उत्पादनका साधनलाई सामूहिक तथा सार्वजनिक स्वामित्व अन्तर्गत ल्याएर शोषणमूलक पुँजीवादी अर्थतन्त्रको ठाउँमा समाजवादी अर्थतन्त्रको जग बसाउँदै तदनुरूपको राजनीतिक व्यवस्था र संस्कृतिको विकास गर्नु समाजवादको मूल आधार हो । आजको दिनमा विज्ञान प्रविधि विकास र त्यसको सचेत प्रयोग सामाजिक रूपान्तरण र विकासको निर्विकल्प साधन बनिसकेको छ । अहिलेको समाज समावेशी चरित्र सहभागितामूलक लोकतन्त्रमा आधारित मौलिकतासहितको नेपाली समाजवाद विज्ञान र प्रविधिसित जोडिएको छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा विकसित विज्ञानमा आधारित समाज विकासको नवीनतम सिद्धान्त अनुरूपको नेपाली समाजवाद बनाउनु आवश्यक छ ।
वैज्ञानिक दृष्टिकोण र विज्ञान चिन्तनबिना व्यक्ति वा नेतृत्वको मानसिकतामा समेत समाजवादको आधार तय हुन सक्दैन । विज्ञान चिन्तन भनेको हरेक वस्तु पदार्थ र चेतनालाई वैज्ञानिक दृष्टिकोणले हेर्नु र सोही अनुरूपको मार्गचित्र निर्माण गर्नु हो, समाजवादी शैली कार्यशैली र जीवनपद्धति अपनाउनु हो । विज्ञान चिन्तनको माध्यमबाट मात्र समाजवादको प्रस्थान विन्दु सम्भव छ । सामाजिक न्याय र समृद्धिसहितको समाजवादी व्यवस्थाका लागि नेपालले द्रुत गतिमा समाजिक न्याय सुनिश्चित गर्दै आर्थिक विकास गर्नुपर्ने हो । परन्तु आर्थिक विकास हासिल गर्न सामाजिक न्याय र समानता अनिवार्य सर्तका रूपमा देखिन्छ । समृद्धिको जग भनेको सामाजिक न्याय, समता र वैज्ञानिक दृष्टिकोण हो । नेपालमा समाजवादी व्यवस्था प्राप्तिको पहिलो खुड्किलो नै सामाजिक न्याय, समता र वैज्ञानिक चिन्तनलाई सर्वव्यापी बनाउँदै वस्तुगत ढङ्गले विश्लेषणमार्फत समाजका तमाम समस्याको वैज्ञानिक ढङ्गले सम्बोधन गर्न आवश्यक छ ।
आजको युगमा नेपालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादउन्मुख राज्यप्रणाली निर्माण गर्ने उद्देश्य राखेको छ । तथापि अहिलेको अन्तरसम्बन्धित २१ औँ शताब्दीको समस्या वा अन्तर्विरोधलाई १८ औँ वा १९ औँ र २० औँ शताब्दीका विचार र विधिले हल गर्न खोजे समाजवाद निर्माण हुँदैन । अहिलेको युग भनेको उत्तर पुँजीवाद र उत्तर राज्य समाजवादको युग हो । राजनीतिक प्रणाली र अर्थतन्त्रको ढाँचा दुवै हिसाबले हामीले नयाँ मोडेलको समाजवाद निर्माण गर्नु पर्छ । अहिले विश्वमा व्यापार, लगानी सहयोग विज्ञान प्रविधि हस्तान्तरण एवं नागरिक सम्बन्धका कारण विश्व समुदाय नजिक भइरहेको नेपालले समाजवादमा प्रवेश गर्न पुँजीवादी विश्वमा भ्रम र कतिपय देशले समाजवाद कायम राख्न नसकेको हुँदा दुवै अवस्था चिन्नुपर्ने हुन्छ । पुँजीवादको विद्यमान भ्रमलाई हाम्रो समाजवादीको आधार निर्माण गर्दै राजनीतिक मार्गदर्शन, रणनीति र कार्यनीतिको कार्यान्वयन र विज्ञान प्रविधिको उल्लेख विकास प्रयोग र सदुपयोगले सामना गर्दै तममा भ्रम चिर्दै समाजवादको यात्रा तय गर्नु पर्छ ।
