राजु लामिछाने
रुकुम पश्चिम, साउन ३१ गते । सशस्त्र द्वन्द्वको समयमा विस्थापित भई जागिर गुमाएका रुकुम पश्चिमका पाँच जना शिक्षक पुनर्बहाली हुनुभएको छ । सोमबार शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमले उहाँहरुलाई पुनर्बहाली गरेर नियुक्ति पत्र प्रदान गरेको हो ।
शिक्षा विकास तथा समन्वय इकाईका अनुसार पुनर्बहालीको पत्र बुझेर पाँच जना शिक्षकहरु दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन जानुभएको छ । इकाई प्रमुख तारा प्रकाश पुनका अनुसार ओमप्रकाश बिसी, रामबहादुर बुढामगर, जीतबहादुर शाह, मधुसुदन अधिकारी र नगरबहादुर खड्कालाई पुनर्बहाली गरिएको हो । पुनर्बहाली हुने पाँचै जना शिक्षकहरू प्राथमिक तहको दरबन्दीमा रहेको कार्यालयले जनाएको छ ।
सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षमा गठित कार्यदलले २०७३ मङ्सिरमा दिएको प्रतिवेदनअनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।
शिक्षकहरूले विद्यालयमा हाजिर भएको मितिदेखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइएको मितिदेखि पुनर्बहाली भई हाजिर नहुञ्जेलको अवधिको तलब भत्ता, विदा, पोसाक, चाडपर्व खर्चलगायतका सुविधा नदिने निर्णय गरेको थियो ।