• २३ असार २०८१, आइतबार

साढे १४३ किलोग्राम गाँजासहित भारतीय ट्रक नियन्त्रणमा

blog

दीपकप्रसाद गौतम

वीरगञ्ज, साउन २५ गते । परवानीपुर–सुख्खा बन्दरगाह सडकखण्ड अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुअरी चोकमा रोकिराखेको एक भारतीय नम्बरको मालवाहक ट्रकबाट सशस्त्र प्रहरी बल १३ नम्बर गणको प्रहरी टोलीले १४३ किलो पाँच सय ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोषकुमार बस्नेतका अनुसार मङ्गलबार राति ११ बजे परवानीपुर–सुख्खा बन्दरगाह सडकखण्डमा रहेको पवनपुत्र पेट्रोल पम्पदेखि करिब डेढ सय मिटर उत्तर बहुअरी चोकमा रोकिराखेको युपि ७५ एम ४०८९ नम्बरको भारतीय मालवाहक ट्रकमा खानतलासी गर्दा सशस्त्र प्रहरीले उक्त परिमाणको लागूऔषध गाँजा बरामद गरेको हो । 

सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरीले ट्रकमा कोही पनि नरहेको अवस्थामा बेवारिसे ट्रकलाई खानतलासी गर्दा चालकको क्याबिनमाथिको हुडमा १० प्याकेट बनाई लुकाई राखिएको गाँजा बरामद गरेको हो ।    

गाँजासहित फेला पारेको ट्रक र बरामद भएको लागूऔषध गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।