आजको युगमा शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, उद्योग, अन्न, पर्यटन, वाणिज्य आदि क्षेत्रमा सूचना र सञ्चार प्रविधिबाट चलायमान राख्न सफल पनि सहज पनि भएको छ । मुटु, मिर्गौला र ब्रेन ओपन सर्जरी यसको प्रयोगका कारण सफल भएको छ । एआईको प्रयोगको कारण रोबोटिक्स र ज्योग्राफिकल सिस्टम (जिआईएस) को उपयोग दिनहुँ बढ्दो छ । डिजिटल, गभर्नेन्स, बिग डाटा, पर्सनल डाटा र साइबर वा स्पेस सुरक्षा गर्नु अहिलेको प्रमुख चुनौती हो । सामाजिक सञ्जालमा आएका विषयवस्तुकै कारण आमधारणा बन्ने, विगतमा मूलधार भनिएको सूचना प्रवाहको क्षेत्र क्रमशः कमजोर बन्दै जानु पनि अर्को चुनौती हो । हरेक विषयलाई नकरात्मक र भेदवभावपूर्ण रूपले हेर्ने प्रवृत्ति झन् खतरनाक छ । यस्ता चुनौतीलाई बुझेर विज्ञान प्रविधिकै साथ लिनु बुद्धिमानी देखिन्छ ।
माक्र्सवादलाई परिवर्तनशील विज्ञानका रूपमा रूपान्तरण गर्दै यी विषयलाई माक्र्सवाद सङ्गत बनाउन आवश्यक छ । हामीले समाजवादको माध्यमबाट चुनौतीको सामना गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र अर्थव्यवस्थालाई माथि उठाउँदै जनताको निम्न जीवनस्तरलाई कसरी उठाउने भन्ने विषय नै प्राथमिकतामा राख्नु पर्छ । सबै क्षेत्रको पहुँचमा पुगेको सूचना तथा सञ्चार प्रविधिको कारणले सार्वजनिक सेवा प्रवाहमा सुधार आएको र सामाजिक रूपान्तरणमा पनि यसले सहयोग पु¥याएको विभिन्न अध्ययनले देखाएको छ । भोलिको समाज कस्तो बनाउने भन्ने जिम्मा अहिले हाम्रो काँधमा छ ।
विज्ञान सूचना तथा सञ्चार प्रविधि समाजका हरेक तह र तप्काका नागरिकको पहुँचमा पुग्नु आवश्यक छ । अहिलेको विज्ञान सूचना तथा सञ्चार प्रविधिलाई गरिब तथा निमुखा जनताको पहुँचमा पु¥याउन हाम्रो जस्तो विकासशील देशका लागि निकै चुनौती छ । राज्यको पहिलो प्राथमिकता विज्ञान सूचना र सञ्चार प्रविधि हुनु पर्छ अनि मात्र हामी सुशासन, असल शासन वा जनमैत्री शासनको परिकल्पना गर्न सक्छौँ । अनि मात्र समाजवाद उन्मुख एक सभ्य विकसित समाज निर्माणको आधार तयार पनि सक्छौँ ।
समाजवादका केही अन्तर्विरोध
