एउटा पक्कीघरको बाहिरी भर्याङ उक्लेर चोकमा निस्किँदा केही बच्चाबच्ची भर्याङकै छेउमा बसेर मस्तीले हाँसिरहेका थिए । एकै क्षण तिनलाई नियालेँ । हाँस्दा खोपिल्टा परेका तिनका राता पुक्क परेका गालाले जो कोहीलाई नतान्ने कुरै थिएन । उनीहरूका खुसी समेट्ने रहरले फोटो खिच्न लाग्दा तिनले आफ्ना साना हत्केलाले अनुहार छेक्दै फोटो खिच्न इन्कार गरे । सायद नाम्चेमा पर्यटकका क्यामराले ताक्दा–ताक्दा तिनका आँखा नै टट्याइसकेका हुनुपर्छ । ती कोपिला संवाद र तिनका उन्मुक्त हाँसोलाई त्यहीँ छाडेर म नाम्चेबजार निहाल्न माथि उक्लिएँ ।
बाटैमा २०/२५ जनाको जापानिज पर्यटकको समूह मेरा अगाडि देखा पर्यो । नाम्चे नियाल्न निस्केका यिनका आँखामा अजिबको खुसी दौडिरहेको स्पष्ट देखिन्थ्यो । म उक्त स्थानबाट अझ माथि उक्लेर पूरै बजार नियाल्न थाल्छु । रेस्टुरेन्ट र क्याफेहरूमा पर्यटक आनन्दले रमाइरहेका देखिन्छन् । बाहिरका गल्लीहरूमा पनि स्थानीयभन्दा विदेशी अनुहारकै बाहुल्यता देख्दा युरोपको कुनै ठाउँमा पुगेको अनुभूत हुन्छ ।
नाम्चेमा प्रत्येक शनिबार हाटबजार लाग्दो रहेछ । उक्त हाटमा व्यापार गर्न तिब्बती व्यापारी पनि यहाँ आउँदा रहेछन् । तराईतिर आइतबारे, मङ्गलबारे आदि हाटको नाम सुनेको हँु तर पहाड र हिमालतिर यस्तो हाट लाग्ने प्रचलन भने यहीँ आएर पहिलोचोटि सुन्दै छु । पूरै बजार घुमेर नाम्चेमाथिको अर्धचक्रपथ हँुदै पूर्ववत् स्थानमै आइपुग्छु । जहाँबाट कुङ्डे–लो हिमाल नाम्चेको पश्चिमपट्टिको आकाशमा झुण्डिएको देखिन्छ । नाम्चेबजारमा मनुवाको चहलपहल देखेर सायद कङ्डे–लो पनि गम खाँदो हो । विश्वभरका मनुवालाई आफ्नो काखमा पाएर आपूmलाई सौभाग्यशाली ठान्दो हो ।
नाम्चेको पूर्वपट्टिको स्थानमा तीन मजदुर दाजुभाइ भेटिए । तिनै बालबालिकाजस्तै यिनीहरू पनि मेन्जोमेन्जो पिएर मस्ती हाँसोमा रमाइरहेका थिए । तिनकै हाँसोका बीचमा बसेर मैले एउटा फोटो खिचेँ । फोटो खिचिदिन एक दुब्लो भाइ त्यहाँ आइपुगेको थियो । कक्षा १२ मा काठमाडौँमा पढ्दै गरेको त्यो भाइ बिदामा आफ्नो घर नाम्चे फर्केको रहेछ । एकै क्षणको भलाकुसारीमै हामी दुई आत्मीय भयौँ । मेरो आज खुमजुङमा बस्ने कुरा सुनेपछि माथि स्याङ्बोचेसम्म उनी मसँगै जाने भए । म पनि उनको साथ पाएर फुर्किएँ ।
