• ७ मंसिर २०८१, शुक्रबार

जीवन वृत्तका अनुभूति

blog

लाग्छ जीवन वृत्ताकारमय छ । सूक्ष्म बिन्दु वृत्त हो । बिन्दु थोप्लो । थोप्लो नि सूक्ष्म बिन्दु । बिन्दु अमूर्त थोप्लो । वृत्ताकार लिन नसके, नपाएको थोप्लो–वृत्त । वृत्त बन्न बीचमा रित्तो घेरो हुनुपर्छ । लोक कथन यो । चलनचल्तीका भनाइ । लोकवार्ता । लोकवार्ता सरल देखिन्छ । सरलता नितान्त तरल हुन्छ । तरल पदार्थ चलायमान हुन्छ । चलायमान तरल पदार्थ जम्ने चेष्टा राख्दैन । जमे वा जमाइए दुषित हुन्छ । सबैलाई थाहा भएकै विषय–वस्तु यो । जीवन वृत्तका फन्को मार्दै अन्तर मनले चाखेको स्वाद यो । अभ्यस्त हुँदै गर्दा राग बस्यो जीवनमा । हाम्रा साझा अनुभव सिद्ध अनुभूति यो । यस्तै यस्ता थुप्रै राशका राश कुरा । यस्तै भोगाइका थुप्रो जीवन वृत्तका अनुभूति हुन् । तिनै आर्जेका अनुभूति जीवन वृत्तका सम्पत्ति हुन् मेरा भन्नु । लोकलाई आफ्नो भन्न हकदाबी लाग्दो खनिज धन । खन्दै खोतल्दै जाँदा फेला पर्दो खनिज पदार्थ । खनिज धन देशका भूभौतिक परिधिभित्र पाइँदो भूगौर्भिक पदार्थ । भूगर्भको प्रसङ्ग जोड्दा आफू पनि भौगर्भिक तŒव झैँ अनुभूति मिल्छ । मातृकोष पनि त भूगर्भ नै लाग्न थाल्छ । मातृकोष नि त भूगर्भ तुल्य जँचिन्छ । नौ महिना निरन्तर मातृ कोषमा रहेर भूतलमा अवतरण गर्दो प्राणी म अवोध चेतन तत्त्व  । यो हाम्रो साझा सम्पदा । 

आपसमा भाग लगाउने मनसुवा यी .... ! इच्छा, आकाङ्क्षा सारा हाम्रा मनोकामना नै हुन् । यति सरल कुरा यी, बोझिलो ठान्छौँ हामी ! यिनै त हुन् जीवन वृत्तका अनुभुति मेरा ! सम्भवतः हजुरहरू नि ..... सोच्दै जान्छु । सोच्दा सोच्दै सोचाइको वृत्त बन्न पुग्छन् । सोच्दै गर्नु पनि तरङ्गकै तराना गाउनुझैँ लाग्न थाल्छ । तरङ्ग बन्न, उठ्नु नि घेरो बन्नु, उठाउनु नै हो । जसरी शान्त तलाउ बीच केही छुसुक्क खस्दा पानीमा एक प्वाल बन्छ । त्यसै प्वालले घेरा पैदा गर्छ, जन्माउँछ । घेरोले अर्को दोस्रो तरङ्ग पैदा गर्छ । 

घेरोको तरङ्ग पछि अर्को हुँदै फैलँदै जान्छ; मनका चिन्तन पनि तरङ्गिन थाल्छ । तरङ्गमा तरङ्गिनु चिन्तन मग्न हुनु । चिन्तन मग्न हुनु बराबर ध्यान मग्न हुनु । चिन्तनमय मनको मोहडा एक चित्त रहनु, बन्नु त हो । एक चित्त रहेर हामी आफैँसित वार्ता गर्न थाल्छौँ । आफैँसित आफैँले कुरा गर्नु बर्बराउनु । यस्तो दृश्यले अरूको मनमा प्रभाव पर्दो हो अर्कै । दृश्य दर्शकका मनमा यसले पागलपनको प्रलाप प्रभाव पर्दो हो । महाकवि गुरुको जीवन वृत्तका सूक्ष्म दर्शन यस्तै रहेको अनुभूति छ मेरो । यी सब इतिवृत्ति गर्दा नि त गुरुकै अनवरत चेलो रहेझैँ लाग्छ । आफैँलाई यदाकदा !

