मेरा ठुल्दाजु डा. तारानाथ शर्मा हामी सात जना दाजुभाइ र चार जना दिदीबहिनीमध्ये सबैभन्दा धेरै अध्ययनशील र साहित्य लेखन कार्यमा सदैव लगनशील रहने व्यक्ति हुनुहुन्थ्यो । हाम्रा बा प्रजापति उपाध्याय कामविशेष परी भारतको कलकत्ता (कोलकाता) जाँदा आफूले अङ्ग्रेजी भाषा पढ्न नपाएको र अङ्ग्रेजी भाषा बुझ्न नसक्ने कारणले एक पटक त्यहाँ अपमानित हुनुपर्दा उहाँले आफ्ना छोराछोरीलाई चाहिँ अङ्ग्रेजी भाषा पनि पढ्न लगाउँछु भनी सङ्कल्प गरेको हुँदा हामी सबैले अङ्ग्रेजी भाषासमेत पढाउने विद्यालयमा शिक्षा हासिल गर्ने मौका पायौँ ।
ठुल्दाजुले इलामकै फिक्कलमा त्यसबेलाको श्री चन्द्रमोहन पाठशालामा प्राथमिक शिक्षा प्राप्त गरेपछि पश्चिम बङ्गालस्थित खर्साङको सेन्ट अल्फोसेस स्कुलमा म्याट्रिकसम्मको शिक्षा लिनुभयो । त्यसपछि उहाँले दार्जिलिङको सेन्ट जोसेफ कलेजमा आई.ए.सम्मको अध्ययन गर्नुभयो । त्यसबेलासम्ममा फिक्कलको प्राथमिक विद्यालयमा कक्षा पाँचसम्मको र फिक्कलभन्दा तीन माइल पर्तिरको करफोकमा एस.एल.सी.सम्मको पढाइ सुरु भइसकेको थियो । अनि हामी उहाँका भाइबैनी सबैले नेपालमै पढ्ने मौका पायौँ । प्रथम श्रेणीमा एस.एल.सी. उत्तीर्ण भएका मेरा माल्दाजु पुष्पनाथ शर्माले चाहिँ दार्जिलिङको गभर्मेन्ट कलेजबाट आई.एस्सी. प्रथम श्रेणीमा उत्तीर्ण गर्नुभयो । अनि उहाँ राँची र रुड्कीमा पढेर इलेक्ट्रिकल इन्जिनियर बन्नुभयो ।
हाम्रा ठुल्दाजुले बनारस हिन्दु विश्वविद्यालयबाट बी.ए. तथा पटना विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा एम.ए. गर्नुभयो । ठुल्दाजुले पछि गएर अमेरिकामा म्याडिसनको विस्कन्सिन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा विद्यावारिधि डिग्री प्राप्त गरी आफ्नो नामको अगाडि डाक्टर थप्नुभएको हो । डा. तारानाथ शर्मा अमेरिकाको म्याडिसनमा सात वर्ष र मिचिगन स्टेट युनिभर्सिटीमा अङ्ग्रेजी भाषा र एसियाली संस्कृतिसम्बन्धी प्राध्यापन गर्दै पाँच÷छ वर्षजति बस्नुभयो । त्यसै अवधिमा उहाँका दुवै छोरा अनल र सलिल उतै हुर्के, बढे ।
म्याट्रिक पढ्ने क्रममा ठुल्दाजुले खर्साङमा ‘ज्ञान–रश्मि’ नामक पत्रिका सम्पादन गर्नुभएको थियो । त्यो पत्रिका हस्तलिखित रचनाको सँगालो थियो, जसलाई उहाँले आफ्नै हातले लेख्नुभएको थियो किनभने उहाँका अक्षरहरू अत्यन्त खिरिला र हेरिरहँुजस्ता सुन्दर थिए । ती लोभलाग्दा राम्रा अक्षर उहाँको आफ्नै पूरै जीवनकालमा छापाभन्दा पनि सुन्दर एवं प्रशंसायोग्य रहिरहे ।
