• २३ साउन २०८२, शुक्रबार

भारतमा मृत भेटिएका नेपालीको पहिचान खुल्यो

blog

घट्ना बारे जानकारी गराउँदै रुपैडिहास्थित भारतीय प्रहरी । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, साउन २३ गते। नेपाल भारत सीमानाको भारतीय क्षेत्र रूपैडिहाको वार्ड नम्बर १०, रामजानकीस्थित खाली घरको बगैँचामा बिहीबार मृत अवस्थामा भेटिएका एक नेपाली युवकको पहिचान भएको छ। 

रुपैडिहामा शव भेटिएका नेपाली युवक बाँके कोहलपुर ९ पिपरी झण्डहवा निवासी अरण वर्नवाल रहेको परिवारका सदस्यले पहिचान गरेको भारतीय प्रहरीले जनाएको छ। 

रुपैडिहा प्रहरी चौकीका सब–इन्स्पेक्टर राहुल सरोजका अनुसार युवकको बायाँ हातमा “अरुण” लेखिएको ट्याटुका आधारमा बहिनी प्रभा वर्नवालले पहिचान गर्नुभएको हो।  

सब–इन्स्पेक्टर सरोजले मृतकको अनुहारमा गहिरो चोटको निशान देखिएको र मृत्यु दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान गरिएको बताउनुभयो। मृत भेटिएका युवक सीमापारि लागु औषधको सेवनका लागि गएको हुनसक्ने  अनुमान भारतीय प्रहरीले गरेको छ। 

मृतक नेपालका युवक रहेको पुष्टि भइसकेकोले अब कानुनी र अन्य आवश्यक प्रक्रिया पूरा गरेर शवलाई आफन्तको जिम्मा लगाइने भारतीय प्रहरीले जनाएको छ। 

रक्षाबन्धनको पूर्व सन्ध्यामा अरुणको मृत्यु भएको खबरले वर्नवाल परिवार गहिरो शोकमा डुबेको छ। गतवर्ष रक्षाबन्धनकै बेला एक नेपाली युवकको शव रुपैडिहामा भेटिएको थियो।