• १३ साउन २०८१, आइतबार

नगरप्रमुखसहित जनश्रमदान गरेर सडक पुनर्निर्माण

blog

जनश्रमदान गर्दै नगरप्रमुखसहित स्थानीय । तस्बिर – जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन २८ गते । सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) जनश्रमदानको काममा आफैँ खटिन थाल्नुभएको छ । 

उहाँ केही दिनदेखि सडकमा दुर्घटना गराउने जोखिम रहेका ढुङ्गा टिप्ने, बाढीले बिगारेको सडक पुनर्निर्माण गर्ने जस्ता काममा सरिक हुन थाल्नुभएको हो । शनिबार बिहान मात्रै नगरप्रमुख बुढाथोकीकै अगुवाईमा हरिवन नगरपालिका–८, फेदीमा कैलाशपुरी खोलाले बगाएको सडक पुनर्निर्माण गरिएको छ । 

हरिवनदेखि सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकास्थित क्यानेश्वरतर्फ जाने सडक वर्र्षामा बाढी आएर बिगारेकोमा नगरप्रमुख बुढाथोकी, नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ता र स्थानीयवासी समेतको उपस्थितिमा ढुङ्गा बिच्छयाएर पुनर्निर्माण गरिएको हो । झण्डै ४० मिटर सडक पुनर्निर्माण गरिएको स्थानीयले बताएका छन् । 

नगरप्रमुख बुढाथोकी, माओवादी केन्द्रका केन्द्रीय सदस्य माया बलसहित ४० जना भन्दा बढी स्थानीय दुई घण्टा श्रमदानमा खटिनुभएको थियो । माओवादी केन्द्र सर्लाहीको संयोजक समेत रहनुभएका नगरप्रमुख बुढाथोकीले आवश्यकता अनुसार अब यसैगरी साप्ताहिक रुपमा जनश्रमदानको काम गर्दै जाने बताउनुभएको छ । 

नगरप्रमुख बुढाथोकी यसअघि हरिवन बजार क्षेत्रमा सवारी दुर्घटना हुने गरी सडकमा रहेका ढुङ्गो टिप्ने काममा खटिनुभएको थियो । स्थानीयका अनुसार शनिबार दुई घण्टा जनश्रमदान गरेर ढुङ्गा बिच्छयाइएको फेदीस्थित कैलाशपुरी खोलामा अहिलेसम्म पुल बन्न सकेको छैन । 

हरिवनबाट क्यानेश्वर जोड्ने करिव १५ किलोमिटर सडक वर्र्षायाममा बाढी आउँदा बन्द जस्तै हुने गरेको छ । दुई दशक अघि नै निर्माण भएको उक्त ग्रामीण सडक स्तरोन्नति नहुँदा हरिवन बजारसम्म आउजाउ गर्नुपर्ने क्यानेश्वर क्षेत्रका स्थानीयले सास्ती खेप्दै आएका छन् ।