धरानको जलाधार क्षेत्रमा पर्ने भन्दै जनसरोकार मञ्च नेपाल धरानले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराए पछी धरान –१३ स्थित सूर्य मार्ग पूर्व, अमरहाट उत्तर पट्टि रहेको धरान नगरपालिका -४ को किरावास, डुम्रे, सारङ्गा, आँपगाछी र धरान २० को सालबोटे अदी क्षेत्रमा स्थानीयबासीको जग्गा लामो समयदेखि रोक्का भएपछि पीडा खेप्नु परेको छ । 

विगत चार महिनादेखि जग्गा रोक्का भएपछि स्थानीयले वित्तीय कारोबार, नक्सा पास, मूल्याङकनका काम गर्न पाएका छैनन् । जग्गा रोक्का भएका जनताहरु अहिले विभिन्न निकायमा धाइरहेका छन् ।

बिहीबार पीडित स्थानियवासीको भेलाले तत्काल निकास दिन माग गरेका थिए । पीडित गंगा राईले साबिक बाँझगरा (९) क, सर्दुजलाधारभित्र नपर्ने दाबी गर्नुभयो । विगत ३,४ पुस्ता देखि बसोवास गर्दै आएकोले हालसम्म सो जग्गा सर्दुजलाधारमा नपर्ने दावी गर्दै जनप्रतिनिधीहरु आफै बोक्सी आफै धामी भएकोले जनता पीडामा परेको बताउनुभयो । 

यसैगरी जग्गाको किचलो खेपेका जीवन सुब्बाले भन्नुभयो सिडीओ कार्यालयले हाम्रो जिम्मा हैन भन्यो ,स्थानीय सरकारले पनि हाम्रो अधिकारमा पर्दैन भन्यो, अब आन्दोलनको बाहेक अन्य विकल्प नरहेको बताउनु भयो । 


जग्गा फुकुवा संघर्ष समितिका संयोजक हरि कार्कीले तत्काल सर्दु जलाधार क्षेत्र सिमाङ्कन गर्न माग गर्नुभएको छ । उहाँको अनुसार जलाधारको जग्गा सिमाङ्कन गरेर घेराबारा गरियोस बाँकीलाई दुःख नदिइयोस यसरी जलाधारमा नपर्ने क्षेत्रका जनतालाई दुः ख नदिन माग गर्नुभयो । संघर्ष समितिका अनुसार दुई हजार भन्दा बढी घरधुरी पीडित बनेको जनाएको छ । 

बिहीबारको भेलाले आइतबारदेखि थप आन्दोलनका कार्यक्रम गर्ने निर्णय समेत गरेको संयोजक कार्कीले बताउनुभयो । धरान –१३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले भने स्थानीय सरकारले आफ्नोे कार्यक्षेत्र नपर्ने बताउनुभयो । 

धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले जलाधार क्षेत्र भएर नै जग्गा रोक्का भएको बताउनुभयो । तरपनि जलाधार क्षेत्र कहाँसम्म हो जलाधारको जग्गा सिमाङ्कन गरेर घेराबारा गरिने उहाँले बताउनुभयो । 

२०३३ सालमा नगर पञ्चायतका प्रधानपञ्च वृन्दबहादुर श्रेष्ठले राजा विरेन्द्रको भ्रमणताका जलाधारको कुरा उठाएपछि राजा विरेन्दले जलाधार घोषणा गरी राजपत्रमा प्रकाशित गरेका थिए । राजपत्रमै प्रकाशित गरेपछि सांगुरी र सारंगा आसपासका बस्ती उठाएर मोरङको पथरीशनिश्चरे र बयरवनमा धनीपुर्जासहित सट्टाभर्ना दिइएको थियो ।

त्यसताका ३४८ बिघा जग्गा सर्दु जलाधारभित्र पर्ने बताइएको थियो । सट्टाभर्ना दिँदा २४३ बिघा अर्थात् प्रतिघर सरदर ३६ कठ्ठाका दरले खेतीयोग्य जमिन उपलब्ध गराइएको तथ्याङक छ । तर जलाधार क्षेत्रको जमिनको भने लगतकट्टा नभएकाले समस्या उत्पन्न हुंदै आएको छ । 

Author
निसा राई

उहाँ सुनसरी धरानबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।