• ७ मंसिर २०८१, शुक्रबार

रायमाझीका मिथिला कला

blog

तीर्थ निरौला

 केही वर्षअघिसम्म नेपालमा मिथिला कलाको अत्तोपत्तो थिएन । यो कला तराईका देहाती स्थानमा, गाउँघरका भित्ता र पर्खालमा बाँचेको थियो । तराईको संस्कार र संस्कृतिसँग जोडिएको मिथिला कला अहिले अन्तर्राष्ट्रिय जगत्मा उल्लेख्य कलाशैलीका रूपमा फैलिएको छ । नेपाली पौभा र मण्डलाको बजार अन्तर्राष्ट्रिय क्षेत्रमा फैलिए जसरी यसको बजार पनि अन्तर्राष्ट्रिय जगत्मा दिन प्रतिदिन फैलिँदो छ । 

मुगल प्रभाव हुँदै मधेश–तराईको जनजीवन, कथा, संस्कृति, लोकोक्ति, मान्यता र संस्कार अटाउँदै आएको यो कलाको विकास र अनुसन्धानले सबैको मन यसतर्फ आकृष्ट गराउँदै लगेको छ । लोभ्याउँदै लगेको छ । मिथिला कला आफैँमा एक समृद्ध र पूर्ण कला हो । नेपाली कला क्षेत्रमा यसको मूल्य र मान्यता पनि कम छैन । यसै सन्दर्भमा मिथिला कलाको विज्ञतामा केन्द्रीकृत रहेर उज्यालिएका एक स्रष्टाको यहाँ चर्चा गरौँ । 

कला क्षेत्रको विशाल सरोवरभित्र मौलिक पहिचान बनाउनुभएका विशेषतः मिथिला कलाबाट ज्यादा चिनिनुभएका एक वरिष्ठ स्रष्टाको नाम हो– कलाकार जीतबहादुर रायमाझी । उहाँको ई.सं. १९४३ अप्रिलमा सिराहामा जन्म भएको हो । कलाकार रायमाझीले चार दशकभन्दा बढी समयदेखि नेपाली कला क्षेत्रको श्रीवृद्धिमा योगदान पु-याउँदै आउनुभएको छ । केही वर्षअघिसम्म राजधानीको कला संसारमा बरोबर देखिँदै आउनुभएका र पछि हराउनुभएका उहाँ केही दिनअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा टुप्लुक्क देखिनुभयो । उहाँ दुई वर्ष अमेरिका बसेर आउनुभएको रहेछ । रायमाझीको नाम र कामको पछाडि तराईवासीको ढुकढुकी ‘मैथिली’ शब्द र पहिचान लुकेको छ भने आधुनिक कलाको मान्यता, भावना र मर्म रहेको छ । त्यसैले आज उहाँको कामको वैशिष्ट्य उपल्लो स्थानमा पुगेको छ । उहाँ र उहाँको कलामा आधुनिक कला र मैथिली कलाको सङ्गम छ भन्दा अतिशयोक्ति नहोला । मैथिली कला पृष्ठभूमिमा हुर्कनुभएका उहाँ एक कलाकार मात्र नभई, मैथिली कला अनुसन्धानका सूत्रधार पनि हुनुहुन्छ । 

वि.सं. २०३१ मा बनारसको बी.एच.यू. (हिन्दु विश्वविद्यालय)बाट चित्रकलामा प्रथम श्रेणीमा उत्तीर्ण भई नेपालमा पहिलो स्नातकोत्तर भएर स्वदेश फर्केपछि स्रष्टा रायमाझीले कहिल्यै पछि फर्केर हेर्नु परेन । एकपछि अर्को सफल कला प्रदर्शनी र मिथिला लोक कलाको अध्ययन, अनुसन्धान र शोधकार्यले उहाँलाई अघि बढाउँदै लग्यो र आजको यो घडीसम्म ल्याइपु¥यायो । रायमाझीले बनारस र नेपालमा गरी लगभग नौ पटक एकल र धेरै पटक सामूहिक कला प्रदर्शनी गरिसक्नुभएको छ । उहाँको पछिल्लो एक व्यक्ति चित्रकला प्रदर्शनी केही वर्षअघि राजधानीको नाफा ग्यालरीमा भएको थियो । त्यो एकल कला प्रदर्शनीमा राखिएका उहाँका मनोहारी चित्रले उहाँको कला, शैली, वैचारिक प्रखरता, विद्वता र अध्ययनशीलतालाई उजागर गरेको देखिन्थ्यो । चित्रमा कोरिएका अनुपम रेखाङ्कन, विषयवस्तु र रङ चयनमा प्राञ्जलता हुनुका साथै सबै चित्र नेपाली कला भण्डारको विकासका निम्ति कोसेढुङ्गा सावित भएका छन् । 

