• ७ मंसिर २०८१, शुक्रबार

एआई : यसरी बुझौँ

blog

अनुहार देखाएर अथवा औँलाले छोएर मोबाइलको ‘लक’ खुलेको त भाइबहिनीले पक्कै देख्नुभएको होला । अनि युट्युबमा बाल भिडियो हेर्दा क्रमैसँग अरू पनि त्यस्तै भिडियो आउने गरेको त याद होला । 

भाइबहिनीले कहिलै सोच्नुभएको छ, मोबाइलमा हुने म्यापले हामीलाई कसरी ठ्याक्कै भनेकै ठाउँमा पु-याउँछ ? ‘ओके गुगल’ भन्दै कति पटक मोबाइलमा आफूले चाहेको प्रश्न सोधेर आवाजबाटै उत्तर पनि त पाउनुभएको होला । आखिर यो सबै कसरी भइरहेको छ ?

कतिपयलाई यो जादुजस्तो लाग्न सक्छ । कतिपयलाई सामान्य नै पनि लाग्नसक्छ तर न यो जादु हो, न त सामान्य कुरा नै । जसरी हामीले सोचेको/खोजेको कुरा मोबाइल अथवा कम्प्युटरमा अहिले सजिलै पाउन सक्छौँ, त्यसको पछाडि सफ्टवेयरले काम गरिरहेको हुन्छ । जसलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ अर्थात् छोटकरीमा ‘एआई’ भनेर चिनिन्छ । एआईले हाम्रो दिमागले जस्तै काम गर्छ । कम्प्युटर अथवा कुनै पनि डिजिटल प्रणालीका लागि मान्छेले बनाइदिएको मस्तिष्क भनेर पनि भाइबहिनीले बुझ्न सक्छौ । 

प्रविधिको अहिलेको जमानामा एआई सबैभन्दा धेरै चासोको विषय बनेको छ । त्यसो त अबका केही दशक एआईको दशक पनि हुनेछ भनेर चर्चा हुने गरेको छ । ‘ड्राइभरलेस कार’ अर्थात् ड्राइभरबिना नै कार चल्नसक्ने सफल परीक्षणपछि त एआईलाई अबको भविष्य पनि भन्ने गरिन्छ । 

के हो एआई ? 

एआई एक प्रकारको सफ्टवेयर हो । यो सफ्टवेयरले विभिन्न किसिमका डेटाको प्रयोग गर्छ । तिनै डेटाको अध्ययन गरेर, त्यसलाई राम्रोसँग केलाएर नतिजा निकाल्छ । भनिन्छ, डेटा नै एआईको सबै थोक हो । डेटा नभई एआईको औचित्य हुँदैन । 

भाइबहिनीहरू, डेटा भनेको विवरण हो, तथ्याङ्क हो । जस्तो हामीले फेसबुक चलाउँदा हाम्रो नाम, उमेर, ठाउँ राख्छौँ, त्यो नै डेटा हो । फेसबुकमा हामीले के के कुरा हेर्छौं, कति समय हेर्छौं, कहाँ कहाँ गएको कुरा राखेका छौँ, त्यो सबै अध्ययन गरेर एआईले हाम्रो रुचि र आनीबानी पत्ता लगाउँछ । त्यसैको आधारमा हाम्रो फेसबुको न्युज फिडमा मिल्दोजुल्दो कुरा आउँछ । जिमेल, युट्युब, टिकटक, इन्स्टाग्राम, एपस्टोर यी सबैले यस्ता डेटाको अध्ययन गरेर हामीसँग मिल्दोजुल्दो कन्टेन्ट देखाउँछ । 

यसरी डेटाको विश्लेषण गरेर त्यसलाई सम्बन्धित मान्छेसँग उपयोगी हुने गरी नतिजा निकाल्ने काम एआईले गर्छ । एआईसँग धेरै ठूला ठूला डेटा विश्लेषण गर्ने क्षमता हुन्छ । त्यस्ता ठूला डेटालाई ‘बिग डेटा’ भनिन्छ । यस्ता डेटा मान्छे आफैँले आफ्नो मस्तिष्क प्रयोग गरेर अध्ययन, विश्लेषण गर्न धेरै समय लाग्छ तर एआईले छोटो समयमै त्यसको विश्लेषण गरेर चाहेको कुरा निकाल्न सहयोग गर्छ । 


पछिल्लो समय भाइबहिनीले मसिन लर्निङ, डिप लर्निङजस्ता शब्दहरू पनि सुनेको हुनुपर्छ । यी दुवै एआईभित्रै पर्छन् । मसिन लर्निङले प्राप्त डेटालाई अध्ययन गरेर कम्प्युटर प्रोग्राम बनाउन सहयोग गर्छ । 

अझ सजिलोसँग भन्नुपर्दा छरिएर रहेका डेटालाई प्राप्त गरेर त्यसैको आधारमा यसले वैज्ञानिक भविष्यवाणी गर्न सहयोग पु-याउँछ । जति धेरै मसिन लर्निङको प्रयोग हुन्छ, त्यति नै अनुभवको आधारमा ‘अल्गोरिदम’ को प्रयोग गरेर मसिन लर्निङबाट कुनै पनि कुराको अनुमान गर्न सकिन्छ । जुन् विश्वासयोग्य हुन्छ ।  अल्गोरिदम एक किसिमको सूत्र अथवा नियम हो जसले प्राप्त डेटाको गणना गर्ने अथवा समस्याको समाधानमा सहयोग पु-याउँछ । 