हामीमध्ये प्रायः एकसुरे नै बन्छौँ यदाकदा । हजुर बाआमाले भन्नुभएको सम्झन्छु चसक्क ..... भूत चढेको बेला .... ! केटाकेटी पन मेरो ! भित्री तहसम्म डुबुल्किने चासो नै कहाँ र ? खायो, उफ्र्यो । केही पीर थिएन । सहज थियो – पीरमर्का मुक्त जीवन । उन्मुक्त अवस्था – सुखमय संसार । मस्ती आफ्नै । अहिले गुन्छु – त्यो नि चक्रै जीवन जगत्को । मस्तामस्ती चक्र – एक वृत्त । उसबेला भाउ न साउ उसै खाऊ ! नवौँ दशक जीवन वृत्त परिक्रमा क्रममा कठैबरा आफैँमा .... ! मात चढ्छ । बाल मत्ता अवस्थाको अल्लारेपन । यतिञ्जेल विगतका स्मृति पाना पल्टाउँदै बर्बराउँछु । अरूको कठैबरा .... च्व .... च्व .... । जीवन वृत्तका अनुभूति .... कठैबरा ! महाकवि गुरु लक्ष्मीप्रसाद देवकोटाज्यू एक्लै भुनभुनाउँदै हिँड्नु हुँदा तत्कालीन जन उहाँलाई बौलाहा नै भन्थे । कवित्व भाव बिहीन तत्कालीन जनसमुदायको के कुरा .....? यो जमानाले त सद्दे असद्दे मानिसको परख गर्दो छैन ! कोही सत्ता मात ! कोही स्वार्थ मात ! कोही शक्ति मात ! कोही कुर्सी मात ! मातैमातको चक्रमा जनता सिधासाधा निरीह मात ! जीवन वृत्तका अनुभूति मात मेरा नि निमुखा मात भनूँ भनूँ लाग्दो मात ! “दाल–भात–डुकु’’, महाकवि गुरु देवकोटाका कविता । यदाकदा सम्झँदै गर्छु जीवन वृत्तका अनुभूति ! जोडजाम यो । 

जीवन वृत्तका अनुभूति अनेक आयाम छन् । भनौँ जीवन वृत्त अनुभूति आयामिक छन् । आयाम अनुभूति वृत्तका पनि वृत्तधारी बन्छन् । आत्मपरक निबन्ध जगत्का खेमामा यसलाई निर्बन्ध स्वरूप ठान्छु । निर्बन्ध निबन्धका स्वरूप समय चक्रमा आफैँ निर्धारण गर्दछन्, गर्दा हुन् । त्यसै हेतु बस समय नितान्त बलवान भन्छौँ, ठान्छौँ । यतिञ्जेल लोकतान्त्रिक देन पाउनु अनौठो हुन्न । समय बलवान बन्नुको बहुल बाहुल्य स्वरूप यही त हो । कसरी नमानौँ ....? लोक विरुद्धम् नाचरणियम् ! हाम्रै जीवन दर्शनका वृत्तले विचलन गर्न छेकवार लाएकै पाइन्छ । अर्थात् = लोकविरुद्ध कुनै कार्य गर्नु आचारसंहिता विपरीत हुन्छ । समाजको चारैदिशा नियाल्नु त हाम्रै थाप्लोको नाम्लो हो । हामी नि त हाम्रै थाप्लोको नाम्लो कुम्ल्याउन किन पो हिच्किचाउनु पर्दो हो ? समाजमा सबै तहका नेपाली नागरिक बेलामौकामा अग्रसर हुनु आआफ्नै जीवन वृत्तिका अनुभूति बन्नु सुनिश्चित सरोकार किन होइन ....?

