• ११ असार २०८१, मङ्गलबार

चिनियाँ नाका बन्द हुँदा आयातमा असर

blog

काठमाडौं, भदाै १ गते । चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ । चीनले विना जानकारी एक्कासि नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरु सीमा पारी नै रोकिएका छन् ।

चीनमा कोरोना सङ्क्रमण बढेको भनी सीमा नाकाबाट आवतजावत बन्द गरेको हुनसक्ने दुवै भन्सार कार्यालयका प्रमुखको आँकलन छ । विना जानकारी नाका बन्द हुँदा नाका कहिले खुल्छ आधिकारिक जानकारी नआएको उहाँहरुको भनाइ छ । गत सातादेखि चिनियाँ पक्षले कारोनाको बहाना बनाएर मुख्य व्यापारिक नाकाहरु बन्द गरेको थियो ।

लामो समय नाका बन्द रहे दशैँ र तिहारका लागि ल्याइएका सामानहरु नाकामै अड्कने र बजारमा उपभोग्य सामग्रीको मूल्य आकाशिने आँकलन गरिएको छ । समयमै नाका सुचारु नभए नेपाली बजारमा सामानको अभाव सिर्जना हुनुका साथै मूल्यवृद्धि पनि हुनसक्ने तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले बताउनुभयो ।

‘नजिकिँदै गरेको तीज, दशैँ र तिहारजस्ता चाडपर्वका लागि भित्रिने सामानहरु ल्याउन नसक्दा एकातिर अभाव झेल्नुपर्ने र अर्कोतर्फ मूल्य बढ्ने सम्भावना रहन्छ’ प्रमुख गौतमले भन्नुभयो, ‘हरेक वर्ष दशैँ तिहारमा लत्ताकपडाको माग उच्च हुने गरेको छ । आपूर्ति हुन नसक्दा सामान महँगिन सक्छ ।’ विशेषगरी उत्तरी नाकाबाट लत्ताकपडा, फलफुल र इलेक्ट्रिक सामानहरु भित्रिने गरेका छन ।

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालको व्यापार भारतपछि सबैभन्दा धेरै चीनसँग छ । नेपालबाट सामान निर्यातमा भने चीनले पूर्णरुपमा रोक लगाएको छ । सङ्क्रमणको जोखिम कायमै रहेको बहानामा निर्यात शून्य छ भने आयात गरिने सामानमा पनि कहिले खोल्ने र बन्द गर्दै आएको छ ।

सो विषयमा नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूतावासमार्फत नाका खोल्न पत्राचार गर्दा समेत चीनले बेवास्ता गरेको गौतमको भनाइ छ । तातोपानी भन्सार कार्यालय प्रमुख गौतमले चिनियाँ क्षेत्रमा कोभिड बढिरहेको भन्दै गत सातादेखि नाका बन्द गरिएको अनौपचारिक जानकारी प्राप्त भएको बताउनुभयो । ‘चीनतर्फ कोभिड बढेर सामान र आवतजावत पूर्णरुपमा रोक लगाएको छ ।

कहिलेसम्मका लागि हो भन्ने केही औपचारिक जानकारी आएको छैन,’ उहाँले भन्नुभयो, ‘चीनका मुख्य नाकाबाट आयात गरिने सामानमा असर पुगेको छ ।’ यसैगरी, अर्को नाका रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीेले औपचारिक जानकारी विना चीनले सामान आयात ठप्प पार्दा बजारमा मूल्यवृद्धि हुने कुरा नकार्न नसकिने बताउनुभयो । ‘हालसम्म औपचारिक जानकारी त आएको छैन, तर सामान आयात भने बन्दछ ।

कोभिडको सङ्क्रमण फैलिएकाले आवतजावत बन्द गरेको चीनस्थित नेपालको महावाणिज्यदूतको कार्यालयले जनाएको छ’ उहाँले भन्नुभयो । आयात ठप्प हुँदा सामानको अभाव र महँगो मूल्य तिरेर उपभोक्ताले सामग्री खरिद गर्नुपर्ने अवस्था सिर्जना पनि हुनसक्ने उहाँले बताउनुभयो । अहिलेको नाकाबन्दी लामो अवधिसम्म कायम रहे दशैँ तिहारमा उच्च माग हुने लत्ताकपडालगायतका सामानको अभाव हुने व्यापारीहरु बताउँछन् ।

गत वर्षको दशैँ तिहारमा पनि नाकाबन्दीका कारण मागअनुसार सामान भित्रिन नसक्दा उपभोक्ताहरुले अभाव र महँगी खेप्नुपरेको थियो । यी नाकाबाट नेपाल भित्रिने सामानका कन्टेनरहरू चिनियाँ क्षेत्रमै अड्किएको व्यापारीहरूको गुनासो छ । जसको कारण एकातिर सामानको अभाव र अर्कोतर्फ आयातका लागि लागत बढ्दा सामान महँगो हुने उहाँहरुको भनाइ छ ।

विवेक इम्पोरियमका प्रोप्राइटर गणेश कट्टेल लामो अवधिसम्म उत्तरी नाका बन्द भएमा दशैँ तिहारका लागि ल्याइने सामान अभाव हुनुका साथै महँगिने बताउनुभयो । ‘नाका बन्द भएपछि सामान केही आएको छैन, ल्हासाबाटै सामान नपठाएको भन्ने सुन्नमा आएको छ । लामो अवधिसम्म यस्तै अवस्था रहेमा दशैँमा आउने लत्ताकपडालगायत अन्य सामानको मूल्य बढ्ने देखिन्छ’ उहाँले भन्नुभयो । सरकारले नाका खोलेर आयातलाई सहज बनाउन भूमिका खेल्नुपर्ने कट्टेलले सुझाव दिनुभयो ।

राज्यलाई राजस्व पनि गुम्ने र उपभोक्ताई पनि यसको प्रत्यक्ष असर पर्ने देखिएकाले सरकारले नाका खुलाउन चीनसँग तत्काल पहल गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘नाका बन्द हुँदा राज्यको राजस्व पनि गुमिरहेको छ । यसकाे प्रत्यक्ष मार आम उपभोक्तालाई भइरहेको छ, त्यसैले सरकार नाका खुलाउन पहलमा लाग्नुपर्छ ।’

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।