हामी दुई भाइ गफैगफमा तीन हजार ७२० मिटरको उचाइमा अवस्थित स्याङ्बोचे विमानस्थलमा आइपुगेका थियौँ । यो विश्वकै उच्च स्थानमा अवस्थित विमानस्थल हो भनेर मैले पहिल्यै धेरैपल्ट सुनेको र पढेको थिएँ । यहाँ पुग्दा नाम्चेबजार ओझेल परिसकेको थियो । हामी स्याङ्बोचे कटेर अर्को विश्वकै कीर्तिमानी होटल एभरेस्ट भ्युप्वाइन्टतिर अघि बढ्दै थियौँ । हाम्रो आँखै अगाडि देखा प¥यो– आमादब्लम् हिमाल । यहाँबाट ल्हात्से हिमाल पनि देखिँदो रहेछ । यहीँबाट उत्तरतर्फ दुई डाँडाको बीचबाट खुमजुङ बस्ती हामीलाई नै चिहाएर हेर्दै थियो । मनोज भाइ र म यहीँबाट छट्टियौँ । म खुमजुङतिरको ओरालो झर्न थालेँ । तीन हजार ७९० मिटरमा अवस्थित खुमजुङ मेरा लागि यो रुटकै उच्च बासस्थान थियो ।
खुमजुङमा खुला चौर भएको हिलारी स्कुल र यसको देब्रेतिर हिलारी अस्पताल रहेछ । जुनबँेसी र फागदिनतिर पनि हिलारी नामका दुई विद्यालय भेटिएका थिए । त्यहीँ सामुन्नेको खुमजुङ होटलभित्र म प्रवेश गर्छु । किचनमा ठ्याक्कै मोनालिसाको रूप र सौन्दर्य भएकी साउनीले मलाई स्वागत गरिन् । मैले चिया पिउने कुरा गरेपछि उनले मलाई किचनमै डाकिन् । उनीसँग सामान्य संवाद गर्दै मैले चिया पिएँ । एकछिनपछि किचनभित्र दुई पुरुषको प्रवेश भयो । तीमध्येको एकले बेलाबेला सुनले मोडेको दाँत देखाइरह्यो । उनीहरूको मातृभाषाको संवाद सुन्दा ती दुवै होटल साहुनीका आफन्तका लाग्थे । केही समयपछि एउटा निस्केर गयो । सुनले दाँत मोडेको व्यक्ति केही क्षण मसँगै संवादमा रमायो । म होटलको डाइनिङभित्र छिर्दा दुई विदेशी कुनाको टेबलमा बसेर गफिँदै चिया पिउँदै थिए । म पनि अर्को कुनाको टेबलमा केही खाएर बस्ती चहार्न निस्किएँ । डाँडाको माथिल्लो भित्तासम्म चिटिक्क पारेर बनाइएका एउटै रङ र शैलीका नेपाली घर नै खुमजुङको आकर्षण थिए । म बस्तीका गल्लीहरू चहार्दै खुमजुङ गुम्बा पुगेँ । त्यहाँ कुनै धार्मिक अनुष्ठानको चहलपहल भइरहेको थियो । गुम्बाबाहिरको प्राङ्गणमा लामाहरू लामबद्ध बसेर खाजा खाइरहेका थिए । महिला भ्याइनभ्याई भित्र–बाहिर दौडिरहेका देखिन्थे ।
यो गुम्बामा यतीको हात राखिएको छ भनेर मैले आठ/१० वर्षपहिले नै डिस्कभरी च्यानलको एउटा खोजमूलक वृत्तचित्रमा हेरेको थिएँ । हुन त त्यो रहस्यमयी प्राणी छ कि छैन भन्ने कुरा अझ खोजकै विषय छ । उक्त यतीको भनिएको हात हेर्न म निकै बेर सम्बन्धित लामालाई कुरेर बसेँ । उनी बाहिर कतै गएका रहेछन् । पछि उनी हतारिँदै आएर मलाई, “कुइरे खोइ” भनेर सोधे । मैले जवाफमा, “म एक्लै हो” भनेँ । “ए त्यसो भए भोलि आउनु कुइरे नभई खोल्न मिल्दैन” भन्दै उनी पुनः बाहिरिए । आपूm नेपाली भएकोमा हेपिएको महसुस गरेँ मैले । कुइरे हँुदा गुम्बा खुल्ने तर नेपाली हँुदा खोल्न नमिल्ने अनौठो नियम लाग्यो मलाई । गुम्बाजस्तो पवित्र स्थानमा नि कतै डलरको व्यवसाय त चल्दै छैन ? यस्तै प्रश्न बल्झिरहे मनमा ।
