• २३ असार २०८१, आइतबार

पाल्पामा चाँडै लालपूर्जा वितरण हुने

blog

राष्ट्रिय भूमि आयोग र पालिकाबीच भएको सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा सहभागीहरू । तस्बिर –रेखीराम राना

रेखीराम राना

पाल्पा, साउन २५ गते । राष्ट्रिय भूमि आयोगले पाल्पाका थप पाँच वटा पालिकामा काम सुरु गरेको छ । जिल्लाको पूर्वखोला, निस्दी, बगनासकाली, रिब्दीकोट र रम्भा गाउँपालिकामा आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको तथ्याङ्क सङ्कलन कार्य सुरु गरेको हो । 

आयोग र पालिकाबीच सम्झौता भएपछि तथ्याङ्क सङ्कलनको काम प्रारम्भ गरिएको आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले जानकारी दिनुभयो । यसअघि तानसेन, रामपुर, माथागढी, रैनादेवी छहरा र तिनाउमा सम्झौतापछि काम सुरु भइसकेको उहाँले बताउनुभयो । 

पाल्पाका बाँकी पाँच वटा पालिकासँग सम्झौतापछि भूमिहीन, सकुम्बासी तथा दलितको तथ्याङ्क सङ्कलन गरेर इन्ट्री गरिने उहाँले जानकारी दिनुभयो । ती पालिकामा अव्यवस्थित बसोबाससमेत रहेको जानकारी प्राप्त भएकाले अव्यवस्थित बसोबासको समेत निवेदन माग गरिनेछ । थपिएका पाँच वटा पालिकामा लालपूर्जा वितरणको लागि काम तीव्र रुपमा अगाडि बढाइने र तीन/चार महिनाभित्रै आयोगले तोकेको मापदण्डअनुसार लालपूर्जा वितरण गरिने आयोजकका सदस्य हरिता थापामगरले जानकारी दिनुभयो । 

पाल्पा जिल्लामा हालसम्म रामपुर नगरपालिकाभित्रका ८८२ जना भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासको तथ्याङ्क सङ्कलन, फिल्ड बुक तयार, जग्गा नापजाँच, नक्सा तयार भएको छ । उनीहरूको नाममा तयार लालपूर्जा वितरणका लागि हकदावी सम्बन्धी सूचना प्रकाशित गरेर लालपूर्जा वितरणको काम गरिने जिल्ला अध्यक्ष गैरेले बताउनुभयो । 

माथागढीको विभिन्न स्थानमा यसअघिका आयोगले वितरण गरेका दुई सय २५ जनाको लालपूर्जाको फिल्डबुक तयार, जग्गा नापजाँच तथा नक्सा तयार गर्ने कार्य भइरहेको छ । आयोगका अनुसार पाल्पाको तानसेन नगरपालिकाभित्रका ११२ भूमिहीन दलित, १९९ भूमिहीन सुकुम्बासी तथा एक हजार ११२ व्यवस्थित बसोबासीको निवेदन प्राप्त भएको छ । 

यस्तै, रामपुर नगरपालिकाको थप ८२ जना भूमिहीन दलित, ९१ जना भूमिहीन सुकुम्बासी तथा एक हजार ६७० अव्यवस्थित बसोबासको निवेदन प्राप्त भएको छ । माथागढीमा भूमिहीन दलित ४२, भूमिहीन सुकुम्बासी २३ तथा एक हजार दुई सय पाँच व्यवस्थित बसोबासको निवेदन आएको भूमि आयोग जिल्ला समितिले जनाएको छ । रैनादेवी छहरा गाउँपालिकामा हालसम्म भूमिहीन दलित १२, भूमिहीन सुकुम्बासी २४ र अव्यवस्थित बसोबास गर्ने एक हजार ४० जनाको निवेदन परेको छ ।