• १८ असार २०८१, मङ्गलबार

एउटा परिवारको जग्गा अर्को परिवारमा अंशबण्डा

blog

नवराज कट्टेल

विराटनगर, साउन ३० गते । विराटनगर–७  का मनिस रौनियारले आठ वर्ष अगाडि आमा गायत्रीदेवीको नाममा रहेको जग्गा लुम्बिनी बैंकमा धितो राखेर व्यवसायीक ऋण लिनुभयो । कटहरी–२ (ख) को कित्ता नम्बर ३३, सिट नम्बर १७८–०७४५ मा २ कठ्ठा ८ धुर जग्गा रौनियारले बैंकमा राख्नु भएको थियो । 

बैंकमा राखेको धितो जग्गाको वर्षेनी भूमि कर बुझाउँदै आएको उहाँले दाबी गर्नुभयो । चालु आर्थिक वर्षमा पनि बुझाउनुभयो । आफ्नो जग्गा राखेर व्यावसायिक ऋण लिएर कारोबार गरिरहनु भएका उहाँलाई खासै वास्ता पनि भएन । 

तर, साविक विराटनगर उपमहानगरपालिका–९ का वैजनाथ भगतको घरपरिवारमा जग्गा अंशबण्डाको मुद्दा चल्यो । उच्च अदालतको फैसला अनुसार भगत परिवारमा अंशबण्डा पनि भयो । अंशबण्डामा भने मालपोत र नापी कार्यालयले रौनियारको नाममा भएको जग्गा अंशबण्डाका लागि नापजाँच गरिदियो । त्यसै अनुसारको पूर्जा बनाई दिएको खुलेको छ । 

जानकीदेवी भगतको नामबाट छोरा अनमोल भगतको नाममा त्यहीँ जग्गा मालपोत र नापीले नाँपजाँच र कित्ताकाट गरिदिएको हो । 

जग्गाको लालपूर्जा बैंकमा छ, वर्षेनी कर बुझाउँदै आउनु भएका रौनियार त्यसबेला झसङ्ग हुनुभयो, जग्गा कित्ताकाट भएर अर्कैको नाममा रजिष्ट्रेसन भइसकेको थियो । साविक ४६० नम्बर कित्ताको जग्गा हाल साविक गरेर ३३ नम्बर कित्तामा ल्याइएको थियो । 

उक्त जग्गा २०७८ भदौ ३० गते ४२७७, ४२७८ र ४२७९ कित्तामा परिणत भएको मालपोतको ढड्डामा देखिन्छ । जसमध्ये ४२७७ कित्ता नम्बरको १२ धुर जग्गा अनमोल भगतको नाममा दर्ता गरिएको छ । अन्य दुई कित्ता बाँकीमा देखाइएको छ, विवरण छैन । 

अहिले एउटै कित्ता नम्बरको जग्गामा दुई परिवार जोडिएका छन् । एकले अर्को परिवारलाई चिन्दैन । मालपोत कार्यालय विराटनगरका प्रमुख लोकबहादुर भण्डारीले मालपोतमा यथावत रहेको रौनियारको जग्गा नापीले फरक पारेको दाबी गर्नुभयो । 

भुलचुकमा यस्तो भएको भन्दै अब जग्गाका मूल हकवाला रौनियार परिवारले नापी फरक पर्न गएकाले सच्याउन माग गर्नुपर्ने भण्डारीको भनाइ छ । 

अदालतमा मुद्दा फैसला भएर भगत परिवारमा बाँडफाँड भएको जग्गा कहाँ छ भन्ने यकिन गर्न मालपोत र नापी कार्यालयका कर्मचारी चुक्दा रौनियार परिवारमा तनाव सिर्जना भएको छ । 

जग्गाका मुख्य हकवाला मनिस रौनियारले सेवाग्राहीलाई अनावश्यक दुःख दिने नियत राखेर सेवाप्रदायक कार्यालयका कर्मचारीले यस्तो काम गरेको गुनासो गर्नुभयो । आफ्नो परिवारको नाममा रहेको जग्गा अर्को परिवारसम्म पु¥याउने कर्मचारीलाई कारबाही हुनुपर्ने माग गरिएको छ । 

मालपोत कार्यालय विराटनगरका प्रमुख भण्डारीले एउटै जग्गा दोहोरो स्रेस्तामा देखिएकाले मूल हकवालाले सच्याउन सक्ने बताउनुहुन्छ । तर, मुद्दा लडेर प्राप्त गरेको भगत परिवारको जग्गाको यकिन पुनः गर्नुपर्ने उहाँको भनाइ छ ।