जीवन वृत्तका सरोकार अनेक छन् । संस्कार–संस्कृति–सम्पदा मानव समाजका अमूल्य निधि हुन्, रहिरहनु पर्छ । बृहत् यस क्षेत्रका खेमाभित्र हाम्रा ससाना रीतिरिवाजदेखि ठूलाठूला चाड–पर्व, महोत्सवजस्ता जीवन वृत्तका सरोकार समाहित हुन्छन् । जन्मजात हुनेबित्तिकै बालजीवनले कुलिन घरानामा दर्जिन्छ । प्रारम्भिक सांस्कृतिक संस्कार थालिनु हुन्छ । क्रम यसका तरङ्गिन्छ – अनेकानेक फन्को मार्दै । साउन २ गते २०७९, सोमबारको गोरखापत्रमा ‘जेनतेन धानिँदै लुतो फाल्ने संस्कृति’ समाचार पढेँ । मनलाई चस्कायो । लाग्यो यो देशको मौसमी पेसागत संस्कार हो । संस्कार पेसागत पनि हुँदोरैछन् । मेरै तरुण अवस्थाले भोगेको रीतिरिवाज । उसबेलाको समाज–समय अहिले रहेन । धान रोपाइँ मेला भर्दा हामी नाङ्गो खुट्टा हिलोमा चोपलेर खेती गथ्र्यौं । खुट्टा र हत्केलाका औँलाका कापकापमा ससाना सेता कीरा टाँसिरहन्छन् । नेपालीमा आएन शब्द त्यसको । नेपाल भाषामा “चकी’’ ! साबुन पानी लाउने अवस्था थिएन । अचेल अनेक प्रविधि औषधि–उपचार आविष्कृत छन् । प्रविधि विकास भएका छन् । हिलो पानीका लागि गमबुट बजारमा छ्यापछ्याप्ती छन् । पुराना चलन–संस्कार–संस्कृतिमाथि प्रहार भएझैँ प्रतीत हुनु मानवीय चेष्टा हुन् । वयोवृद्ध चेष्टाले नौलो प्रविधिले पारेको प्रभावमाथि विहङ्गम् नजर लाउनु जीवन वृत्तका सरोकार ठान्छु । यो सरोकार जीवन वृत्तका युगीन धर्म मान्छु ।

जीवन वृत्तका सरोकार नौलो युगीन परम्परा पनि समाहित हुन पुग्छन् । मल्लकालीन शासकमा स्थापित र प्रचलित संस्कार–संस्कृति लिच्छवि कालमा सोच्ने ठाउँ नै हुन्न । अकल्पनीय सोच थिए । किरात कालमा लिच्छवि सभ्यता–संस्कृति कसरी सोच्न सकिन्थ्यो ? गोपाल कालमा महिषपालका आधार बिन्दु सम्भव हुन्छ नै कसरी ? मात्र नेपालकै प्रसङ्ग होइन; भूगोलकै व्यापक सन्दर्भ यो ! जीवन वृत्तका सरोकार आफ्नै जीवन्त जीवनकालका भविष्य दर्शनका रूपरेखा कोर्नु हो । जीवनकालका आफ्नै सोचपूर्ण भविष्यको मार्ग दर्शनका चित्राङ्कणसहित भाष्य वाणी गर्नु । 

परन्तु, यो सरल सहज भने पक्कै होइन । दृढ सङ्कल्पित तपस्या साधना शोध यसका उत्तम मार्ग हो । जीवन वृत्तका सरोकार मात्र यतिमा टुङ्गिन्न । नालीबेली यिनका अनन्त छन् । अनन्तता भित्रै सीमित जीवन वृत्त पूरा भइदिन्छ अन्तिम स्वास त्यागेर । शाश्वत सत्य सबै जीवात्मा जगत्का प्राणी 

मात्रका ! लीलामय जीवनजगतका लीला ! तन्काउन साहस गरिन रबरझैँ ! चुँडिएलाको अन्तरपीडाले थरथराउन थाल्छु । मनको बह कसैलाई नकह– हाम्रो कहावत छ ! जीवन वृत्तका सरोकार तन्काउने चेष्टा गरिनँ ! बिट मार्ने अनुमति माग्छ मन ! जयतु संस्कृतम् भन्छु !