होटलको डाइनिङभित्र छिर्दा उही पहिलेका दुई विदेशी भेटिए । उनीहरूसँग सामान्य चिनापर्ची भयो । लामो कपाल पालेको तन्नेरी हिलारी अस्पतालको डाक्टर रहेछ । अर्को साठी कटेको जस्तो लाग्ने अमेरिकी कृषि वैज्ञानिक रहेछ । उसले नेपालको कृषि अनुषन्धानमा धेरै वर्ष काम गरेको कुरा बतायो । यी दुवै हिमाल आरोहणका शौखिन रहेछन् । त्यो कृषिविज्ञले एभरेस्टलगायत नेपाल र अन्य देशका दर्जनौँ हिमाल आरोहण गरिसकेको बतायो । भोलि बिहानै ती दुवै चोला पिकको आरोहण गर्न जाँदै रहेछन् । उनीहरूको गाइडले नि मसँग धेरै बेर गफगाफ ग¥यो । ती दुई एकअर्कामा घण्टौँ संवाद गरिरहेका थिए । सायद त्यो संवादलाई भोलिको ऊर्जामा बदल्दै छन् । म सुत्न जाँदा नि उनीहरूको संवाद जारी थियो ।
कोठातिर सुत्न जाँदा पो थाहा भो होटलमा बत्ती पनि स्क्यानिङ सिस्टममा फिट रहेछन् । कतै बत्तीको स्विच छुनै नपर्ने । मान्छे जताजता गयो आफैँ बल्ने र पछाडि आफैँ निभ्दै जाने । एकछिन कतै उभियो बलिरहने । मान्छे चिन्ने बत्ती ! खुमजुङबाट सबेरै उठेर म तेङबोचेको बाटो लागेँ । बिहानीको झिसमिसेमा पुनः आमादब्लम मेरो मार्गको सामुन्ने चाँदीझैँ टल्किरहेकै थियो । हिमालसँगको निकटताले पनि हो कि यी मलाई सजीव र चेतनाका संवाहक लाग्न थालेका थिए ।
ठाडो उकालो चढ्दै गर्दा घामका किरणले चुम्दै गरेको तेङबोचे गुम्बाको छानो पूर्वमा टल्कियो । तेङबोचेकै दक्षिणतर्फ थामसेर्कु हिमाल आफ्नो आभा छर्दै थियो तर मोङ डाँडामा पुगेपछि पो थाहा भयो म त तेङबोचेको बाटो छोडेर चोला पासतर्फ लागेछु । मोङ डाँडाबाट दक्षिणतर्फको खोँचमा दूधकोसी सेतै दूध पोखिएझैँ देखियो । सायद यी सेता हिमालहरू आमाका स्तनहरू हुन्, जहाँबाट पोखिएर यी दूधका धारा आफ्ना सन्तानका मुख–मुखमा पु¥याउन आमा तल्लीन छन् । यही भाव बुझेर त हैन, कुनै महापुरुषले त्यो तेङबोचेमाथिको हिमालको नाम ‘आमा’दब्लम राखेको ? मोङ डाँडाको स्तूप भूकम्पले चर्किएर जीर्ण बनेको थियो । मोङ भञ्ज्याङबाट उत्तरतर्फ हिमाली शृङ्खलाहरू पूरै आकाशमा तैरिएका देखिन्थे । बिहानीको चियाको चुस्की लिन म एउटा होटलमा छिरेँ । रिसेप्सनमा नौ÷दस वर्षको एउटा केटो थियो । डाइनिङका चारै भित्तामा हिमालका फोटा सजाइएका थिए । त्यहीमध्येका एक भित्तामा सेतै कपाल फुलेका एक लामाको फोटो विशेष महìवका साथ सजाइएको थियो । उनको नाम साङ्गे दोर्जे रहेछ । धेरै वर्षपहिले ती लामा त्यहीँ तलको एउटा गुफामा तप गरेर बस्थे रे ! उनी हावामा तैरिएरै विभिन्न ठाउँमा पुग्थे रे ! उनको अद्भुत शक्ति थाहा पाएर तिब्बत र भारतदेखि उनलाई भेट्न लामा आउने गर्थे रे, भनेर होटलकी साहुनीले मलाई बताइन् । उनले ती लामाका बारेमा अनेकौँ रहस्य चिया पिउञ्जेल मलाई सुनाइरहिन् । आमाको धाराप्रवाह प्रवचन त्यो केटोले नि एक शब्द नबोली सुनिरह्यो । हिँड्ने बेलामा साहुनीले मलाई फोत्र्से हँुदै तेङबोचे पुग्ने बाटो देखाइदिइन् ।