दार्जिलिङमा आई.ए. पढ्दा पारसमणि प्रधानको सम्पादन र प्रकाशनमा छापिने ‘भारती’ र ‘कथा भारती’जस्ता पत्रिकामा उहाँका कविता, प्रबन्ध, निबन्ध, कथा एवं समीक्षात्मक रचना प्रशस्त छापिए । त्यसैबेलादेखि उहाँको लेखनशैली तिखारिन गएको हो । त्यसबेला उहाँ पारसमणि प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली र रूपनारायण सिंह एवं शिवकुमार राईका साहित्यिक कृतिहरू निकै मन पराउनुहुन्थ्यो । मन पराउने कुरा गर्दा उहाँ लेखनाथ पौड्याल, बालकृष्ण सम, गुरुप्रसाद मैनाली, पुष्कर शमशेर, माधव घिमिरे, भूपि शेरचन आदि स्रष्टाका ठूलो प्रशंसक हुनुहुन्थ्यो ।
बी.ए. पढ्न बनारस बसेको बेला ठुल्दाजुसँगै बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, चूडामणि रेग्मीलगायत मित्रसित मिलेर ‘झर्रोवादी आन्दोलन’ चलाए, जसले नेपाली साहित्यिक जगत्मा एउटा महìत्वपूर्ण र दीर्घकालीन योगदान पु¥यायो । हिन्दी शब्दावलीहरूको व्यापक भाषिक अतिक्रमणको वेगपूर्ण भललाई रोकथाम गरी मौलिक एवं ठेट शब्दहरूको बोलाइ र लेखनकार्यमा यो आन्दोलनले मलजल पु¥यायो । त्यस बेलासम्म हिन्दी भाषाको अत्यन्त ठूलो प्रभाव परी चाहे लेखन कार्य होस्, चाहे वक्ताहरूको भाषण होस् अथवा आम नेपालीको बोलीचाली होस् ‘लेकिन’,
‘हालाँ कि’, ‘बल्कि’, ‘क्यों कि’, ‘चुं कि’, ‘बशर्ते’, ‘इश्क’, ‘दुनियाँ’, धड्कन’, ‘मतलब’, ‘दिल’, ‘मानों कि’, ‘बेहतर’, ‘उँचा’,
‘नीचा’जस्ता सयौँ शब्द प्रयोग गरिन्थे । नेपाली भाषा र साहित्यको लेखाइ र बोलाइमा ठेट वा झर्रा नेपाली शब्दको ठाउँमा विदेशी शब्दको यस्तो अचाक्ली सङ्ख्यामा प्रयोग भइरह्यो भने हाम्रो नेपाली भाषा नै बिलाएर जान सक्छ भन्ने राष्ट्रिय कुरा बनारसबाट प्रकाशित हुने ‘नौलो पाइलो’ तथा ‘बल्दो दियो’ नामक पत्रिकामार्फत उपरोक्त झर्रोवादी लेखकले प्रचारप्रसार गरेका थिए । पछि थोरै संस्करण भए पनि झर्रा शब्दहरूको लेखन र प्रचारप्रसार कार्य
‘फूलपाती’ नामक पत्रिकामा पनि प्रकाशित गरिएका थिए, जसका निम्ति ठुल्दाजु र बालकृष्ण पोखरेलको ठूलो हात थियो । पटनामा एम.ए. पढ्दा पनि ठुल्दाजुले ‘दियालो’ नामक पत्रिका सम्पादन गरी त्यसमा पनि उहाँले झर्रो शैलीमा निबन्ध र आलोचनात्मक रचना प्रकाशित गर्नुभएको थियो ।
तारानाथ शर्माले काठमाडौँमा धेरै वर्षसम्म पद्मकन्या कलेज, त्रिचन्द्र कलेज र सरस्वती कलेजमा अङ्ग्रेजी भाषाको प्राध्यापन कार्य गर्नुभएको थियो । काठमाडौँमा पढाउने कार्य गर्न थालेपछि उहाँले पहिलो पुस्तक ‘नमस्ते’ नामक निबन्ध सङ्ग्रह लेखेर छपाउनुभयो । त्यसका साथै ‘रूपरेखा’, ‘मधुपर्क’, ‘हिमाल’, ‘रमझम’, ‘गोरखापत्र’जस्ता प्रशस्त पत्रपत्रिकामा अनगिन्ती लेख, निबन्ध र आलोचना, प्रत्यालोचनाहरू प्रकाशित हुँदै गए । सुरुदेखि नै तीक्ष्ण व्यङ्ग्य र इष्र्याका प्रतिक्रिया प्रत्यक्ष देखिन थाले ।
