• ७ मंसिर २०८१, शुक्रबार

सन्तान (कविता)

blog

कोखका घाउहरू चटक्कै भुलेर

सुदूर भविष्यसम्म

उज्यालो खोज्दै

मनको दियो हृदयभरि बालेर

हिँडिरहिछिन् आमा

जिन्दगीका कन्दराहरूमा ।

टाँसेर छातीमा

चुसाएर छाती

स्नेहको न्यानो भुवाले

छपक्कै छोपेर मुटुको टुक्रालाई

जिन्दगीको गीत गाउँछिन् आमा ।

काखमा खेलेका यादहरू उस्तै छन्

पिठ्युँमा टेकेका डामहरू उस्तै छन्

लोरी गाउँदादेखि कोक्रोमा झुल्दासम्म

सन्तानको सुवर्ण अनुहारमा

जिन्दगीको पृथ्वी सजाउँछिन् आमा ।

आमा, आमाजस्तै भएर मात्रै 

आमा भएकी हुन्

ईश्वरी हुन्

स्पन्दन हुन्

पालुवा दिइरहने रुखजस्तै

उब्जाउ गरिरहने माटोजस्तै

सन्तानको खुसीका लागि

बलिदान हुन तयार छिन् आमा ।

आमाको त्यो प्रिय ममता र हार्दिकता

जब बिर्सिदिन्छन् आफ्नै सन्तान

आमालाई वृद्धाश्रम पु¥याएर जब

मनाउँछन् मातृ दिवस

तैपनि अँध्यारोमा गुम्सिएर

प्रिय आमा मागिरहेकी हुन्छिन्

सन्तानका लागि सुख

सन्तानले दिएको पीडाको पर्वाह नगरी

उनी गरिरहेकी हुन्छिन् 

सन्तानको दीर्घायुको कामना ।