• १३ साउन २०८१, आइतबार

पिताको सम्झनामा वडा कार्यालय भवन बनाउन जग्गादान

blog

जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरको सभाकक्षमा जमिन दान गर्ने कार्यक्रममा

रौतहट समाचारदाता

रौतहट, भदौ २ गते । चन्द्रपुर नगरपालिका–६ निवासी यादवराज पुरीले वडा कार्यालय भवन निर्माणार्थ डेढ कठ्ठा जमिन दान गर्नुभएको छ । बिहीबार जनज्योति माध्यमिक विद्यालय चन्द्रनिगाहपुरको सभाकक्षमा भएको वडा भेला कार्यक्रममा मन्तव्य राख्दै उहाँले उहाँका दिवंगत पिता लालबहादुर पुरीको सम्झनामा कित्ता नम्बर १५३१ को डेढ कठ्ठा क्षेत्रफलको जमिन दान गर्नुभएको हो । 

चन्द्रपुर नगरपालिकाको ‘रिंग रोड’ र मोथियाही रोडले छोएको उक्त जमिन वडा नम्बर ६ को कार्यालय भवन निर्माण गर्न दान गर्नुभएपछि वडावासी हर्षित भएका छन् । सो जग्गाका मूल्य एक करोड रुपियाँ बराबरका हुन आउने बताइएको छ ।

वडा अध्यक्ष सहदेव केसीले उक्त जमिनमा यथाशिघ्र कार्यालय भवन निर्माणको प्रक्रिया अगाडि बढाउने बताउनुभयो । उहाँका पिताको गत साउन १४ गते असमायिक निधन भएको थियो ।

(दाता पुरी गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकाको रौतहट समाचारदाता हुनुहुन्छ ।)