• २३ असार २०८१, आइतबार

धनकुटामा अखाद्यवस्तु रहेकाे भन्दै बजार अनुगमन

blog

कविराज घिमिर 

धनकुटा, साउन २५ गते । बजारमा म्याद गुज्रेका खाद्य सामाग्री रहेको, मूल्यवृद्धि गरेको गुनासोको आधारमा धनकुटामा बजार अनुगमन गरिएको छ । 

बुधबार केही होटल, मिनी मार्केट, किराना पसल, डिलरको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय, धनकुटाले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र उद्योग वाणिज्य सङ्घ, धनकुटाले संयुक्त रुपमा बजार अनुगमन गरेको हो ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्यवस्तु नष्ट गरिएको छ भने मूल्य सूचि अनिवार्य टाँस गर्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालय, धनकुटाका प्रशासकीय अधिकृत अंकित मग्रान्तीले बताउनुभयो ।

स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्यवस्तु विक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरेकामाथि कडाइ सुरु गरेको जनाएको छ ।