प्रदर्शनीमा वि.सं. २०५१ देखि पछिल्लो चरणसम्म उहाँले बनाएका लगभग ६० वटा चित्र राखिएका थिए । प्रायः चित्र धेरै विषय सन्दर्भलाई छोएर कोरिएका थिए । ऐतिहासिक तथा पौराणिक, विज्ञान, लोकगाथा, धार्मिक कथा, शास्त्रीय सङ्गीत, वीरगाथालगायतका कथ्य र कथा रायमाझीका चित्र बनाउने विषय हुन् । मिथिला मान्यतामा ‘फ्युजन’ गरिएको अभिव्यञ्जनावाद उहाँको चित्रशैली हो । उहाँका अधिकांश चित्रमा रङभन्दा रेखा अभिव्यक्तिको सहज मार्ग बन्ने गर्छ । 

उहाँको चित्रको शीर्षकअनुसार आठौँ शताब्दीको कथामा आधारित ‘कालीदास र विद्वतमा’को चित्र, वैदिक कथामा आधारित ‘राजा जनक’को चित्र, धनाश्री रागिनी र प्रदिपक रागिनीको कथामा आधारित चित्र, जितुवाहनको कथामा आधारित चित्र, जनक र उनका पुरोहित गौतम रहुगणको चित्र आदि उत्कृष्ट, कालजयी तथा सार्वकालिक चित्रमा पर्छन् । प्रत्येक चित्रले क्लिष्टता, भ्रान्तीपूर्ण भावना र संरचनाभन्दा पनि एउटा सरल तर यथार्थ कथा बोलेको छ । यसका अलावा मिथिलाको यन्त्रकलामा पनि कलाकारको दक्षता प्रखर रहेको छ । एउटा रङ्गीन चित्र जहाँ अष्टदल ‘अरिपन’ (पञ्चायन देवता पुजिने स्थानको चित्र) अर्थात् मिथिलाको मौलिक यन्त्र ‘गौरीयन्त्र’ बनाइएको छ, जसभित्र खड्ग, शङ्ख, सूर्य, पासलगायतका आकृति छन् । 

यो कलाको बनावटको शैली मण्डला कलासँग नजिक भएको अनुभूत हुन्छ किनकि मण्डला कलाको बीच भागमा प्रमुख देवीदेवता राखेर वरिपरि अन्य देवीदेवता र आकृतिहरू राखिने गरिन्छ । यो यन्त्रमा पनि जुन देवीको यन्त्र बनाएको हो, उनै देवीको पाऊ र त्यसको वरिपरि अन्य आवश्यकीय आकृतिहरू सजाइएको पाइन्छ । यो चित्र उहाँले मिथिलायन्त्र मण्डलाकै स्वरूपमा बनाउनुभएको छ भने विज्ञान विषयको दुई कलामा नीलो आकाशगङ्गामा एक ग्रहबाट अर्को ग्रहमा मानव पाइला टेक्न खोज्दाको अवस्था दर्शाउनुभएको छ । चित्र फेब्रिकिल रङले बनेका छन् । तूलिकाको गति सौम्य र शान्त देखिन्छ ।  

यस्तै रायमाझीले बनाएको अर्को चित्र उत्तरबाट दक्षिणतर्फ फर्केको र दक्षिणवाट उत्तरतर्फ फर्केको शिवको चित्र छ; जुन ज्यादै लोभलाग्दो छ । शिवको शक्तिलाई यस चित्रमा उहाँले राम्ररी प्रस्तुत गर्नुभएको छ । यति मात्र होइन, ‘अभिकल्प पन्छी’ ‘पुतली’जस्ता शीर्षकका दुई कलाले अपत्यारिलो किसिमले अमूर्त कलाको सुगन्ध बढाएको आभास मिल्छ भने जीवन तरङ्ग, राग वसन्त, प्रकृति र नारी, किसान परिवार, लोकदेवता राजा सलहेस, मालजालको पैकारलगायतका चित्रले ऐतिहसिक घटना, सामाजिक रहनसहनलाई दर्शाएको छ । उहाँका धेरै कलाले मिथिला लालित्य आधुनिक कलातर्फ उत्पे्ररित रहेको सङ्केत पनि गर्छ । उहाँको कलामा यस किसिमको सङ्केत पाइनु अस्वाभाविक होइन । उहाँले प्राप्त गरेको कला शिक्षा भने आधुनिक कला शिक्षा नै हो । त्यसैले उहाँका चित्रमा लोक कला, मिथिला कला र आधुनिक कलाको सपाट सुगन्ध छ भनिएको हो । प्रदर्शित उहाँका चित्रमा मिथिलाको विषयवस्तु प्रशस्तै थिए, मिथिला कलाका पदचिह्न थिए तर यथास्थितिवादमा अडेको पूर्ण देहाती पद्धतिअनुरूपको मिथिला शैली भने छिटपुट हराएको देखिन्थ्यो ।