• १३ साउन २०८१, आइतबार

फेरि आउने भयो ‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम

blog

भारतीय पर्यटकलाई स्वागत गर्नुहुँदै जनकपुर उपमहानगरपालिका प्रमुख मनोज साह । फाइल तस्बिर

धीरेन्द्रप्रसाद साह 

जनकपुर, भदौ १ गते । एक वर्षपछि ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल फेरि जनकपुरधाम आउन लागेको छ । गत वर्ष असार ९ गते उक्त रेल ४९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । सो रेलमा १४ वटा डिब्बाहरु थिए । रेलको दुईवटा डिब्बामा योगसम्बन्धी तस्बिर कोरिएका थिए । रेलका बोगीका बाहिरी भागमा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायतका बहुरुपी झल्किने गरी चित्र सामग्री पनि राखिएका थिए ।  

त्यतिबेला भारतको सङ्घीय राजधानी नयाँदिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय सहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै जना धार्मिक पर्यटकहरु थिए । प्याकेजमा आएका पर्यटकहरुको होटल, लज, धर्मशालालगायत आवास र भोजनको व्यवस्थापन उनीहरुले नै मिलाएका थिए । 

सोही रेल त्यसरी नै यहीँ भदौ ११ गते साँझ ६ः३० बजेको समयमा जनकपुरधाममा फेरि आउन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जनकुमार झाले जानकारी दिनुभयो । यहाँ आउन लागेको सो रेलमा यात्रा गर्नुहुने धार्मिक यात्रीहरुको बुकिङ्ग भइरहेको उहाँले बताउनुभयो । बुकिङ्ग पूरा भइसकेपछि मात्र यात्रु सङ्ख्या यकिन हुने उहाँले भन्नुभयो ।

रामायण सर्किटसँग सम्बन्धित अयोध्या, नन्दिग्राम, सीतामढी, बनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम् र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोड्न २०७८ असारमा आइपुगेको धार्मिक यात्रीको यात्रालाई निरन्तरता दिन आफूले पहल गरेपछि ‘भारत गौरव पर्यटक रेल’ फेरि आउने निश्चित भएको महाप्रबन्धक झाले बताउनुभयो । 

अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रुपमा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले नेपालमा यो दोस्रो पटक आउन लागेको हो । यहाँ आइसकेपछि धार्मिक पर्यटकहरु जनकपुरधामस्थित जानकी मन्दिर, गंगा आरती, धनुषाधाम, मनीमण्डप, संकटमोचनलगायत धार्मिक स्थलहरुको दर्शन गर्नुहुने महाप्रबन्धक झाले भन्नुभयो, पहिलो पटक जसरी ‘भारत गौरव पर्यटक रेल’ मा भारतीय धार्मिक यात्रुहरु आएर धार्मिक लाभ लिनुभएको थियो, त्यसरी नै यसपटक पनि आउनुहुन्छ ।