• ८ मंसिर २०८१, शनिबार

सत्ता गठबन्धन बैठक

सिट बाँडफाँटको साझा अवधारणा बनाउने जिम्मा कार्यदललाई

blog

सत्ता गठबन्धनको बैठकपछि पत्रकारसँग कुरा गर्नुहुँदै सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ।

काठमाडौं, भदौ ३ गते । सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि साझा अवधारणा बनाउने जिम्मेवारी कार्यदललाई प्रदान गर्ने निर्णय गरेको छ। कार्यदलका सदस्य एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बालुवाटारमा बसेको गठबन्धनको शीर्ष नेताको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो। 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “शीर्ष तहका नेतालाई कार्यदलले सम्पादन गरेको कार्य विवरण बुझायो, यसबारे छलफल भएको छ। नेतालाई चाँडै कार्य सम्पादन गरेर अगाडि जाने निर्देशन भएको छ। साथै, साझा अवधारणा बनाउने जिम्मेवारी पनि कार्यदलका नेतालाई प्रदान भएको छ।”

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा शीर्ष नेताले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट लगायतका कार्य चाँडै सम्पादन एवम् सम्पन्न गर्न निर्देशन भएको उहाँको भनाइ छ। 

आजको बैठकमा कार्यदलले अहिलेसम्मको बैठकमा भएका सबै छलफल एवम् गतिविधि र यसका आधारको विवरण शीर्ष नेतालाई बुझाएको छ। मन्त्री कार्कीले भन्नुभयो, “जे आधार तयार गरेका छौं, ती आधार शीर्षस्थ नेतालाई बुझायौं। सिट संख्याबारे चाँडोभन्दा चाँडो सम्पन्न गरेर सार्वजनिक गर्छौं।” यस सम्बन्धमा गठबन्धनको बैठक निष्कर्षमा पुग्ने बाटोमा अघि बढेको उहाँको भनाइ छ। 

उहाँले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य दुवै निर्वाचनको छलफल सँगसँगै अगाडि बढेको बताउनुभयो। यसअघिको कार्यदल बैठकमा आगामी निर्वाचनका लागि २०७४ को समानुपातिक मतपरिणाम र गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन मतपरिणामलाई आधार मान्ने सहमति जुटेको थियो।

बैठकमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको सहभागीता थियो।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।