म बालक–मन
हेरिरहेछु समयको पाइलाहरू !
आँधीको इजारे– भ्रम
अड्किएको घडीको मोटो सुईमा
चट्टान बनेका आँसुका थोपाहरू थुपार्दै !
दलिनमा झुण्डिएका चमेरा सपनाहरूको राशमा
चन्द्रमालाई छुने चखेवा विश्वासका भ्रम बटुलेर
आरोपका बादलहरू चिर्दै
–जो झरी बनेर आकाश सफा हुनेछ !
शङ्काका चट्याङहरू बज्रदै
जसले –चिर्नेछन् – भ्रमका दलिनहरू
फर्किनेछन् – मनका ज्वारभाटाहरू
मनकै समुद्रको गर्तमा !
फाडिने छन् – अहम्का झाडीहरू
र पलाउने छन् आशाका पालुवाहरू
समय सत्य–
कहिले झुसिल्किराको जिन्दगी घस्रन्छ
कहिले पुतली जीवनको आकाश फैलन्छ ।
म बालक– मन,
पढिरहेछु– समयको पाठशालामा
मेरै जस्तो लाग्ने कथाका पानाहरू !