करिब आधा घण्टा एकान्तको ओरालो झरेपछि जङ्गलमा चर्दै गरेका याक र चौँरीका गलामा झुण्डिएका घण्टीका आवाज सुनिन थाले । बीचबीचमा गोठाला र दाउराका भारी बोकेका महिला भेटिए । बाटोमा एउटा चौँरी गोठ पनि भटियो । तलको खोँचमा दूधकोसीको आवाज सुनिन्छ । दुई पहाडका बीचबाट उत्तरतर्फ हिमाली सौन्दर्य देखिन्छ । फलामे पुल टेक्दै गर्दा हिमालको चिसो वायु स्वाट्ट मेरो शरीर स्पर्श गर्दै भाग्छ । पारिपट्टि मलाई झुक्याउन पुनः दोबाटो देखा पर्छ । यी निर्जीव गोरेटाले मेरो चेतनाको द्वार खोलिदिएभैmँ लाग्छ, “तँ दिन प्रतिदिन खुम्चिँदै जान्छस्, म अनन्त फैलँदै जान्छु । तँ हराउने डरले खुम्चिन्छस्, म खुम्चिने डरले फैलिन्छु ।” म अन्दाजमै ती दुईमध्ये दक्षिणको बाटो समात्छु ।जङ्गलमा रुख पातलिँदै गएपछि फोत्र्से पुग्न लागेको सङ्केत मिल्छ । बाटो बिराएर टेक्न पाएको फोत्र्से बस्ती नजिकबाट झनै सुन्दर लाग्छ । फराकिला बाटा र चिटिक्क परेका हरिया रङका घर नै यो बस्तीका आकर्षण थिए । बस्तीको मध्य भागमा आइपुग्दा पश्चिममा स्याङबोचे डाँडो र त्यसको पृष्ठभूमिमा उही कुङ्डे–लो हिमाल हाँसिरहेको देखिन्छ । दक्षिणतर्फ आमादब्लम, थामसेर्कु र त्यसको फेदमा तेङबोचे गुम्बा मलाई नै पर्खिरहेझैँ लाग्छ । माथिको बाटोबाट तल झर्दै गरेका दुई स्थानीयमध्येका एकले मलाई तेङबोचे पुग्ने बाटो देखाइदिन्छन् ।
केही क्षण ओरालो झरेपछि बाटो सिधै तलको नदीमा ड्राइभ हानुलाझैँ गरेर भीरतिरै हराउँछ । बलौटे गेगरले बनेको यो भीरको बाटो देखेर गोडा लगलग काम्न थाल्छन् । जुत्ता अलिकति चिप्लिए मात्र शरीर कहाँ पुग्ने हो पत्तो छैन । यात्राका क्रममा सबथोक भुलेको मैले बल्ल पो घरपरिवार सम्झँदै छु । अलिकति चिप्लिएँ भने घरपरिवारसम्म मेरो खबर कसले पु-याइदेला ! डरले पूरै भीर नै हल्लिएभैmँ लाग्छ । म चार पाउ टेकेर पछाडि सर्दै पाइला सार्छु । अलि तल पुगेपछि मैले बल्ल प्रथम पटक सास फेरेझैँ लाग्यो । तल खोलाको एक तमासको सुसेलीबाहेक कुनै प्राणी कतै देखिएनन् । त्यो भीरको बाटो कटिसक्दा पनि मेरो अनुहार डरले खुम्चिएर डल्लिएको थियो । शरीर कामिरहेकै थियो । म आपूmलाई धन्य सम्झिएर बाटैमा थच्च बस्दै त्यो बाटो नियालेँ तर बाटो पुनः गायब थियो । त्यो ठाडो भीरमा तलबाट हेर्दा कहाँ देखियोस् त्यो भीरमा घुमेको एक पाइले बाटोको स्वरूप !