कवि म.वी.वि. शाहको ‘उसैको लागि’ कविता सङ्ग्रहको समालोचना प्रकाशित भएपछि काठमाडौँको तत्कालीन कुर्सीमा बस्ने धूर्त अधिकारीहरूले आफ्नो चाकडी देखाई साँचिलो बन्नका निम्ति राजाको विरोध गरेको भनेर हाम्रा ठुल्दाजुलाई जेलमा हालिदिएका थिए, जहाँ उहाँले तीन महिनाको अवधिमा ‘मेरो कथा’ र ‘ओझेल पर्दा’ नामक दुईवटा उपन्यास लेख्नुभएको थियो । राजा महेन्द्रले उहाँलाई जेलमा थुनेको थाहा पाएपछि कवि, लेखक र साहित्यकारलाई यसरी थुन्नु हुँदैन भनेर दाजुलाई रिहा गर्न लगाएका थिए । त्यस समालोचनाको प्रकाशनपछि उहाँको चर्चा झन् झन् चुलिएर गएको थियो ।
वि.सं. २०२४ तिर उहाँ अङ्ग्रेजी भाषासम्बन्धी उच्च अध्ययन गर्न बेलाइत जानुभएको थियो; जहाँ उहाँले ‘बेलाइततिर बरालिँदा’ नामक यात्रा सङ्ग्रह छपाउने योजना तर्जुमा गर्नुभयो । उहाँले कतिपय यात्रा निबन्ध बेलाइतमै बस्दा लेख्नुभएको थियो, कतिपय यात्रासम्बन्धी कुरा नोटकपीमा टिपोट गर्नुभएको थियो र कतिपय रमाइला कुरा उल्लेख गरी मलाई काठमाडौँमा चिठ्ठीका रूपमा पठाउनुभएको थियो । काठमाडौँ फर्केपछि उहाँका उतै लेखेका र नोटकपीमा टिपेर राखेका यात्रा वर्णनहरू र मलाई लेखी पठाएका चिठ्ठीका केही आवश्यक अंशहरूसमेत काँटछाँट गरी ‘बेलाइततिर बरालिँदा’ नामक पुस्तक तयार पार्नुभयो; जसले वि.सं. २०२६ सालको मदन पुरस्कार प्राप्त ग-यो । उहाँले लेखेको त्यस पुस्तकका सबै लेख उहाँको आदेशमा मैले सारेर प्रेस कपी तयार गरिदिएको थिएँ । त्यस पुस्तकबाट नेपाली साहित्यमा ‘नियात्रा’ शैलीको विशाल जग बस्न गयो । विशाल किन भनिएको हो भने हिजोआज विशाल सङ्ख्यामा नियात्रा लेखकको उदय भएको छ ।
प्रेस कपी तयार गर्ने सन्दर्भको कुरा उक्काउँदा मलाई के सम्झना आउँछ भने ठुल्दाजुलाई टाइप गर्ने अथवा फोटोकपी गरेर प्रेसलाई दिने कुरामा रुचि नै थिएन र त्यतिबेला ठुल्दाजुले मलाई केही लेखरचना र केही पुस्तक सार्न लगाउनुभएको थियो; जसमध्ये ‘जमर्काहरू’, ‘घोत्ल्याइँहरू’, ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’, ‘नेपाली साहित्यको इतिहास’ आदि पुस्तक सारेर मैले प्रेस कपी तयार गरेको थिएँ । पछि म भारतको पुनामा चलचित्रसम्बन्धी अध्ययन गर्न गएपछि उहाँ आफैँले आफ्ना सबै पुस्तकको प्रेस कपी तयार गर्नुभयो । घरमा जतिसुकै टेबल र कुर्सी भए पनि ठुल्दाजु कुर्सीमा बसेर टेबलमा लेख्नुको साटो जहिले पनि ओछ्यानमा बसेर घुँडामा कापी राखी लेख्ने गर्नुहुन्थ्यो । अमेरिकाबाट फर्केर आएपछि पनि म उहाँलाई घरमा भेट्न जाँदा ‘चरी भरर’ भन्ने निबन्ध सङ्ग्रहसमेत उहाँ घुँडैमा कापी राखेर लेखिरहनुभएको थियो ।
झन्डै दुई सयभन्दा बढी उत्कृष्ट पुस्तक लेखेका मेरा ठुल्दाजुले अनुवाद, प्रबन्ध, निबन्ध, नियात्रा, पाठ्यपुस्तक, अङ्गे्रजी व्याकरण, नेपाली साहित्यको इतिहास, समालोचना, कथा, उपन्यासहरूबाहेक उहाँले देशभित्र तथा देशबाहिरका विभिन्न पत्रपत्रिकामा असङ्ख्य र उत्कृष्ट समालोचना तथा सयौँ सुधारात्मक लेखरचना प्रकाशित गराउनुभएको छ ।
