– ‘म’ वादले सक्ने भए राम बनाउन सक्नुपर्छ, रावण होइन ।
– आँसु कसैलाई पनि प्रिय लाग्दैन ।
– यो धर्तीमा पुर्खाहरूको आँसु पोखिएको छ ।
– आँसुको बजार थापेर व्यापार गर्ने पनि छन् ।
– कहिलेकाहीँ यस्तो विचार उठ्छ– जिन्दगीलाई निचोरेर टन्न पिऊँ र दुःखमा प्यास मेटौँ ।
– मर्ने बेलामा पनि ‘नमस्ते नेपाल’ भन्दै मर्न पाऊँ ।
– पुरुषत्वको परिचय पनि आमाले नै दिने हो ।
– हरेक सपनाको गर्भमा सफलता लुकेको हुन्छ ।
– सहनु पनि एउटा साधना हो । सहनु एउटा उपासना हो । सहनु हार्नु होइन जित्नु हो ।
– हाम्रो देशमा कपटको राजनीति धेरै भयो ।
साहित्यकार देवराज खरेलद्वारा लिखित निबन्ध सङ्ग्रह ‘जिन्दगीदेखि जिन्दगीसम्म’ पुस्तकमा उल्लेख भएका हरफहरू हुन् यी । यसैबाट थाहा हुन्छ उहाँ कति गम्भीर भएर निबन्ध लेख्नुहुन्छ । उहाँ पलपलमा देशको नाम पुकार्नु हुन्छ । देशलाई अत्यन्त माया गर्नु हुन्छ र सबैलाई यस्तै गर्न आग्रह गर्नुहुन्छ । खरेल लेखनमा जस्तो हुनुहुन्छ, व्यवहारमा पनि त्यस्तै हुनुहुन्छ । खरेल कविता लेख्नुहुन्छ, मुक्तक लेख्नुहुन्छ, लघुकथा लेख्नुहुन्छ, गीत लेख्नुहुन्छ र अझ निबन्ध त झन् बेजोड लेख्नुहुन्छ । उहाँ यस निबन्ध सङ्ग्रहमा यति हार्दिक भएर खुल्नु भएको छ कि आफ्नो निबन्ध ‘सहर संवाद’ भित्र उहाँले आफ्नाबारेमा भन्न केही पनि बाँकी राख्नुभएको छैन । यस सङ्ग्रहभित्रका ‘चेतनाको खेती’ देखि ‘आर. सी. रिजाल एक शब्द चित्र’ सम्मका एक्काइस थान निबन्धहरू सासै नफेरीकन एकै बसाइमा पढी सकिन्छ । उहाँले बाह्रदेखि चौध वर्षको उमेरसम्म सडक बनाउने ठाउँमा महिनाको पैँतालीस रुपियाँमा कुल्ली काम गरेका तर सबै पैसा आफ्ना पिताले लिने र आफूले एक पैसा पनि देख्न नपाउने उल्लेख गर्नु भएको छ । यस्तै काठमाडौँ पढ्न जाँदा आफ्नै साथीले भएभरको पैसा लुटेर नाङ्गेझार बनाएको प्रसङ्ग पढ्दा जो कोही पनि भावविह्वल हुन पुग्छन् ।
खरेलले यस निबन्धमा चेतनाको महìवका बारेमा भन्नु भएको छ । ‘म’ ले गर्दा मान्छेमा मपाईंवाद हाबी हुँदै गएको र यसले मान्छेलाई माथि होइन तल झार्दै गएको छ भनेर चिन्ता व्यक्त गर्नुभएको छ । नेपाल कसरी र कस्तो बनाउनुपर्छ भनेर नयाँ नेपालको परिकल्पना गर्नुभएको छ । उहाँले सिर्जनाको कुरा गर्नुभएको छ । मान्छे ठूलो धनले होइन, उसको कामले हुन्छ भन्नुभएको छ । जिब्रो मीठो भए सबैको मायालु भइन्छ तर जिब्रो छुच्चो भए सबैका नजरमा तल परिन्छ भन्नुभएको छ । त्यति मात्र होइन सहरले आज हामीलाई धेरै भौतिक सुविधाहरू दिएको छ तर दम्भ र अहङ्कारले गर्दा मान्छेलाई व्यक्तिवादी बनाएको छ भन्नुभएको छ । बरु गाउँमा नै अपनत्व पाइन्छ भनेर गाउँको गुणगान गाउनु भएको छ । उहाँका यस्ता मनलाई चपक्क समाउने कुरा निबन्धहरूमा बग्रेल्ती पाइन्छन् । समग्रमा निबन्धकार खरेल– मानवताका पुजारी हुनु हुन्छ । नेपाल आमाका सच्चा सन्तान हुनुहुन्छ । साहित्यका सक्कली उपासक हुनुहुन्छ । इमानदार सर्जक हुनुहुन्छ । भावनाका खेलाडी हुनुहुन्छ । अनि हुनुहुन्छ मिलनसार व्यक्ति । उहाँको कलम अझै अगाडि बढोस् । १०६ पृष्ठको यो कृतिको मूल्य भने व्यक्तिगत २५०÷– रुपियाँ र संस्थागत ५००÷– रुपियाँ तोकिएको छ । प्रकाशक भने लेखक आफैँ रहनुभएको छ ।