• १८ असार २०८१, मङ्गलबार

पैदलयात्री मैत्री सहर बनाउँदै कामनपा

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ३१ गते । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले, पैदल मार्गलाई यात्रीमैत्री बनाउन सडक अतिक्रमण विरुद्ध सचेतना अभियान थालेको छ । अभियानमा सडक अतिक्रमण गरेर अनौपचारिक रुपमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई उहाँहरुका कारण पैदल यात्रामा उत्पन्न हुने कठिनाइ, यात्रुले सडकबाट हिँड्नुपर्ने बाध्यता र यसले निम्त्याउने सम्भावित दुर्घटनाका विषयमा सम्झाई बुझाई गरेर अनधिकृत व्यापार नगर्न आग्रह गर्ने गरिएको छ ।

यससँगै औपचारिक रुपमा व्यापार गर्नेहरुलाई सामान सडकमा ननिकाल्न, ठाउँ बढाउन थप संरचना नबनाउन, त्रिपाललगायत सामान छोप्ने वस्तु राखेर सुन्दरता नबिगार्न अनुरोध गर्ने गरिएको छ । ‘‘अहिले हामीले बानेश्वर र बालाजु माछापोखरी क्षेत्रमा यसप्रकारको अभियान थालेका छौँ ।’’ महानगर प्रहरी बलका प्रमुख धनपति सापकोटा भन्नुहुन्छ, ‘‘अव्यवस्थित व्यापारले सहरी सुन्दरता बिगार्छ, यसप्रकारको व्यवसाय सरकारसँग जिम्मेवार देखिँदैन । त्यसैले अनौपचारिक व्यापारलाई औचपरिक बनाउनोस् । महानगरलाई सहयोग गर्नोस् भन्ने सन्देश दिने उद्देश्यले अभियान थालिएको हो ।’’


अभियानमा नगर प्रहरीसँगै दैनिक ३० जनादेखि ५० जनासम्म स्वयंसेवक परिचालन गर्ने गरिएको छ । अभियानले बानेश्वर क्षेत्रमा पारेको प्रभावका बारेमा जानकारी दिँदै नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई भन्नुहुन्छ, ‘‘फुटपाथमा गरिने व्यापार सामाजिक समस्या भएकाले समाधानका लागि थालिएको सामूहिक प्रयासबाट अनधिकृत व्यापारमा कमी आएको छ । हामी पार्किङ् प्रयोजनका लागि निर्माण गरिएका तर अन्य प्रयोगमा ल्याइएका ठाउँ पहिचान गर्दैछौँ ।

यसबाट पार्किङ् समस्या समाधान हुनेछ ।’’ नयाँ बानेश्वर चोकदेखि शङ्खमूल, पुरानो बानेश्वर, मीनभवनसम्मको क्षेत्रलाई अनौपचारिक व्यापार निषेधित क्षेत्र बनाइएको नगर प्रहरी निरीक्षक भट्टराईको भनाइ छ । यस अभियानमा नेपाल प्रहरी ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, घर धनी, स्थानीय व्यापार व्यवसायी सङ्घ, स्कुले विद्यार्थी, स्थानीय सङ्घ संस्था, क्लब, आमा समूह, महिला समूह, महिला स्वास्थ्य स्वय्मसेविका, सामाजिक अभियन्ताजस्ता सरोकारवालालाई सहभागी गराइएको छ ।  

‘भित्री सहरी क्षेत्रका असन, इन्द्रचोक, महाबाैद्धलगायतका क्षेत्रका सडकमा भएको अवरोध हटाउन हामीले जनप्रतिनिधिको साथमा अभियान चलाइरहेका छौँ ।’ नगर प्रहरी नायब निरीक्षक लोकनाथ चुडाल भन्नुहुन्छ, ‘सडक अवरोध हटाउन स्थानीय टोल सुधार समिति, उपभोक्ता समितिहरुबाट अनुरोध पनि आउने गरेको छ ।


यसरी आउने मागलाई उहाँहरुसँगै समन्वय गरेर, व्यापारीहरुलाई सम्झाउने, माइकिङ् गरेर अनौपरिक व्यापारलाई निरुत्साहन गर्ने, औपचारिक व्यापारीले गरेका त्रुटीहरुलाई सच्याउन अनुरोध गर्ने गरिरहेका छौँ ।’ उहाँकाअनुसार तरकारी विक्री गर्ने ठाउँका रुपमा प्रयोग हुँदै आएका ठाउँहरुलाई बिहान ८ बजेसम्म मात्र राख्न दिने गरिएको छ । 

अभियानमा बल प्रयोग गरिँदैन । समुदायको सहभागितामा सचेतना कार्यक्रमसँगै सडकपेटी अतिक्रमण नियन्त्रण, सहरी सुव्यवस्था सम्बन्धी काम, सरसफाइ, ट्राफिक नियन्त्रणजस्ता कामलाई सँगसँगै गरिन्छ ।

यस्तै, दृश्य प्रदूषण नियन्त्रण, पार्किङ्गस्थलको व्यवस्थापन, साईकल तथा गाडा नियन्त्रण, पसल कवल बाहिर र सेडब्याकमा रहेको पसलको व्यवस्थापन, सडकपेटी मर्मत, बार र ट्रिगार्डको व्यवस्थापन, रुखको ट्रिमिङ्ग, अव्यवस्थित तार व्यवस्थापनका काम हुने गरेका छन् ।