सन्तोष राउत
सोलुखुम्बु, भदौ ३ गते । ‘अफ सिजन’मा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या यस वर्ष वृद्धि भएको छ । विगतका वर्षहरुमा भन्दा यस वर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढेको रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय, नाम्चे सोलुखुम्बुले जनाएको छ ।
गत वर्ष यही समयमा दैनिक २/३ जना मात्र विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्ववारिका अछामीका अनुसार अहिले दैनिक रुपमा तीन वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकप्टरहरुले दैनिक दुई दर्जन भन्दा बढी उडान गर्ने गरेका छन् ।
खुम्बुमा विशेष गरी वर्षको दुई सिजनमा पर्यटकको चाप हुने गर्दछ । ‘स्प्रिङ’ सिजनका रुपमा वैशाख, जेठ, असार र असोज, कात्तिक, मङ्सिरलाई मुख्य पर्यटकीय सिजनका रुपमा मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ ।
तर यस वर्ष भने सिजन सकिएपछि पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । कोरोना कहरका कारण लगातार दुई वर्षसम्म भ्रमणमा निस्कन नपाएका विदेशी पर्यटक अहिले आउने क्रम बढेको हो ।