समाजवादका बारेमा जान्नभन्दा पहिले साम्यवादको पहिलो चरण एउटा सङ्क्रमणका तीन समाज व्यवस्था हो भनेर बुझ्नु पर्छ । पुरानो समाज व्यवस्था अर्थात् पुँजीवादका पदचिह्न लामो समयसम्म रहिरहन्छन् भन्ने माक्र्स लेनिनले पनि बताएका छन् । स्टालिनको पालामा समाजवाद निर्माणको पछिल्लो चरणमा समाजवादभित्रै रहिरहने अन्तर्विरोधबारे गरेको केही गलत मूल्याङ्कनपछि समाजवादको विकासको नियम र त्यसभित्र विभिन्न प्रकारका अन्तर्विरोध खेल्ने भूमिका र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा भ्रम सिर्जना भएको पाइन्छ । माओले सोभियत सङ्घको अनुभवबाट सिक्दै विश्लेषण गरेर समाजवादी अर्थव्यवस्थालाई त्यसभित्रका अन्तर्विरोधको सूक्ष्म अध्ययन गरेर माक्र्सवादी राजनीतिक अर्थशास्त्रलाई समृद्ध पार्ने पहल गरे । समाजमा विकसित उत्पादन सम्बन्ध र पिछडिएको उत्पादकत्व शक्तिका बिचमा प्रमुख अन्तर्विरोध रहन्छ ।
उत्पादक शक्तिको विकास अर्थात् आधुनिक विज्ञान प्रविधिको विकासमा मुख्य जोड दिनु पर्छ भन्ने संशोधनवादीको उत्पादक शक्तिको सिद्धान्त तोड्दै माओेले समाजवादमा लामो समयसम्म उत्पादन सम्बन्ध र खास गरी समाजका उपरी संरचना रहेको विसङ्गतिसँग नै प्रमुख अन्तर्विरोध रहन्छ, भनेका छन् । ती विसङ्गति हटाएर मात्र उत्पादक शक्तिको विकास गर्न सकिन्छ भन्ने सर्वहारावादी सिद्धान्त प्रतिपादन गरे । उत्पादनका साधन माथि सामूहिक स्वामित्व कायम गरिए पनि पिछडिएको पुँजीवादी चेतना, नोकरशाही कार्यशैली आदि उपरी संरचनासँग सम्बन्धित पक्ष यथावत् रहेसम्म उत्पादक शक्तिको विकास सम्भव छैन ।
माओको निष्कर्ष रुस, चीनलगायतका देशमा पुष्टि भएको छ भने नेपालमा पनि त्यो लागु हुन्छ । माओले भनेका छन्, “पहिले उत्पादन सम्बन्ध बदल्नु पर्छ र यसपछि मात्रै उत्पादकत्व शक्तिमा समग्र विकास गर्न सकिन्छ । माक्र्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा यसको महत्व स्वतः स्पष्ट हुन आवश्यक छ । हामीले सोभियत सङ्घका इतिहासमा समाजवाद निर्माणको समयमा भएका नकारात्मक अनुभवबाट पाठ सिक्नु पर्छ । पिछडिएको समाजमा समाजवाद निर्माण गर्दा यी अन्तर्विरोधले निश्चित रूपमा सार्वभौम महìव राख्छ । यसलाई ध्यान दिँदै समाजवाद निर्माणमा ध्यान पु¥याउनु पर्छ । समाजवादी अर्थतन्त्रमा कृषि र ठुला उद्योग र साना उद्योग आर्थिक निर्माण, पहाडी क्षेत्र र समतल मैदानी क्षेत्र केन्द्र, प्रदेश र स्थानीय निकाय आदि बिचको अन्तर्विरोधले समस्या उत्पन्न गराउन सक्छ । हामीले गाउँ र सहरबिचमा हुने मानसिक श्रम र शारीरिक श्रमबिचको अन्तर्विरोधलाई पनि हल गर्नु पर्छ । हामीले बुझेको के हो भने क्षमता अनुसारको काम र काम अनुसारको दामको सिद्धान्तलाई लागु गरेर मूल्यको नियमको कामबाट समाजमा असमानता हटाउनु पर्छ । पुँजीवाद व्यवस्थामा श्रमिकले मूल्य होइन ज्याला प्राप्त गर्छन् । समाजवादी प्रणालीमा श्रमिकले श्रमको पूरा मूल्य प्राप्त गर्छन् । श्रमका आधारमा उत्पादित वस्तुको वैज्ञानिक वितरण समाजवादी प्रणालीको नियम हो ।