• २३ असार २०८१, आइतबार

विचार मिल्नेसँग तालमेल गर्न एमाले तयार: नेम्बाङ

blog

पत्रकार भेटघाटमा आफ्नो धारण राख्नुहुँदै नेता सुवासचन्द्र नेम्बाङ । तस्बिर –चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २५ गते । नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले विचार मिल्नेहरुबीच आगामी निर्वाचनमा तालमेल गर्न आफ्नो पार्टी तयार रहेको बताउनुभयो । राजनीतिक मूल्य र मान्यतालाई आत्मसात् गर्दै विचार मिल्ने दलसँग चुनावी तालमेल (गठबन्धन) गर्न एमाले तयार रहेको उपाध्यक्ष नेम्बाङले बताउनुभएको हो । 

बुधबार बिहान ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा पत्रकारहरुसँग भेटघाट गर्दै नेता नेम्बाङले मिश्रित निर्वाचन प्रणालीमा कुनै एक दलले मात्र बहुमत ल्याउनसक्ने निश्चित नहुने हुँदा चुनावी तालमेल गर्नु अनौठो नभएको बताउनुभयो । उहाँले हालको सत्ता गठबन्धनजस्तो नभई राजनीतिक विचार मिल्ने दलसँग मात्र एमालेले चुनावी तालमेल गर्नसक्ने बताउनुभयो । 

उहाँले अहिलको सत्ता गठबन्धन विभिन्न विचार भएको दलहरुबीचको गठबन्धन भएकाले त्यसलाई ‘दूषित गठबन्धन’ को संज्ञा दिनुभयो । दूषित गठबन्धन भएकै कारण सत्ता गठबन्धनबीच नै संसदमा कुनै बेला सत्ता पक्ष र प्रतिपक्षको भूमिका देखिने गरेको उहाँको भनाइ छ । त्यस किसिमको अवस्थाबारे सचेत रहँदै पार्टीको नीति र योजनाअनुरुप आगामी सङ्घ र प्रदेशको निर्वाचनमा विचार मिल्ने दलहरुबीच एमालेले गठबन्धन गर्न चाहिरहेको उहाँले बताउनुभयो ।

तत्कालीन संविधान सभाका अध्यक्षसमेत रहनुभएका एमाले उपाध्यक्ष नेम्बाङले आगामी निर्वाचनमा एमाले पहिलो दल हुनेगरी निर्वाचित लक्षित योजनामा जुटिसकेको बताउनुभयो । आफूसहित पार्टीका शीर्षनेताहरु निर्वाचन लक्षित कार्यक्रममा जुटेको बताउँदै उहाँले देशभर जित्ने पात्रलाई सङ्घ र प्रदेशको निर्वाचनमा उम्मेदवार बनाउने पार्टीको तयारी रहेको बताउनुभयो ।

एमाले जिल्ला कमिटीको आयोजनामा बुधबार फुङ्लिङमा हुने जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा उपाध्यक्ष नेम्बाङ, सचिव योगेशकुमार भट्टराईसहितका नेताहरु ताप्लेजुङ आउनुभएको हो । प्रशिक्षणमा अगुवा कार्यकर्ता, स्थानीय तहमा निर्वाचित प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षलगायत सहभागी हुने एमाले ताप्लेजुङका उपसचिव मणिशङ्कर पोमूले जानकारी दिनुभयो ।