• ४ असार २०८१, मङ्गलबार

श्रीएअरको जहाजमा धुवाँ निस्किएपछि आकस्मिक अवतरण, यात्रुहरुलाई इमरजेन्सी ढोकाबाट झारियो

blog

जहाजमा धुँवा निस्किएपछि आकस्मिक अवतरण गराइएको श्रीएअरको जहाज, तस्विर – सिराज खान । नेपालगञ्ज

नेपालगञ्ज, साउन १९ गते । नेपालगञ्जबाट काठमाडाैँका लागि उडेको पाँच मिनेटमै श्री एयरको जहाजभित्र धुवाँ निस्केपछि जहाजलाई पुनः नेपालगञ्ज फर्काएर आकस्मिक अवतरण गरिएको छ । 

नेपालगञ्जदेखि काठमाडौँका लागि बिहीबार बिहान सवा ९ बजे उडेको ९ एन एएनएफ नम्बरको सो जहाज भित्र एक्कासी धुवाँको मुस्लो निस्केपछि जहाजलाई तत्काल फर्काएर आकस्मिक अवतरण गरिएको श्री एयरका नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले बताउनुभयो । 

उहाँले सो जहाज नेपालगञ्ज विमानस्थलबाट उडेको करिब ८ मिनेटमै विमानस्थलमा आकस्मिक अवतरण गराइएको बताउनुभयो । जहाज अवतरण गराउनुअघि सबै प्रकारको इमरजेन्सी तयारी गरिएको थियो । विमानस्थलमा दमकल र एम्बुलेन्स तयारी अवस्थामा थिए । 

प्रमुख चौधरीका अनुसार सो जहाजमा ७९ जना यात्रु सवार थिए । उनीहरु सबै सकुशल छ्न । विमानमा चार जना चालक दलका सदस्य थिए । 

नेपालगञ्ज विमानस्थल सुरक्षा प्रमुख प्रेमसिंह भण्डारीले जहाजमा गडबडी भएर आकस्मिक अवतरण गर्ने सूचना आउनेबित्तिकै आपतकालीन सबै तयारी गरिएको बताउनुभयो । 

उहाँले यात्रुहरु आत्तिएकाले जहाज अवतरण गर्नेबित्तिकै भागाभाग भएको जनाउँदै उनीहरुलाई दुबैतर्फको इमरजेन्सी ढोका र मूल ढोकाबाट झारिएको बताउनुभयो । 

सो जहाजलाई अहिले नेपालगञ्ज विमानस्थलको पार्किङमा राखिएको छ । जहाजको एउटा इन्जिनबाट निस्किएको धुवाँ जहाजभित्र पसेको बताइएको छ । 

काठमाडौँबाट प्राविधिकसहितको टोली आएर चेकजाँच गरेपछि मात्र खराबीको कारण पत्ता लाग्ने श्री एअर नेपालगञ्जले जनाएको छ । 



Author
सिराज खान

उहाँ नेपालगञ्जबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।