• ७ साउन २०८२, बुधबार

एउटै वस्तु एक खर्बभन्दा बढीको निर्यात

blog

काठमाडौँ, साउन ७ गते । गत आर्थिक वर्षमा नेपालले एउटै वस्तु एक खर्ब रुपियाँभन्दा बढीको निर्यात गरेको छ जुन् अहिलेसम्मकै उच्च हो । सोही वस्तुको निर्यातमा आएको उछालले नेपालबाट हुने कुल वस्तु निर्यात पनि अहिलेसम्मकै सबैभन्दा धेरै हुन पुगेको छ । 

नेपालको निर्यातलाई उचाइमा पुर्‍याउने त्यो वस्तु हो, भटमास तेल । भन्सार विभागका अनुसार नेपालले गत आवमा एक खर्ब छ अर्ब ८० करोड रुपियाँ बराबरको भटमास तेल निर्यात गरेको छ । कुल निर्यातमा भटमास तेलको हिस्सा ३८.५४ प्रतिशत छ । गत आवमा नेपालले दुई खर्ब ७७ अर्ब बराबरको वस्तु निर्यात गरेको तथ्याङ्क छ । 

भटमास तेलको मुख्य निर्यात बजार भारत रहेको छ । साफ्टा सुविधा अन्तर्गत शून्य भन्सार सुविधाको उपयोग गर्दै नेपालले सो बराबरको तेल निर्यात गरेको हो । बिडम्बना के छ भने नेपालबाट अत्यधिक निर्यात भएको उक्त वस्तुको उत्पादन नेपालमै भने कम हुन्छ । नेपालले सबैभन्दा धेरै निर्यात गरेको उक्त वस्तु उत्पादनका लागि नेपालले एक खर्ब आठ अर्ब ९५ करोड रुपियाँ बराबरको कच्चा भटमास तेल आयात गरेको भन्सारले देखाउँछ । यस हिसाबले अहिलेसम्मकै सबैभन्दा उच्च निर्यात भएको वस्तु भए पनि कच्चा तेलको आयात हुँदा यसबाट हुने व्यापार नेपालका लागि घाटाकै अवस्थामा देखिन्छ । 

तीन खर्बले बढ्यो व्यापार

गत आवमा नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार तीन खर्ब रुपियाँभन्दा बढीले बढेको छ । गत आवमा नेपालले आयात र निर्यात गरेर कुल २० खर्ब ८१ अर्ब रुपियाँ बराबरको व्यापार गरेको छ । जबकि त्यसअघि आव २०८०÷८१ मा कुल १७ खर्ब ४५ अर्ब रुपियाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको थियो । 

आयातनिर्यात दुवैमा उल्लेख्य सुधार हुँदा अन्तर्राष्ट्रिय व्यापारमा पनि ठुलो परिमाणमा वृद्धि भएको देखिन्छ । गत आवमा आयात १३.२५ प्रतिशतले बढेर १८ खर्ब चार अर्ब रुपियाँ पुगेको छ । त्यस्तै निर्यातमा ८१.८० प्रतिशतको सुधार देखिन्छ । कुल व्यापारमा निर्यातको हिस्सा १३ प्रतिशत नाघेको छ त्यसअघि निर्यातको हिस्सा ८.७३ प्रतिशत थियो । निर्यातको हिस्सा बढ्दा गत आवमा आयातको हिस्सा ८६.६९ प्रतिशत पुगेको छ जबकि त्यसअघि कुल व्यापारमा आयातको हिस्सा ९१.२७ प्रतिशत थियो । 

यी हुन् सर्वाधिक आयातनिर्यात हुने वस्तु

गत आवमा नेपालले सबैभन्दा धेरै एक खर्ब २८ अर्ब रुपियाँ बराबरको डिजेल आयात गरेको छ । त्यसपछि कच्चा भटमास तेल आयात भएको छ । तेस्रोमा ६४ अर्ब १२ करोड रुपियाँ बराबरको पेट्रोल आयात हुँदा ६२ अर्ब ५८ करोड रुपियाँ बराबरको  एलपी ग्यास आयात भएको छ । ४८ अर्ब ७६ करोड रुपियाँ बराबरको कच्चा फलाम आयात हुँदा ३५ अर्ब ५४ करोड रुपियाँको स्मार्टफोन आयात भएको भन्सारको तथ्याङ्क छ । 

त्यस्तै गत आवमा नेपालले सबैभन्दा धेरै भटमास तेलको निर्यात गरेको छ । भटमास तेलपछि १२ अर्ब ३२ करोड रुपियाँ बराबरको सूर्यमुखी तेल निर्यात भएको छ । त्यसपछि १० अर्ब ७७ करोड रुपियाँ बराबरको गलैँचा र सात अर्ब ६८ करोड रुपियाँको अलैँची निर्यात भएको छ । नेपालको निर्यात बजारलाई कच्चा तेल आयात गर्ने र त्यसलाई नेपालमा प्रशोधन गरेर भार निकासी गर्ने प्रवृत्ति मुख्य रूपमा देखिन्छ ।