• ११ असोज २०८१, शुक्रबार

प्रदेश विपद् व्यवस्थापन समितिकाे कटान क्षेत्र अनुगमनपछि बैठक बस्दै

blog

प्रदेश विपद् व्यवस्थापन समितिको बैठक कटान क्षेत्रमा, तस्विर– गोकुल पराजुली

गोकुल पराजुली

विराटनगर, साउन १८ गते । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितको टोलीले सप्तकोशी नदी पश्चिमतर्फको बाँध कटान क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ ।  

अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुखहरु, मोरङ, सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, स्थानीय तहका प्रमुखहरु सहभागी हुनुहुन्छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रजिअ इन्द्रदेव यादव र उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादव, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, सप्तकोशी नगरपालिकाका कृष्ण्प्रसाद ढकाल र कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता तथा सशस्त्र र नेपाल प्रहरीका अधिकारीहरु घटनास्थलमा उपस्थित भएर सुरक्षा र उद्धार कार्यमा सहजीकरण गरिरहनुभएको छ । 


सप्तकोशीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरुप र सप्तकोशी नगरपालिकामासमेत क्षति गर्न सक्ने भएकोले त्यहाँका सर्वसाधारणलाई उचित स्थानमा सार्न स्थानीय तहका प्रमुखहरुले आग्रह गर्नुभएको छ । 

कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुग्नुभएका मन्त्री कार्कीले प्रभावित क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको जानकारी दिनुभयो । ‘हामी सबै प्रभावित क्षेत्रमा नै उपस्थित भएका छौँ र यहीँ नै बैठक बसेर उद्दार, व्यवस्थापन र राहतको बारेमा गर्नुपर्ने आवश्यक निर्णय लिनेछौँ ।’


अनुगमनका क्रममा सप्तरीको कञ्चनरुप र सप्तकोशी नगरपालिकाका प्रमुखहरु ललनप्रसाद गुप्ता र कृष्णप्रसाद ढकालले दुई नगरपालिकाका झण्डै ३२०० परिवार प्रभावित हुने भएकोले उनीहरुलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो । 

सप्तकोशी नदी बहने पुरानै भँगालोमा लगाएका बाँध भत्काएर बस्तीतर्फ पसेको हो । २०४५ सालमा निर्माण गरिएको स्पर भत्काएर नदी बेलकातर्फ पसेको हो । निरीक्षणका क्रममा नदीले झण्डै १५० मिटर बाँध कटान गरेको पाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जानकारी दिनुभयो ।