• ८ जेठ २०८१, मङ्गलबार

मेलम्चीको थकनीका १२ घर उच्च जोखिममा

blog

अविरल वर्षाले सिन्धुपाल्चोकमा क्षति पुगेको बस्ती र सडक । तस्विर – चित्र मिजार

चित्र मिजार

सिन्धुपाल्चोक, साउन १८ गते । तीन दिनदेखि निरन्तर परेको वर्षाले मेलम्ची नगरपालिका–४ थकनी थङसिङटोलका १२ घर उच्च जोखिममा परेका छन् । चौतारा साँगचोकगढी नगरपालिका–३ भोटेफुल्पिङ टोलका पाँच घर उच्च जोखिममा परेको छ । 

घरमाथिबाट आएको पहिरोले बगाउने भएपछि घर गोठ छाडेर अन्यत्र सुरक्षित स्थानमा गएर बसेको विस्थापित कान्छाराम तामाङले पीडा सुनाउनुभएको छ । अधिकांश घरको आँगन चिराचिरा परेका छन् ।

मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले उक्त बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिनुभयो । जोखिममा परेका सबैलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उहाँले बताउनुभयो । 


यस्तै, मेलम्चीबाट केउरानी जाने सडकको दाउचेत खण्डमा पहिरो आएर सडक अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका–१० को सहरेखोला नजिकको पहिरोले सडक अवरुद्ध हुँदै आएको छ ।

मेलम्चीको फट्टेस्थित सडकखण्डमा माथिबाट पहिरो आउँदा सडक पुरेको छ । अवरुद्ध सबै सडकलाई सुचारु गर्न पहिरो पन्छाउने काम भइरहेको प्रमुख तामाङले जानकारी दिनुभयो । उक्त नगरले केही दिन अघि वडा नम्बर १, ३ र ४ का पहिरो पीडितलाई त्रिपाल वितरण गरेको थियो ।