डिप लर्निङले कुनै पनि कुराको गहिरो अध्ययन विश्लेषण गर्ने भन्ने अर्थ राख्छ । एआईको सन्दर्भमा भने डिप लर्निङ भन्नाले विभिन्न प्रणालीबाट प्राप्त डेटालाई अध्ययन गरेर मानिसको मस्तिष्कले जस्तै ज्ञान तथा जानकारी आर्जन गर्ने प्रक्रिया हो । 

‘डिप लर्निङ’ले डेटाको अत्यन्त गहिरो विश्लेषण गरेर मानव मस्तिष्कले जस्तै काम गर्ने कुरालाई जोड दिन्छ । यसका लागि धेरैभन्दा धेरै सूचना तथा जानकारीको प्रयोग हुन्छ । ड्राइभर लेस कार डिप लर्निङको सबैभन्दा राम्रो उदाहरण हो । जुन गुगलले परीक्षण गरिरहेको छ । 

समग्रमा एआई भन्नाले उपलब्ध सूचना तथा तथ्याङ्कको प्रयोग गरेर मानिसको मस्तिष्कले गर्न सक्ने कामलाई एप्लिकेसनमार्फत गराउने प्रणाली हो । यसले कस्तो अवस्थामा मान्छेले कस्तो निर्णय लिन सक्छ, परिस्थितिअनुसार मान्छेको कस्तो प्रतिक्रिया हुनसक्छ भन्नेसम्म जानकारी सक्छ । 

एआई नै भविष्य

भाइबहिनीलाई थाहा नै होला, प्रविधि एकै ठाउँ रहँदैन । ब्ल्याक एन्ड ह्वाइट टिभी स्मार्ट टेलिभिजनसम्म आइपुगेको छ, तार प्रयोगबाट मात्र टेलिफोन सम्भव हुने समय तारविहीन मोबाइलसम्म आइपुगेको छ । मोबाइलमै पनि टुजी, थ्रिजी हुँदै फोरजी विश्वव्यापी बनेको छ । अझ कतिपय देशले फाइभजीको सफल परीक्षण गरिसकेका छन् । 

सिक्सजीबारे पनि अध्ययन अनुसन्धान हुँदैन । यसको मतलव प्रविधि निरन्तर बदलिरहन्छ । समयअनुसार बदलिने मान्छेका रुचि, चाहना र आवश्यकतालाई सम्बोधन गर्न पनि नयाँ प्रविधिको आवश्यकता पर्छ । त्यसैले प्रविधिमा परिवर्तन आइरहन्छ । 

एआई प्रविधिमा आएको त्यस्तै परिवर्तनको पछिल्लो उदाहरण हो । जति धेरै मान्छे प्रविधि प्रयोग गर्छन्, त्यति नै धेरै डेटा उत्पादन हुन्छन् । मानिसले हरेक दिन इन्टरनेटमा केही न केही डेटा सिर्जना गरेकै हुन्छन् । उदाहरणका लागि फेसबुकमा हामीले केही नलेखे पनि हामीले कस्तो कस्तो कन्टेन्ट हे-यौँ भन्ने कुरा फेसबुकको अल्गोरिदमले पत्ता लगाइदिन्छ । हामीले हेरिरहेका कुरा फेसबुकले डेटाका रूपमा लिन्छ । यसरी इन्टरनेटसँग जोडिएका जोकोहीको डेटा हुन्छ । यस्तो डेटा अथाह हुन्छ । 

डेटा बढ्दै जाँदा त्यसबाट मान्छेको आनीबानी अध्ययन गर्न एआई सबैभन्दा प्रभावकारी हुन्छ । खासगरी कम्पनीले आफ्नो व्यवसाय बढाउन, आफ्ना वास्तविक ग्राहक पहिचान गर्न र प्रयोगकर्तालाई सधैँ आफ्नो सेवा प्रयोग गर्न प्रेरित गरिरहन एआईको प्रयोगलाई जोड दिइरहेका छन् । अर्कोतिर स्वास्थ्य क्षेत्रका ठूला ठूला अध्ययन, मानिसको दैनिक गतिविधि र आनीबानीको जानकारी लिनेजस्ता कामका लागि एआईको प्रयोग बढ्न थालेको छ । 

एआईको प्रयोगले धेरै ठूला काम सहजै गर्न सकिने भए पनि यसको सुरक्षाको कुरा भने सधैँ उठिरहन्छ । हाम्रा डेटा कतै गलत प्रयोग हुने र त्यसबाट खतरा बढ्ने हो कि भन्ने चिन्ता पनि हुने गरेको छ । यसको सुरक्षाका लागि एआई निर्माताले ठूलो लगानी पनि गरिरहेका छन् । त्यसैले भाइबहिनीले इन्टरनेटमा आफ्नाबारे डेटा राख्दा धेरै ध्यान पु-याउनुपर्छ । आना गोप्य डेटा सकेसम्म इन्टरनेटमा राख्ने काम गर्नुहुँदैन । गलत काम गर्नेले डेटाबाटै हानि गर्न सक्ने भएकोले भाइबहिनी यस्तो कुरामा सधैँ चनाखो हुनु है ।