अमेरिकामा छँदा उहाँले ‘पाताल प्रवास’, ‘नेपालदेखि अमेरिकासम्म’, ‘आँसु छचल्किँदै जान्छ’, ‘झझल्को’जस्ता कृति लेख्नुभएको थियो भने म्याडिसनबाट फर्केपछि चाहिँ उहाँले ‘आधुनिक नेपाली कविता’ नामक विश्लेषणात्मक समालोचनाको पुस्तकका साथै ‘बेलाइततिर बरालिँदा’ र बालकृष्ण समबारेको ग्रन्थ लेख्नुभएको थियो ।
घरायसी र व्यक्तिगत कुरो सम्झिँदा मेरा ठुल्दाजु सानैदेखि बाआमाले पुल्पुल्याएर हुर्काएको हुनाले उहाँ निकै अव्यावहारिक र केटाकेटीजस्तो हुनुहुन्थ्यो । एकोहोरो बानी भएकाले उहाँ आफूखुसी स्वतन्त्र रहिरहनुहुन्थ्यो । उहाँ व्यावहारिक दृष्टिबाट परनिर्भर व्यक्ति हुनुहुन्थ्यो । कतिसम्म भने उहाँ घरभित्र तिर्खा लागेर प्याकप्याक वा हिरिक्क हुँदा पनि एक गिलास पानीसमेत सारेर खानुहुन्नथ्यो, भोक लागेको बेलामा पाकेको खानेकुरा पस्केर खाने कुरा त परै जाओस् । बिहे भएपछि ठूली भाउजुले दिलोज्यानले उहाँको हेरचाह र स्याहारसुसार गर्नुभयो र ठूल्दाजुलाई कहिल्यै पनि छोड्नु भएन । दाजुको सुरक्षामा भाउजू सदैव खटिइरहनुभयो । हाम्रो भँडारीका परिवारमा नक्षत्र ठहरिएको ‘तारा’लाई ठूली भाउजूले दाजुको अन्त्यसम्म अथक स्याहारसुसार गरेर हाम्रो परिवारलाई वर्णन गरिनसक्नुको गुण लगाउनुभएको छ ।
ठूल्दाजु डा. तारानाथ शर्माको लेखनशैली सरल र रोचक भएकाले सबै पाठकले सहजै बुझ्ने वा बोधगम्य छ, चखिलो र मिठासयुक्त छ । कहिलेकाहीँ उहाँले लेखेको गद्य पढ्दै जाँदा पद्य पढ्दै छु जस्तो पनि आभास हुन्छ अथवा भनौँ उहाँको प्रकटीकरणको शैली धेरै ठाउँमा कवितात्मकजस्तो अनुभूत गराउने किसिमबाट प्रकट भएको देखिन्छ । अर्को मुख्य कुरा के पनि लाग्छ भने आफ्नो अभिव्यक्तिलाई उहाँले वलिष्ठ रूपमा ठेट नेपाली शब्दहरूको संरचना बनाएर प्रस्तुत गरेको पाइन्छ ।
ठूल्दाजुका नियात्राहरूमा आफ्नो देश, जाति र नेपालको सुन्दरताप्रतिको स्नेह र असीम माया पाइन्छ । ती नियात्रामा आफूले यात्रा गरेको देशको सुन्दरता, कला, संस्कृति र वैभवशाली दृश्यको वर्णन मात्र नभई आफ्नै देश, देशवासीप्रतिको आत्मीय पे्रम र देशमा विकास गर्नुपर्ने एवं जागरुकताको लहर ल्याउनुपर्ने अभिव्यक्ति पनि छताछुल्ल पारेर प्रकट गरिएका हुन्छन् । यस्तो सकारात्मक सोचाइ, सदैव पढिरहुँजस्ता प्राञ्जलता र प्रियताले भरिएका रचना नेपाली साहित्य भण्डारमा थप्ने नियात्राकार, समालोचक एवं साहित्यकार डा. तारानाथ शर्मा आफू बितेर गइसके पनि आफ्नो साहसिलो र आँटिलो अभिव्यक्ति एवं उपयोगितापूर्ण जोशिलो प्रकटीकरणका कारणले अनुकरणीय तथा अविस्मरणीय रहिरहनुहुनेछ भन्ने मलाई लागेको छ ।