यो भीर र बाटोले पो मलाई जीवनको वास्तविकता बुझाए । साँच्चै कति महìवको रहेछ यो शरीर । यसलाई यस्तै खतराबाट बचाउँदै सम्हाल्न सकियो भने मात्र सायद यसले असङ्ख्य कर्तव्य पूरा गर्न सक्ला । “तँ छस् र त यो प्रकृतिको महìव छ । यदि तँ नै छैनस् भने यो ढुङ्गा, माटो, रुख, नदी, हिमाल कसका लागि ? आखिर मानिस भन्नु नै तेरै कर्म त रहेछ ।”
खुम्बु हिमनदी पग्लिएर बनेको दूधकोसी मेरो छेवैमा छचल्किरहेको थियो । दूधकुण्डबाट बहेको दूधकोसी मोङ र फोत्र्सेकै बीचको खोँचमा छोडेर आएको थिएँ । मेरो सामुन्ने भग्नावशेषमा परिणत भइसकेको घरका झ्याल, ढोका र ढुङ्गाहरू छरिएका छन् । तिनै भग्नावशेषका अवशेषमा टेक्दै नदीतिर अघि बढ्छु । नदीमाथि रुख तेस्र्याएर बनाइएको फड्के देखिन्छ । दूधकोसीको सेतो पानीले मलाई नजिक तान्छ । मलाई अचानक त्यो चिसो दुग्धधारामा डुब्न मन लाग्छ । सामुन्नेको फड्के टेकेर पारिपट्टिको चट्टानमा पुग्छु । एकान्त जङ्गलको त्यो शान्त स्थलमा शरीर निर्वस्त्र हुन्छ । चट्टानहरूमा नाङ्गा पैताला टेक्दै दुग्धधारामा चुर्लुम्म डुब्छु । चिसो पानीले कोष–कोषमा जमेको डर र मैलो कोट्याएर फ्यालेभैmँ बाहिर निस्कँदा शरीर पूmलको थुङ्गोभैmँ लाग्छ । आखिर मानव शरीर न हो, चिसोले कठ्याङ्ग्रिएर काम्न थाल्छ । लुगाफाटो पहिरिएर झोलीतुम्ली बोक्छु । मानौँ म जोगी भइसकेको छु । लोभ–लालचहरू हराउँदै गएको महसुस गर्छु । म जङ्गलको बाटो समात्छु । जङ्गलका रुख, पातहरूसमेत मसँग संवाद गर्न आएझैँ लाग्छ । र, हामी एकअर्कासँग दृष्टि संवादमा लीन हुन्छौँ ।
यहाँ पुनः बाटो जङ्गलमै हराएपछि म रनभुल्लमा पर्छु । चारैतर्पm जङ्गल चहारेपछि बल्ल बाटो फेला पर्छ । चराका चिर्रबिर्र गीत सुनिन थाल्छन् । यस्ता चिर्रबिरे जन्तुमा पनि मानवलाई तान्ने ध्वनिमन्त्र भएको देख्दा सृष्टिको रचना अजीव लाग्छ ।
बीचबीचमा बस्दै म ठाडो उकालो चढ्छु । नदीनिर्मित खोँच फराकिँदै जान्छ । गल्छीको फैलावटले नदीको विगत झल्काउँछ । उत्पत्ति कालमा नदी फैलनु र मध्यकालमा गहिरिँदै जानु भौगर्भिक नियम नै हो । जुन यहाँ स्पष्ट देखिन्छ । माथिबाट मानिसका आवाजहरू कानमा ठोक्किन आइपुग्छन् । म जङ्गलबाट बाहिरिन्छु । मेरो सामुन्ने तेङबोचे गुम्बा देखा पर्छ । गुम्बाको पछाडिबाट उक्लिएर म भित्र पस्छु । तीन भिक्षु मलाई अनौठो दृष्टिले हेर्छन् । केही क्षण हामी संवादमा जोडिन्छौँ र छुट्छौँ । तेङबोचेको त्यो स्वरूप फोटोमा देखेभन्दा भव्य लाग्छ । गुम्बाबाहिर एक लामाले मेरो फोटो खिचिदिन्छन् र भन्छन्, “अब एभरेस्टतिर पनि एउटा खिच्नुहोस् ।” ओ माइगड ! तेङबोचे सामुन्ने सगरमाथा अघिदेखि मलाई नै हेरिरहेको रहेछ । मेरा दृष्टिभन्दा पहिले मेरो क्यामराको लेन्सले पो सगरमाथाको दृश्य ती लामाले खिचिक्क पारिसकेछन् । त्यसपछि बल्ल मेरा दृष्टि ठोक्किए सगरमाथासँग । तेङबोचेबाहिरको खुला प्राङ्गणमा दर्जनौँ पर्यटक चिम्सा आँखा पारेर टोलाइरहेका देखिन्छन् त्यो रहस्यमयी चुचुरोतर्पm ।
भारी लादिएका चौँरीको एक डफ्फा धुलो उडाउँदै उही चुचुरालाई ताकेर तल झर्दैछन् । यी प्राणीलाई देख्दा लाग्छ, सगरमाथाको गौरवगाथा जोगाउन यिनको पनि महìवपूर्ण योगदान छ । सगरमाथा हेर्न आउने पर्यटकको सास धान्न यी आफ्ना पिठ्यँुमा रासनपानी बोकेर आफ्नो कर्तव्य पूरा गर्दैछन् । सायद सगरमाथाले यहाँ सबैलाई आ–आफ्नो कर्तव्यबोध सिकाएको छ । मेरा आँखा भने घण्टौँसम्म त्यही रहस्यमयी टाकुरामा टोलाइरहन्छन् ।