• २८ मङ्सिर २०८२, आइतबार

मोरङमा साना उद्योग

नयाँ दर्ता घट्दै बन्द हुने बढ्दै

blog

विराटनगर समाचारदाता

विराटनगर, मङ्सिर २८ गते । मोरङमा सञ्चालित साना तथा लघुउद्योग धमाधम बन्द हुन थालेपछि यहाँ स्वरोजगार र स्थानीय उत्पादन क्षेत्र सङ्कटमा परेको छ । आर्थिक शिथिलता र अस्थिरताका कारण नयाँ उद्योग दर्तामा भारी गिरावट आएको छ भने सञ्चालनमा रहेका उद्योग पनि बन्द हुन थालेका छन् । यसले सामान्य नागरिकको आयआर्जन र रोजगारीमा गम्भीर असर पु¥याएको छ ।

साना तथा लघुउद्योग कार्यालय मोरङको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा १९ हजार १९५ साना तथा उद्योग दर्ता भएका छन्, जसमा १७ हजार २५६ प्राइभेट फर्म, ८९४ साझेदारी र ८६१ प्राइभेट लिमिटेड छन् । पछिल्लो चार वर्षयताको अवस्था हेर्दा लगानीको वातावरण खस्किएको छ । आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ९२९ उद्योग दर्ता भएकोमा गत आव २०८१/८२ मा यो सङ्ख्या ७३७ मा झरेको छ । चालु आवको कात्तिक मसान्तसम्म जम्मा २१४ वटा मात्र उद्योग दर्ता भएका छन् । आव २०७६/७७ पछि जिल्लामा एउटा पनि नयाँ लघुउद्योग दर्ता भएको छैन ।

नयाँ लगानी नआउनु मात्र होइन, पुराना व्यवसायी पलायन हुनुले अवस्था थप जटिल बनाएको छ । पछिल्लो चार वर्षमा एक हजार ९५ वटा साना, घरेलु तथा लघु उद्योग औपचारिक रूपमै बन्द भएका छन् । आव २०७८/७९ मा १४० उद्योग बन्द भएकोमा, आव २०८१/८२ मा यो सङ्ख्या बढेर ४४८ पुग्यो । चालु आवको चार महिनामै ५९ उद्योग बन्द भइसकेका छन् । 

कार्यालय प्रमुख भवानी घिमिरेका अनुसार पछिल्ला घटनाक्रम र आन्दोलनले पनि नयाँ दर्तामा असर गरेको छ । दैनिक १०–१५ जना आउने कार्यालयमा अहिले चार/पाँच जना मात्र सेवाग्राही आउने गरेका छन् ।

कार्यालयका सूचना अधिकारी ठाकुरप्रसाद सुवेदीका अनुसार कोरोनापछि बजार सुस्त हुनु, बैङ्कको चर्को ब्याजदर र युवा जनशक्ति विदेश पलायन हुनु उद्योग बन्द हुनुका मुख्य कारण हुन् । खुला सिमानाका कारण भारतीय सस्तो सामानसँग यहाँका कृषि तथा वनमा आधारित उत्पादनले प्रतिस्पर्धा गर्न सकेका छैनन् ।

साना उद्यमी सोमी भगतका अनुसार सरकारले ठुला र साना उद्योगलाई एउटै डालोमा राखेर नीति बनाउँदा साना व्यवसायी मारमा परेका हुन् । उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सरकारको ध्यान स्वदेशी उत्पादन जोगाउनुभन्दा राजस्व उठाउनमा मात्र केन्द्रित भएको बताउनुभयो । साना उद्योग बन्द हुँदा तल्लो तहको रोजगारी गुम्ने जोखिम बढेको छ ।