• ६ जेठ २०८१, आइतबार

‘नेपाली रङ्गमञ्च बचाउन सयौं अशेष मल्ल जन्मिनुपर्छ’

blog

काठमाडौं, साउन १९ गते । जीवनको ५० औँ वर्ष रङ्गमञ्चमा बिताउनुभएका निर्देशक अशेष मल्ल ‘तुवाँलोले ढाकेको बस्ती’ नाटकबाट आफ्नो नाटक यात्रा सुरु गर्नुभएको हो । बाल्यकालदेखि नाटकमा रुची भएका निर्देशक मल्लको जन्म २०११ साल चैत २१ गते धनकुटामा भएको हो ।

उहाँका सडकदेखि सडकसम्म, ब्ल्याक स्काई, समकालीन नेपालीलगायतका नाटकले चर्चा पाएका छन् । “भगवानले सबैलाई कुनै न कुनै कामको जिम्मा दिएर पठाउने रहेछ, सायद मलाई रङ्गमञ्चको जिम्मा दिएर पठाउनुभएको कारण म यस क्षेत्रमा निरन्तर रुपमा लागिरहेँ,” निर्देशक मल्लले भन्नुभयो ।

भिडियो : मनोजरत्न शाही र केशब गुरूङ

निर्देशक मल्लका लागि रङ्गमञ्च जीवनको सबैभन्दा सशक्त ठाउँ हो । “मेरो लागि रङ्गमञ्च ठूलो क्यानभास हो, मलाई सगरमाथा चाहियो भने म त्यहाँ पुग्नपर्दैन, सगरमाथालाई मैले सिर्जना गर्न सक्छु”, उहाँ भन्नुहुन्छ, “नाटकमा लगनशीलता, धैर्य र निरन्तरता हुनुपर्छ । कलाका विभिन्न माध्यममा सबैभन्दा बलियो माध्यम नै नाटक हो जसमा सबै कुरा समेटिएको हुन्छ ।”

उहाँका अनुसार निर्देशक एक ‘टिम लिडर’ र लेखक पहिलो सर्जक हो । “लेखकले गरेको सिर्जनालाई प्रस्तुतिको परिकल्पना गर्ने काम निर्देशकको हो । यसरी निर्देशकको परिकल्पनालाई साकार गर्ने काम कलाकारले गर्छ । यस्ताे बेलाबीचमा ठूलो समूहको आवश्यक पर्ने गर्छ,” उहाँ भन्नुहुन्छ, “निर्देशकले कस्तो कल्पना गर्छ ? साेही अनुसार नाटक प्रस्तुत हुन्छ जसको आफ्नै शैली हुन्छ ।”

"तर यसबाहेक पनि निर्देशकले नाटकमा अपनाउने मुख्य दुई वटा शैली छन् । पहिलो यर्थाथपरक र दोस्रो अवास्तविक शैली । मेरो शैली गैरयर्थाथपरक शैली हो,” उहाँले भन्नुभयो ।

२०३८ साल चैत्र १८ गते सर्वनामको विधिवतै स्थापना भयो । ४१ वर्षको अवधिमा सर्वनाममा कयौं नाटकहरु मञ्चन भए । अभावै अभावमा जन्मेको सर्वनामले विभिन्न कथाहरु मञ्चन गरिसकेकाे छ ।

उहाँ भन्नुहुन्छ, “नेपाली रङ्गमञ्चलाई बचाउनका लागि हाम्रो पुस्ताले गरेको जस्तो त्याग र मिहिनेत अहिलेको युवा पुस्ताले गर्नुपर्छ । नेपाली रङ्गमञ्चमा बचाउनका लागि सयौं अशेष मल्ल जन्मिनुपर्छ र जन्मिरहेका छन् ।”

नेपालबाहेक अन्य देशमा पनि नाटकको अनुभव बटुल्नुभएका मल्लले कोरोनाको कारणले अहिले थलिएको कला क्षेत्र अझै पनि सही ढङ्गमा उठ्न समय लाग्ने बताउनुहुन्छ ।

रङ्गमञ्चसँगको यात्राबारे निर्देशक अशेष मल्लसँग समाचारदाता सनम मर्हजन, फाेटाे पत्रकारहरू मनोजरत्न शाही र केशब गुरूङले गर्नुभएको भिडियाे संवाद ।